१६ लाख पर्यटक भित्र्याउने लक्क्ष, जोडीलाई बिहे र सन्तानलाभको अफर



 

 

अर्थमन्त्री वर्षमान पुनले प्रतिनिधिसभा र राष्ट्रियसभाको संयुक्त बैठकमा आर्थिक वर्ष २०८१/०८२ को बजेट प्रस्तुत गरेका छन् । अर्थमन्त्री पुनले पर्यटन क्षेत्रमा ११ अर्ब ९१ करोड बजेट विनियोजन गरेका छन् ।

सरकारले बजेटमा ल्याएको पर्यटन क्षेत्रका १५ प्रमुख कार्यक्रम यस्ता छन्-

१. १६ लाख विदेशी पर्यटक भित्र्याउने

बजेटले आगामी आर्थिक वर्षमा नेपालमा १६ लाख पर्यटन ल्याउने बताएको छ । जसमा छिमेकी देशहरुबाट कति र तेस्रो देशहरुबाट कति भनेर किटान भने गरिएको छैन । यसको लागि भएको गन्तव्यको प्रवर्द्धन र नयाँ गन्तव्यको पहिचान गर्ने बजेटमा उल्लेख गरिएको छ ।

२. पर्यटनमा एकद्वार प्रणाली

नेपालमा आउने पर्यटकहरुलाई एकद्वार प्रणालीको सेवाको कुरा बजेटमा आएको छ । पर्यटकलाई दिने सेवा एकद्वार भनिए पनि त्यसअन्तर्गत के के सेवा हुने र कुुुन कुन सरकारी निकायको समन्वय हुन्छ भन्नेबारे केही खुलाइएको छैन, तर हिमाल आरोहणको अनुमतिलाई भने एआई प्रणालीबाट सुरु गरिने महत्वाकांक्षी योजना बजेटमा आएको छ ।

३. भारत र चीनमा सीमापार पर्यटन कार्यक्रम

बजेटमा सीमा जोडिएका भारत तथा चीनका क्षेत्रमा सीमापार क्षेत्रमा पर्यटन कार्यक्रम ल्याउने बताइएको छ । ती क्षेत्रहरुमा नेपालको पर्यटनबारेका रोड सो, मेला, महोत्सव आदि गर्न बजेट विनियोजना गरिएको छ । पर्यटन प्रवर्द्धनका कार्यक्रम तेस्रो देशहरुमा पनि गर्ने बताइएको छ ।

४. भारतीय नाकाबाट निजी क्षेत्रसँग सहकार्य गरेर धार्मिक पर्यटन प्याकेज

निजी क्षेत्रसँगको समन्वयमा भारतीय नाकाबाट धार्मिक धामहरुको दर्शनका कार्यक्रम समेटिएको छ । भारतीय सीमाबाट पशुपतिनाथ, मुक्तिनाथ र स्वर्गद्वारी दर्शन सेवाका यातायात सञ्चालन गरिने बताइएको छ ।

५. बुद्ध र शिवदेखि किराँतलगायतको चार सर्किट निर्माण

विभिन्न धार्मिक सर्किट बनाउने कुरा बजेटमा कार्यक्रमका रुपमा पर्यटन क्षेत्रमा आएका छन् । यसमा बुद्ध, शिव, रामायण र किराँत सर्किट ल्याइने बताइएको छ । यद्यपि सुदूरपश्चिम क्षेत्रमा चर्चा गरिएको मानव खण्ड सर्किटबारेमा भने बजेट मौन छ ।

६. सातै प्रदेशको पायक क्षेत्रमा हिल स्टेसन

पर्यापर्यटन क्षेत्रमा सातै प्रदेशका पायक क्षेत्रमा हिल स्टेसन निर्माणको कार्यक्रम सरकारले यो वर्षको पर्यटन क्षेत्रमा अटाएको छ । सातै प्रदेशका चुरे, पहाडी तथा हिमाली क्षेत्रको पायक क्षेत्रमा यस्ता हिल स्टेसन निर्माण गर्ने कार्यक्रम बजेटमा आएका छन् ।

७. सरकारी जग्गामा होटल स्थापना गर्न लिजको व्यवस्था

सरकारले मध्य पहाडी पुष्पलाल राजमार्ग क्षेत्रका सरकारी जग्गामा लिजमा निजी क्षेत्रमा होटल सञ्चालनको कार्यक्रम पनि ल्याएको छ ।

८. गुरिल्ला, मुन्धुमलगायत तीन ट्रेलको प्रवर्द्धन

बजेटमा तीन पर्यटन ट्रेललाई प्राथमिकताका साथ राखिएको छ । जसमा ग्रेट हिमालयन टे«ल, मुन्धुम ट्रेल, गुरिल्ला ट्रेल छन् । नेपालमा चर्चा गरिएको रेडपाण्डा ट्रेल भने बजेटमा अटाइएको छैन ।

९. मुस्ताङमा संरचना निर्माणमा सहजीकरण

मुस्ताङमा पर्यटन क्षेत्रमा आवश्यक विभिन्न संरचना बनाउन सरकारले सहजीकरण गर्ने भएको छ । मौलिक संरचना नबिग्रने गरी हिमालयन रिसोर्ट सेन्टर बनाउने बजेटमा कार्यक्रम ल्याइएको छ ।

१०. सगरमाथा दिवसमा विदेशी व्यक्ति तथा संस्थालाई सम्मान

हरेक वर्षको मे २९ मा मनाइने सगरमाथा दिवसमा सरकारले विदेशी व्यक्ति तथा संस्थाहरुलाई सम्मान गर्ने कार्यक्रम बजेटमा समेटिएको छ ।

११. सञ्चालन नभएका आन्तरिक विमानस्थलमा हवाई पर्यटन खेलकुद

बजेटले नामै किटान गरेर केही सञ्चालन हुन नसकेका आन्तरिक विमानस्थललाई हवाई पर्यटन क्षेत्रका खेलकुदहरु जस्तैः अल्ट्रालाइट, प्याराग्लाइडिङ तथा स्काई डाइभिङ आदि सञ्चालनका कार्यक्रम ल्याएको छ । ती विमानस्थलहरुमा बलेवा, लामीडाँडा, मनाङ, रुम्जाटार, बैतडी छन् ।

१२. भरतपुर, सुर्खेत, विराटनगर आदि विमानस्थलको स्तरोन्नति

भरतपुर विमानस्थल विस्तारको लागि ३६ करोड बजेट विनियोजन गरिएको छ । सुर्खेत, विराटनगर, जुम्ला, धनगढी, नेपालगञ्ज आदि विमानस्थल स्तरोन्नतिका कार्यक्रम पनि बजेटमा समेटिएको छ ।

१३. त्रिभुवन विमानस्थलमा दोस्रो टर्मिनल भवन निर्माण

नागरिक उड्डयनमा ३ अर्ब ७७ करोड बजेट छुट्याएका अर्थमन्त्री पुनले त्यसमा त्रिभुवन विमानस्थलको दोस्रो टर्मिनल भवनको काम पनि सुरु गर्ने बताएका छन् ।

१४. पीपीपी मोडलमा निजगढ विमानस्थल निर्माण

बहुचर्चित तथा बहुविवादित निजगढ विमानस्थललाई सार्वजनिक-निजी साझेदारी अर्थात पीपीपी मोडलमा बनाइने बजेटमा आएको छ ।

१५. बच्चा जन्माउनदेखि हनिमुन मनाउनसम्म गन्तव्य नेपाल कार्यक्रम

अर्थमन्त्री पुनले नेपाललाई विवाह गर्न तथा विवाहित जाेडीलाई हनिमुन मनाउनदेखि बच्चा जन्माउन नेपाल रोज्ने कार्यक्रम ल्याएका छन् । रामजानकी विवाह भएको जनकपुरलाई विवाह गन्तव्य र बुद्ध जन्मिएको लुम्बिनीलाई बच्चा जन्माउने गन्तव्यको रुपमा प्रस्तुत गरिएको छ । हनिमुन गन्तव्यलाई भने यही ठाउँ भनेर किटान गरिएको छैन ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्