गाजामा युद्धबिराम, विपिन पनि सकुशल रिहा हुने



 

 

अक्टोबर ७, २०२३ अर्थात् २०८० असोज २० गते इजरायलले एक अकल्पनीय घटनाको सामना गर्नु परेको थियो । गाजा क्षेत्रबाट एकाएक प्रवेश गरेका हमासका केही हजार लडाकूले बलियो इजरायली सुरक्षा तैनाथीलाई छक्याएर इजरायलको दक्षिणका किब्बुज र आसपासमा भिषण हमला गरेका थिए । यस हमलाबाट किब्बुज आलुमिम फार्ममा कार्यरत १० जना नेपाली विद्यार्थी सहित करिब एक हजार २०० व्यक्तिको ज्यान गएको थियो । इजरायल र हमासबीच सन् २००८ यता यो पाँचौं भिषण युद्ध हो ।

इजरायलले गाजाबासीमाथि शक्तिको चरम दुरुपयोग गरेको भन्दै संयुक्तराज्य अमेरिका समेत अन्तर्राष्ट्रिय समुदायले इजरायलमाथि दबाब सिर्जना गरे पनि इजरायली प्रधानमन्त्री टसमस भएनन् । तर अमेरिकामा राष्ट्रपति पदमा डोनाल्ड ट्रम्प निर्वाचित भएपछि मात्र इजरायलले आफ्नो नीतिमा परिवर्तन गरी युद्धबिराममा सहमति जनाउन केही नरम भएको थियो । पछिल्लो युद्धबिराम गराउन पनि बाइडेन प्रशासनका अलावा ट्रम्पका वार्ताकारहरु कतारमा भेला भएका थिए ।

तीन चरणमा कार्यान्वयनमा ल्याइने यो युद्धबिराम प्रस्तावलाई इजरायली मन्त्रिपरिषदले स्वीकृत गरेको छ । युद्धबिराम सम्झौता आज आइतबार बिहान ८:३० (इजरायली समय अनुसार) बजेदेखि सुरु हुँदैछ । युद्धबिराममा प्रमुख मध्यस्थकर्ताको भूमिका निर्वाह गरेको कतारले एक विज्ञप्ति जारी गर्दै गाजापट्टिमा २०२५ जनवरी १९ को बिहान ८:३० बजे (नेपाली समय अनुसार दिउँसो १२:१५ बजे) देखि युद्धबिराम सम्झौता लागू हुने भएकाले युद्धरत सबै पक्षलाई संयमता अपनाउन आग्रह गरेको छ । युद्धबिरामको गाजाबासी र बन्धक बनाइएका परिवारले स्वागत गरिसकेका छन् ।

हाल सार्वजनिक भएको प्रस्ताव अनुसार, हमासले छ हप्ताभित्र आफ्नो नियन्त्रणमा रहेका ३३ जना बन्धकलाई मुक्त गर्नेछ जसमा महिला, बालबालिका र वृद्धवृद्धा रहनेछन् भने यसको बदलामा इजरायलले पनि इजरायली जेलमा रहेका प्यालेस्टिनी कैदीबन्दी रिहा गर्दैछ । बिबिसीका अनुसार, इजरायलले गाजाक्षेत्रको मुख्य भूभागबाट आफ्ना सेनालाई फिर्ता ल्याउन सुरु गर्नेछ । बिस्थापित गाजाबासीलाई आफ्ना घर फर्कन दिइने छ । गाजाका लागि अत्यावश्यकीय सामान बोकेका ट्रकलाई सुरक्षा जाँचपछि प्रवेश गर्न दिइनेछ । इजिप्ट–गाजा सीमामा खाद्यान्न र अन्य अत्यावश्यक सामग्री बोकेका सयौं ट्रक गाजा प्रवेशको पर्खाइमा लामबद्ध छन् । राष्ट्रसंघीय विश्व खाद्य कार्यक्रम (डब्ल्युएफपी) ले गाजामा खाद्यान्न बोकेका ट्रकलाई निर्वाध र सहज प्रवेश दिन द्वन्द्वरत पक्षहरुसमक्ष आह्वान गरेको छ । “गाजाका २३ लाख बासिन्दा खाद्यान्नको चरम अभावमा बाँचिरहेका छन् । उनीहरुलाई जतिसक्दो चाँडो खाद्यान्न दिएर बचाउनु जरुरी छ ।”

युद्धबिरामको दोस्रो चरणमा बाँकी बन्धकलाई मुक्त गरिने छ भने गाजाबाट सबै इजरायली सैनिक फिर्ता हुनेछन् । तेस्रो चरणमा भने हमासले बन्धक बनाएका तर मृत्यु नभइसकेका बन्धकलाई इजरायल फिर्ता गरिने छ भने गाजाको पुनर्निर्माण अभियान सुरु हुनेछ । एक अनुमान अनुसार, हमास समूहलाई समेत सबै बन्धकको स्थितिका बारेमा जानकारी छैन । नेपाली विद्यार्थी विपिन जोशी हमासको अपहरणमा परेका भए पनि अझै उनका बारेमा हमासले केही खुलाएको छैन । यद्यपी, युद्धबिरामको शर्तमै बन्धक बनाइएकाहरु सबैलाई मुक्त गर्ने भनिएकाले यसपटक विपिन सकुशल रिहा हुने अनुमान गर्न सकिन्छ ।

पछिल्लो युद्धबिरामलाई दिगो बनाउन र गाजामा मानवीय सहायताका साथै पुनर्निर्माणका लागि के गर्ने भन्ने प्रष्ट भइसकेको छैन । गाजाको प्रशासन अब कसले सञ्चालन गर्नेछ रु हमास वा अरु कुनै निकायले रु यो प्रश्न अनुत्तरित छ, र यसमा इजरायल वा अमेरिकी प्रशासनले केही बताएका छैनन् । अतिशय दुःख व्यहोर्न बाध्य गाजाका पीडित बासिन्दा पटकपटकका यस्ता युद्ध सधैँका लागि अन्त्य भएको हेर्न चाहन्छन्, तर यसको दिगो समाधान दुई–राज्य नै हो भन्नेमा बिमति छैन ।

प्रतिक्रिया दिनुहोस
एमालेको पूर्वमन्त्री र उनका छोरा कारबाहीमा

    नेकपा एमालेबाट निष्कासित भएका भीम रावलको स्वागतमा खटिएका प्रदेशका पूर्वमन्त्रीसहित २

अमेरिकामा टिकटक बन्द

    संयुक्त राज्य अमेरिकामा चिनियाँ सर्ट भिडिओ एप टिकटक बन्द भएको छ

समाजवादी प्रेस संगठन विघटन, अध्यक्ष प्रेस चौतारीमा प्रवेश

    नेकपा (एकीकृत समाजवादी) निकट पत्रकार संगठन समाजवादी प्रेस संगठन विघटन भएको

सरकारले दल फुटाउने अध्यादेश ल्याउन खोजेको विपक्षी दलको आशंका

    विपक्षी दलहरुले संघीय संसदको नियमित हिउँदे अधिवेशन बोलाएर कानून निर्माण नगरी,