पेशागत महासंघले माग्यो मन्त्री बस्नेत र मुख्य सचिव अर्यालको राजीनामा
पेशागत महासंघ नेपालले स्वास्थ्यमन्त्री मोहनबहादुर बस्नेत र मुख्यसचिव बैकुण्ठ अर्यालको राजिनामा मागेको छ । महासंघको चौथौ बैठकको निर्णय सार्वजनिक गर्न बिहीबार राजधानीमा आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष पुण्यप्रसाद ढकालले टेरामक्स प्रकरणमा स्वास्थ्यमन्त्री बस्नेत र मुख्यसचिव अर्यालको निर्णायक संलग्नता देखिएकाले दुवैले पदबाट तत्काल राजिनामा दिनुपर्ने बताउनुभयो । साथै उहाँले आरोपित द्वयलाई राजिनामा दिइ अनुसन्धालाई सहयोग गर्न समेत आग्रह गर्नुभयो । महासंघको गत माघ २८ र २९ गते काठमाडौमा सम्पन्न राष्ट्रिय समिति बैठकले टेरामक्स प्रणाली खरिद प्रकरणबारे गहन छलफल गर्दै यस्तो निष्कर्ष निकालेको जानकारी पनि पत्रकार सम्मेलनमा दिइयो । कार्यक्रममा ट्रेड युनियन माथि हस्तक्षेप गर्न समेत सरकार लागि परेको भन्दै अध्यक्ष ढकालले निजामति कर्मचारीहरुलाई उनीहरुको पेशागत हक अधिकारबाट बन्चित गराउन नहुने बताउनुभयो । कर्मचारी वर्गको अहितमा सरकार लागि परेमा महासंघ सहेर नबस्ने पनि उहाँले बताउनुभयो । कार्यक्रममा महासंघका महासचिव केदार देवकोटाले भ्रष्टाचार नेपालमा क्यान्सर जसरी फैलिएको भन्दै त्यसकोे निमूर्लिकरणका लागि ‘एन्टीकरप्सन मुभमेन्ट एण्ड गुड गर्भर्नेन्स क्याम्पेन’ गर्न लागिएको जानकारी दिनुभयो । यसै गरी बालकुमारी हत्याकाण्डका दोषि नेपाल सरकारका भौतिक पुर्वाधार तथा यातायात मन्त्री प्रकाश ज्वालाले नैतिकताका आधारमा तत्काल राजिनामा दिनुपर्ने पनि उहाँले बताउनुभयो । त्यस्तै एनसेल प्रकरण, ललिता निवास प्रकरणमा मुछिएकालाई बचाउन सरकार लागि परेको भन्दै उनले कानुन कार्यान्वयन गराउनु पर्ने बताए । नेपाल सरकाले कानुन र अस्थामा प्रहार गदै लुम्बिनिको रामग्रमको जग्गा लिजमा दिएको भन्दै सो कुरा सच्चाउन महासचिव देवकोटाले माग गर्नुभयो ।