आन्दोलनमा भाषण गर्दागर्दै जिफन्ट उपाध्यक्षको निधन
नेपाल विद्युत प्राधिकरणले गरेको विद्युत कटौतीको विरोधमा आयोजित कार्यक्रममा बोल्दा बोल्दै ढलेका नेपाल ट्रेड युनियन महासङ्घ (जिफन्ट) नेपालका उपाध्यक्ष कमल गौतमको निधन भएको छ ।
भैरहवाको विद्युत कार्यालय अगाडि सम्बोधनको क्रममा अचानक ढलेका गौतमलाई उपचारको लागि मणिग्रामको क्रिमसन अस्पताल पुर्याइएको थियो । त्यहाँ उनलाई डाक्टर मृत घोषणा गरेको रुपन्देही उद्योग संघका पूर्वअध्यक्ष बाबुराम बोहराले जानकारी दिए ।
गौतम बुधबार सिद्धार्थ उद्योग वाणिज्य सङ्घमा भएको बैठकको संस्थागत रूपमै आन्दोलनमा सहभागी हुने जनाएका थिए । धर्ना कार्यक्रममा बोल्दै उनी केही आक्रोशित मुद्रामा प्रस्तुत भएका थिए । उनले सरकारले उद्योगहरूलाई फसाएको आरोप लगाउँदै श्रमिकहरूलाई एकजुट भएर आन्दोलन गर्न आग्रह गरेका थिए ।
अहिले अस्पतालमा उद्योगी व्यवसायी सम्बद्ध संस्थाका प्रतिनिधि रहेका छन् । उनलाई गाडीमा राखेर अस्पताल पुराएका उद्योगी बोहोराले १२ मिनेटमा अस्पताल पुराएपनि बचाउन नसकेको जनाए । ६२ वर्षीय गौतमका दुई छोरा र श्रीमती छन् । बुटवलको लक्ष्मीनगरमा स्थायी बसोबास भएका उनी दुई दिन अघि काठमाडौंबाट आएर यो आन्दोलनको अगुवाइ गरेका थिए ।


