गैरआवासीय नेपाली संघ (एनआरएनए) अष्ट्रेलियाको अध्यक्षमा सन्तोष कुँवर सहित प्यानलै विजयी भएका छन् । संघको शनिबार (जुलाई २६ मा) सम्पन्न निर्वाचनमा कुँवरले सन्जीव ढकाल गोर्खाली र भैरव ढकाललाई भारी मतान्तरले पराजित गरेका छन् । उनले नर्दन टेरोटेरीबाट सन्जीव गोर्खाली ढकाल (२१२६) र पर्थ (पश्चिम अस्ट्रेलिया) (३७२७) बाट भैरव ढकाललाई हराएका हुन् ।
१६ हजार १ सय २१ मतदाता रहेको अस्ट्रेलियाबाट कुँवरले १३७०१ खसेको मतबाट ६८३९ मत पाए । झन्डै एक दशकदेखि एनआरएनएमा विभिन्न जिम्मेवारी सम्हाल्दै आएका कुँवर यसअघि संघको महासचिव रहेका थिए। प्यानल सहित चुनावी मैदानमा होमिएका कुँवरले संस्थालाई लगानीमैत्री, पारदर्शी र सहभागीमुखी बनाउने आफ्नो लक्ष्य रहेको बताए । यो जीत समग्र संघका सदस्यहरूको जीत रहेको भन्दै आफूले यो विश्वासलाई सधैं न्याय दिलाउने उद्घोष गरे ।
यससँगै कुँवरले अष्ट्रेलियास्थित संघीय तथा राज्य सरकारहरूबाट अनुदान भित्र्याउने र २ मिलियन डलरको स्रोत सुनिश्चित गर्ने महत्वाकांक्षी योजना अगाडि बढाउने छन् । यसअघि कुँवर एनआरएनए अस्ट्रेलियाको राज्य संयोजक (२०१७–२०१९), आईसीसी सदस्य (२०१९–२०२१), र ओसेनिया क्षेत्रीय उपसंयोजक (२०२१–२०२३) को जिम्मेवारीमा बसिसकेका छन्। कुँवरले यसअघि नेपाल महोत्सव, खेलकुद कार्यक्रमहरू जस्ता सफल आयोजनाहरूलाई नमूना कार्यक्रमको रूपमा विस्तार गर्ने योजना पनि अगाडि सारेका छन् ।
एनआरएनए अष्ट्रेलिया अन्तर्गत निर्माण हुने नेपाली बहुसांस्कृतिक केन्द्रलाई दातृ निकायहरूसँग साझेदारीमार्फत सम्पन्न गरिने उनको योजना छ । निर्वाचनबाट उपाध्यक्षमा (एनआरएन अस्ट्रेलियाका अहिलेका प्रवक्तासमेत रहेका बबिन मिश्र विजयी भएका छन् । उनले ७२६१ मत पाउँदा अर्का उम्मेदवार रमेश पौडेलले ४६१९ मत पाए। यस्तै महासचिवमा क्यानबेराबाट चुणमणि सापकोटा निर्वाचित भए ।
उनले ७०३० मत पाउँदा अर्का उम्मेदवार सिड्नीका भरतमणि देवकोटाले ३२५३ र वर्तमान कोषाध्यक्ष अर्जुन गौतमले १८१४ मत पाए। कोषाध्यक्ष पदमा निजन चौलागाई निर्वाचित भए । उनले ७०८७ मत पाउँदा लुना सिवाकोटीले ४७५६ मत पाए। यस्तै सचिव पदमा कल्याण खड्काले ७१८० मतसहित विजयी भए ।
एनआरएन अस्ट्रेलिया नारी निकुञ्ज संयोजकमा रिज्नो अधिकारी विजयी भएकी छन् राष्ट्रिय युवा संयोजकमा पुकार घिमिरे निर्वाचित भएका छन् । यससँगै अध्यक्ष कुँवरको प्यानलबाट निर्वाचनमा होमिएकामध्ये अधिकांशले विजयी हासिल गरेका छन् ।