महाधिवेशन प्रतिनिधि छनाेटका लागि यस्ता छन् एमालेकाे मापदण्ड



हाम्रो इकोनोमि

 

 

कपा (एमाले) केन्द्रीय संगठन विभागले पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि चयन प्रक्रियालाई सुव्यवस्थित बनाउन विस्तृत निर्देशन जारी गरेको छ । मंसिर २७–२९ गते हुने महाधिवेशनका तयारीसँगै विभागले प्रतिनिधि चयनका सबै चरणमा कडाइका साथ विधि पालन गर्न सम्बन्धित संरचनाहरूलाई निर्देशन दिएको हो ।

विभागको बैठकले पारित गरेको निर्णयअनुसार प्रतिनिधि छनोट कार्य मंसिर १३ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्नुपर्ने छ । यसका लागि केन्द्रीय कमिटीको अपानि–१३ को निर्देशनलाई आधार मानेर निर्धारित सङ्ख्यामा प्रतिनिधि चयन गर्न प्रदेश, जिल्ला, पालिका र सबै तहका पार्टी कमिटीहरूलाई भनिएको छ।

सदस्यता आधारमा प्रतिनिधि निर्धारण

प्रतिनिधि छनोट गर्दा २०८२ चैतसम्म नवीकरण प्रमाणित सदस्यताको सङ्ख्या मुख्य आधार हुनेछ। त्यस्तै भूगोल, दलित र मजदुर क्षेत्रका लागि तोकिएका निर्वाचन क्षेत्रमा भाग लिन पाउने सदस्यहरूको सूची मंसिर ७ गतेभित्र यकिन गर्नुपर्ने छ ।

भूगोलअन्तर्गतका निर्वाचन क्षेत्रमा केन्द्रीय जनसंगठन, केन्द्रीय विभाग र प्रदेश कमिटीका सदस्यहरूले मंसिर ६ गतेभित्र आफू कुन क्षेत्रमा सहभागी हुने हो भन्ने जानकारी जिल्लालाई लिखित रूपमा दिनुपर्नेछ ।

युवा प्रतिनिधिका लागि नयाँ मापदण्ड

यसपटक विशेष आरक्षण गरिएको ४० वर्षमुनिका युवा प्रतिनिधिका लागि मापदण्ड तोकिएको छ। युवा प्रतिनिधि बन्न २०८२ मंसिर १३ गतेसम्म ४० वर्ष ननाघेको हुनुपर्ने छ । पार्टी सदस्यता कम्तीमा ७ वर्ष पुगिसकेको हुनुपर्ने मापदण्ड बनाइएको छ । पार्टी विधानको धारा ६३(१) मा उल्लेखित न्यूनतम योग्यताहरू अनिवार्य रूपमा लागू हुने निर्णयमा स्पष्ट गरिएको छ।

सूचना नपुग्दा नेतृत्व जिम्मेवार

प्रतिनिधि छनोटसम्बन्धी सूचना मंसिर १० गतेभित्र सबै सदस्यसम्म पुगिसकेको हुनुपर्ने छ। कुनै सदस्यले समयमा सूचना नपाएको दाबी गरेमा सम्बन्धित कमिटीको नेतृत्व नै जबाफदेही हुने विभागको निर्णयमा उल्लेख छ।

फोटोसहितको विवरण अनिवार्य

छनोट भएका प्रतिनिधिहरूको नाम, सदस्यता नम्बर, फोन, फोटोसहितको विवरण मंसिर १५ गतेभित्र सम्बन्धित कमिटी प्रमुखले आधिकारिक रूपमा पठाउनु पर्नेछ। सबै विवरण अनलाइन प्रणालीबाट व्यवस्थित रूपमा केन्द्रीय संगठन विभागमा अनिवार्य रूपमा पठाउनुपर्ने निर्णय गरिएको छ।

सहमतिमा छनोट, नभए स्वस्थ प्रतिस्पर्धा

प्रतिनिधि छनोट यथासम्भव सहमतिका आधारमा गर्न निर्देशन दिइएको छ। सहमति सम्भव नभएमा स्वस्थ प्रतिस्पर्धा गराएर प्रतिनिधि चयन गर्न संगठन विभागले भनिएको छ।

विभाग सदस्यहरूको जिम्मेवारी स्पष्ट

निर्णयले विभागका सदस्यहरूलाई आफ्ना-आफ्ना जिम्मेवारीका क्षेत्रमा समन्वय, सहजीकरण, अस्पष्टता हटाउने, समस्या समाधान गर्ने र समयमै विवरण पठाउन ताकेता गर्ने जिम्मेवारी दिएको छ।

त्यसअन्तर्गत  संगठन विभागका नेताहरूलाई प्रदेश र जिल्ला अनुसार विशिष्ट जिम्मेवारी तोकिएको छ। उहाँहरूले निर्वाचन क्षेत्रअनुसार प्रतिनिधि छनोटको सम्पूर्ण प्रक्रियामा नजिकबाट नेतृत्व र अनुगमन गर्ने हुने छ ।

 

 

यस्ता छन् संगठन विभागका निर्णयहरू :

क.२०८२ मंसिर २७ –२९ मा आयोजना हुन गइरहेको पार्टीको एघारौँ राष्ट्रिय महाधिवेशनका प्रतिनिधि चयन कार्य सुव्यवस्थित बनाउनका लागि निम्न विषयहरूमा ध्यान दिनुपर्दछ :

१. केन्द्रीय कमिटीको अपानि–१३ ले गरेको निर्देशनबमोजिम आगामी महाधिवेशनका लागि तोकिए बमोजिमका प्रतिनिधिहरूको मङ्सिर १३ गते विधिसम्मत ढङ्गले छनोट गर्ने ।

२. प्रतिनिधि छनोट केन्द्रीय संगठन विभागबाट २०८२ चैतसम्मका लागि पार्टी सदस्यता नवीकरण प्रमाणित भएका पार्टी सदस्य सङ्ख्याका आधारमा गर्नुपर्ने ।

३. अपानि–१३ ले तोकेका भूगोल/दलित/मजदुर निर्वाचन क्षेत्रबाट प्रतिनिधि छनोटको प्रक्रियामा सहभागी हुनसक्ने पार्टी सदस्यहरूको सङ्ख्या मङ्सिर ७ गतेभित्र यकिन गरिसक्ने । भूगोलको निर्वाचन क्षेत्रमा पार्टी सदस्य रहेका केन्द्रीय जनसंगठन, केन्द्रीय विभाग र प्रदेश कमिटीका सदस्यहरूले आफू कुन क्षेत्रमा सहभागी हुने हो, मङ्सिर ६ गतेभित्र सम्बन्धित जिल्लालाई लिखित जानकारी गराउनुपर्नेछ । त्यसको बोधार्थ संगठन विभागलाई दिनुपर्ने ।

४. प्रतिनिधि छनोटको व्यवस्थापकीय कामको गृहकार्य अपानिले निर्देश गरेका कमिटीका ईञ्चार्ज र पदाधिकारीहरूले बेलैमा गर्नुपर्नेछ । कुनै पनि हालतमा प्रतिनिधि छनोटको काम मङ्सिर १३ गते सम्पन्न भएकै हुनुपर्नेछ । यथासम्भव सहमतिका आधारमा चयन गर्ने, सहमति नभएमा स्वस्थ प्रतिस्पर्धाबाट प्रतिनिधि छनोट गर्ने ।

५.प्रतिनिधि हुन चाहिने न्यूनतम आवश्यक योग्यताका सम्बन्धमा पार्टी विधानको धारा ६३(१) मा उल्लेख भएबमोजिम गर्ने । यसपटक विशेष आरक्षण गरिएको चालीस वर्ष मुनिका युवा प्रतिनिधि हुनका लागि सदस्यता प्राप्त गरेको कमसेकम ७ वर्ष पुगेको हुनुपर्ने । उमेरका सन्दर्भमा २०८२ मङ्सिर १३ गतेको मितिसम्ममा ४० वर्ष नकटेको हुनुपर्नेछ ।

६.प्रतिनिधि छनोटसम्बन्धी सूचना मङ्सिर १० गतेभित्र भरपर्दो माध्यमबाट सबै सम्बन्धित पार्टी सदस्यहरूलाई पुगिसकेको हुनुपर्ने । कुनै सदस्यले समयमा जानकारी नपाएमा सम्बन्धित कमिटीको नेतृत्व जबाफदेही हुनुपर्नेछ ।

७. चयन भएका प्रतिनिधिहरूको फोटोसहितको विवरण सम्बन्धित कमिटी प्रमुखले मङ्सिर १५ गतेभित्र आधिकारिक रूपमा पठाउनुपर्ने ।

८.प्रतिनिधिको समग्र विवरण– (नाम/निर्वाचन क्षेत्र/सदस्यता नम्बर/फोन/फोटो) पठाउनुपर्ने ।

९. तोकिएको विवरणसहित अनिवार्य रूपमा अनलाइनमा व्यवस्थित गरी केन्द्रीय संगठन विभागमा पठाउने ।

 

ख.विभागका सदस्यहरूको जिम्मेवारी 

१.तोकिएको कार्यक्षेत्रभित्र प्रतिनिधि छनोटको समग्र प्रक्रियामा समन्वय र सहजीकरण गर्ने ।

२.अपानि–१३ र संगठन विभागका निर्णयहरूको कार्यान्वयनमा ताकेता गर्ने । स्वच्छ तथा कमरेडली वातावरणमा विधिसम्मत ढङ्गले छनोट कार्य सम्पन्न गराउन नजिकबाट सहयोग गर्ने ।

३. प्रतिनिधि छनोटका विषयमा आउन सक्ने अस्पष्टताहरूलाई स्पष्ट पार्ने ।

४.छनोट प्रक्रियामा कुनै समस्या आएमा समाधानका लागि अग्रसरता लिने ।

५.तोकिएको समयभित्र विवरणसहितको प्रतिनिधिहरूको नाम केन्द्रीय संगठन विभागमा पठाउन सम्बन्धित जिम्मेवार कमरेडहरूलाई ताकेता गर्ने ।

 

ग.संगठन विभागका सदस्यहरूका लागि तोकिएको जिम्मेवारीको क्षेत्र 

१. भानुभक्त ढकाल– जनसंगठन र सम्पर्क समन्वय कमिटीअन्तर्गतका निर्वाचन क्षेत्रहरू

२. शेरधन राई– भोजपुर, तेह्रथुम, धनकुटा, पाँचथर, इलाम, ताप्लेजुङ¨, सङ्खुवासभा, सुनसरी, मोरङ र झापा

३. विशाल भट्टराई– खोटाङ, उदयपुर, सोलुखुम्बु र ओखलढुङ्गा

४. सुमनराज प्याकुरेल– सिराहा, सप्तरी, महोत्तरी, धनुषा र सर्लाही

५. ज्वाला साहा– रौतहट, बारा र पर्सा

६. आनन्द पोख्रेल– काठमाडौं, भक्तपुर, ललितपुर, धादिङ, नुवाकोट, रसुवा, चितवन

७. गणेश पहाडी– सिन्धुली, रामेछाप, दोलखा, सिन्धुपाल्चोक, काभ्रेपलाञ्चोक र मकवानपुर

८. सुजिता शाक्य– उपत्यका विशेष प्रदेशअन्तर्गतका जिल्लाहरू

९. सम्झना देवकोटा– गोरखा, लमजुङ, तनहुँ, मनाङ र नवलपुर

१०. गोविन्द नेपाली– बागलुङ, मुस्ताङ, पर्वत, कास्की, स्याङ्जा र म्याग्दी

११. लीला गिरी– रुपन्देही, कपिलवस्तु, पाल्पा, अर्घाखाँची, नवलपरासी (पश्चिम), गुल्मी

१२. जीवन गौतम– दाङ, बाँके, बर्दिया, प्युठान, रुकुम र रोल्पा

१३. लक्ष्मी पोख्रेल– कर्णाली प्रदेशका सबै जिल्ला

१४. लालबहादुर थापा– दार्चुला, बैतडी, डडेल्धुरा, डोटी, बझाङ, बाजुरा, अछाम

१५. लीला भण्डारी– कैलाली र कञ्चनपुर

१६. माधव ढुङ्गेल– केन्द्रीय सल्लाहकार परिषद् र केन्द्रीय विभागहरू ।

१७. काशीनाथ अधिकारी– अन्तर्राष्ट्रिय कमिटी र भारत प्रवास

प्रतिक्रिया दिनुहोस
एमाले अध्यक्ष ओली र काँग्रेस सभापति देउवाबीच भेटवार्ता

    नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओली र नेपाली काँग्रेसका सभापति...

प्रधानमन्त्री निवास बालुवाटारमा सर्वपक्षीय बैठक

    बालुवाटारमा सर्वपक्षीय बैठक जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा केहीबेर अघिबाट...

मधेशमा विवादित नियुक्ति: आदेश उल्लङ्घन र पद दुरुपयोग आरोप

मधेश प्रदेशमा सरकार सञ्चालनका क्रममा देखिएको एक बहुचर्चित निर्णय अहिले राजनीतिक, कानुनी तथा...

चुनावको तयारीबारे ब्रिफिङ गर्दै निर्वाचन आयोग

    चुनावको तयारीबारे निर्वाचन आयोगले सरकार र राजनीतिक दलहरूलाई एकसाथ ब्रिफिङ गर्दैछ...