बाढीपहिरो र डुबानबाट देशभर ११२ को मृत्यु, ६८ बेपत्ता



 

 

अविरल वर्षासँगै निम्तिएको विपद्का कारण काठमाडौं उपत्यकाका साथै विभिन्न जिल्लामा ठूलो मात्रामा जनधन क्षति भएको छ । बाढीपहिरो र डुबानबाट शनिबार रातिसम्म १ सय १२ जनाको ज्यान गएको छ भने ६८ जना बेपत्ता छन् । देशभर कम्तीमा १ सय जना घाइते भएका छन् । सडक, पुल, विद्युत्लगायतका संरचनामा समेत क्षति पुग्दा मुलुकका अधिकांश क्षेत्रमा जनजीवन प्रभावित भएको छ ।  सरकारले वर्षासम्बन्धी अभिलेख राख्न थालेको ५४ वर्षयताकै सबैभन्दा बढी वर्षा उपत्यकामा शनिबार भएको जल तथा मौसम विज्ञान विभागले जनाएको छ । यहाँ २४ घण्टामा ३ सय २३ मिलिमिटर वर्षा मापन गरिएको छ । काठमाडौं उपत्यकामा मात्रै बाढीपहिरो र डुबानमा परी ३७ जनाको मृत्यु भएको छ, २० जना बेपत्ता छन् । नेपाल प्रहरी र सशस्त्र प्रहरी बल प्रधान कार्यालयबाट शनिबार राति ११ बजेसम्म प्राप्त विवरणअनुसार विपद्बाट काभ्रेमा ३४, ललितपुरमा २०, धादिङमा १५, काठमाडौंमा १२, मकवानपुरमा ७, पाँचथर र भक्तपुरमा ५/५, सिन्धुपाल्चोकमा ४ र दोलखामा ३ जनाको मृत्यु भएको छ । यस्तै धनकुटा र सोलुखुम्बुमा २/२ जना, रामेछाप, महोत्तरी र सुनसरीमा १/१ जनाको ज्यान गएको छ । पाँचथर, झापा, महोत्तरी, सिन्धुली, दोलखा, सिन्धुपाल्चोक, काभ्रे, काठमाडौं, ललितपुर, धादिङ र रूपन्देहीमा गरी ६८ जना बेपत्ता छन् । गृह मन्त्रालयको अभिलेखमा भने बाढीपहिरो र डुबानबाट ज्यान गुमाउनेको संख्या ९९ मात्र छ । ‘फिल्डबाट तथ्यांक आउने क्रम जारी रहेकाले विवरण अद्यावधिक भइरहेको छ,’ गृह मन्त्रालयका प्रवक्ता ऋषिराम तिवारीले भने । उनका अनुसार विपद्मा फसेका २ हजार २३ जनालाई सकुशल उद्धार गरी सुरक्षित स्थानमा लगिएको छ । धादिङमा माइक्रोबसमा पुरिएर ज्यान गुमाएका १४ जना र मकवानपुरको सिस्नेरीमा पुरिएर मृत्यु भएका ६ जनाको शव पोस्टमार्टमका लागि शनिबार राति त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा ल्याइएको छ । बुटवलबाट शुक्रबार काठमाडौं आउँदै गरेको माइक्रोबस धादिङ र काठमाडौंको सीमा क्षेत्र झ्याप्लेखोलामा पहिरोमा पुरिएको थियो । नदी, खोला, खोल्सा र खहरेमा आएको बाढीले तटीय क्षेत्र तथा नजिकैका बस्तीमा जनधन क्षति गरेको गृह मन्त्रालयले जनाएको छ । मुलुकभर कम्तीमा १ सय ९५ घरमा क्षति पुगेको नेपाल प्रहरीको प्रारम्भिक तथ्यांक छ । मनसुनजन्य प्रकोपबाट बिहीबारयता ६४ स्थानमा सडकखण्ड अवरुद्ध बनेका छन् । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयका अनुसार सिन्धुपाल्चोकको तातोपानीमा भोटेकोशी र पाँचथरको हेवाखोलाको बेलिब्रिज बगेका छन् । उदयपुर र खोटाङ जोड्ने खोक्सिङटार तथा रामेछाप र सिन्धुली जोड्ने खुर्कोट नजिकै मोटरेबल पुल पनि बगेका छन् । पहिरोका कारण संघीय राजधानी जोड्ने मुख्य राजमार्ग सबैमा यातायात सेवा अवरुद्ध छ ।बाढीपहिरोबाट आधा दर्जन जलविद्युत् आयोजनामा क्षति पुगेको छ । केही प्रसारणलाइनमा समेत क्षति पुग्दा १३ सय मेगावाटभन्दा बढी विद्युत् उत्पादन क्षमताका आयोजना बन्द भएका छन् ।काठमाडौं उपत्यकामा बाढीले सयौं घर डुबानमा परेका छन् । वाग्मती, विष्णुमती, रुद्रमती, बल्खु, मनोहरा, नख्खुलगायत नदी तथा खोला बस्तीमा पसेका थिए । काठमाडौंको फर्पिङमा एउटा पक्की घर भत्किएर ५ जना र स्वयम्भू नजिकै इचंगुनारायणमा पनि घरभित्रै पुरिएर ३ जनाको ज्यान गएको छ । नक्खु खोलाले तटीय क्षेत्रमा टहरा बगाउँदा २ जना बेपत्ता छन् । टहराबाट बगेका अरू ३ जनाको भने उद्धार गरिएको छ । नख्खु खोलामा बाढी आएपछि शनिबार बिहानै छानामा निस्केर उनीहरूले उद्धारका लागि हारगुहार गरेका थिए तर बेलैमा उद्धार हुन सकेन । काभ्रेका चणिकलाल तामाङले ज्यानको परवाह नगरी उर्लिएको भेलमा पसेर ६ वर्षीया मेघना साह र २२ वर्षीय राज साहको उद्धार गरेका थिए । मेघनाका बुवा राजु साहले भने पौडिएर ज्यान जोगाएका छन् । उद्धार हुन नसक्दा बालिका सेतु साह र उनकै आफन्त नन्दु साह भेलमै हराएका छन् । ‘उनीहरूको अवस्था अज्ञात छ,’ जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी शेखर खनालले भने । नख्खु खोलाले घेरेपछि टहरामा फसेकालाई उद्धार गर्न रबर बोटसहित गएका सशस्त्रका ११ जनालाई पनि भेलले बगाएको थियो । उनीहरू पौडिएर बाँचेका थिए ।

प्रतिक्रिया दिनुहोस
ग्वार्कोको ओभरपास भोलिदेखि संचालनमा आउने

    ललितपुरको ग्वार्को स्थित ओभरपासमा भोलिदेखि सवारी गुड्न पाउने भएका छन् ।

स्वतन्त्र समूहलाई एकैठाउँमा ल्याउने रास्वपाको पहल

    राष्ट्रिय स्वतन्त्र पार्टीले वैकल्पिक राजनीति पक्षधर तथा स्वतन्त्र समूहहरूसँग सहकार्यको प्रयास

दैलेखमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रिपोर्ट

    दैलेखको जलजलेमा ११२ अर्ब घनमिटर प्राकृतिक ग्याँस रहेको प्रारम्भिक रुपमा पत्ता

बाढी, पहिरोले बुटवल-नारायणगढ सडक अवरुद्ध

    बाढी र पहिरोले पूर्व-पश्चिम राजमार्गको बुटवल-नारायणगढ सडक खण्ड अवरुद्ध भएपछि वैकल्पिक