अध्यक्षका उम्मेदवारलाई नै मतदान गर्न ४० मिनेट लाग्यो
नेकपा एमालेका अध्यक्षका उम्मेदवार केपी शर्मा ओली र ईश्वर पोखरेललाई मतदान गर्न ४० मिनेट लागेको छ । महासचिवका उम्मेदवार पोखरेल र सुरेन्द्र पाण्डेले पनि त्यत्ति नै समय लगाएको प्राविधिकहरुले जानकारी दिए ।
एमालेको एघारौं महाधिवेशन अन्तर्गत नयाँ नेतृत्व चयनका लागि आज बिहानबाट भृकुटीमण्डपमा मतदान सुरु भएको छ । मतदानको सुरुवात शीर्ष नेताहरुले गरेका थिए । ओली र पोखरेल लगायतका नेताहरु सँगै मतदान गर्न गएका थिए ।
एमालेको नयाँ नेतृत्व चयनका लागि ई–भोटिङ मेसिन प्रयोग गरिएको छ । मतदानका लागि ८० वटा मेसिन प्रयोग गरिएको निर्वाचन आयोगले जनाएको छ ।
शीर्ष नेताहरुले मतदान सुरु गरेपछि अन्य प्रतिनिधिहरुले भोट खसालिरहेका छन् । उनीहरु भोट खसाल्न लामबद्ध भएर पालो कुरिरहेका छन् । त्यही लाइनमा पुगेर उम्मेदवारहरुले भोट मागिरहेका छन् । नयाँ नेतृत्वका लागि ओली र पोखरेल प्यानलसहित प्रतिस्पर्धामा उत्रिएका छन् ।


