घरजग्गा र शेयरमा झुम्मिदै लगानीकर्ता, बैंकहरूमा ५ खर्ब रकम थुप्रियो



 

 

अहिले बैंकहरूमा तरलता (लगानीयोग्य रकम) फालाफाल छ । करिब ५ खर्ब हाराहारीको रकम बैंकमा थुप्रिएको छ । बैंकहरूमा अधिक तरलता भएपछि मुद्दती निक्षेपको ब्याज एकल अंकमा झरेको छ । पछिल्ला हरेक महिनाजसो ब्याजदर घटिरहेको छ ।बैंकहरूमा घट्दो ब्याजदरका कारण फेरि पैसा शेयर बजार र घरजग्गामा जान थालेको राष्ट्र बैंकको आंकलन छ । निक्षेपमा राम्रो ब्याज नआउने भएपछि सो रकम अहिले शेयर बजार र घरजग्गातर्फ डाइभर्ट हुन थालेको देखिएको केन्द्रीय बैंकका एक अधिकारीले भने ।

उनी भन्छन, ‘पहिला बढी ब्याज भयो भनेर रोइलो गर्ने उद्योगी व्यवसायी अहिले ब्याज कम र लगानी गर्ने रकम प्रशस्त हुँदा पनि लिन आउँदैनन । यतिबेला त पूर्वाधार निर्माणको काम धमाधम हुनुपर्ने हो । ती अधिकारीले अर्थतन्त्रका अन्य क्षेत्रहरू चलायमान भइनसकेको र लगानीकर्ताको आत्मबलसमेत नदेखिएको, तर शेयर बजार र घरजग्गा कारोबारमा भने उछाल आइरहेकोले लगानी त्यतैतिर डाइभर्ट भएको स्पष्ट देखिएको बताए । लगानी पूर्वाधार निर्माणमा गएको भए अर्थतन्त्र चलायान हुने तर शेयर बजारमा भने नाफा हुँदा एक-दुईजनाले मात्र कमाउने हुँदा अर्थतन्त्र चलायमान बनाउन सहयोग नपुग्ने उनको तर्क छ । चालू आवको मंसिरसम्मको राष्ट्र बैंकको तथ्यांकअनुसार शेयर धितो राखेर कूल ८१ अर्ब १९ करोड रूपैयाँ कर्जा प्रवाह भएको छ । पछिल्लो ५ महिनामै शेयर धितो कर्जा करिब ५ अर्ब ९४ अर्ब ८८ करोड रूपैयाँले बढेको छ । साउनयता प्रत्येक महिना औसतमा एक अर्ब रूपैयाँ शेयर कर्जा गएको देखिन्छ । आधारदर (बेसरेट) एकल अंकमा झरेकोले पुस र माघमा यो कर्जा अझै बढ्ने अनुमान बैंकरहरूको छ

शेयर बजारतर्फ आकर्षण बढिरहेको विभिन्न तथ्यांकले पनि पुष्टि गर्छ । नयाँ डिम्याट खाता खोल्नेको संख्यामा वृद्धि हुनु र टीएमएस लगइन गर्नेको संख्या बढ्नुलगायत यसका उदाहरण हुन् । शेयर बजार घट्दा टीएमएससमेत लगइन नगर्ने लगानीकर्ता अहिले सक्रिय रूपमा टीएमएस लगइन गर्न थालेका छन् । नेपाल स्टक एक्सचेन्जका प्रवक्ता मुराहरी पराजुलीका अनुसार हालसम्म १९ लाख २ हजार ४ सय जनाले टीएमएस आईडी र पासवर्ड लिएका छन् । उनीहरूमध्ये अहिले दैनिक औसतमा ७० हजार जनाले टीएमएस लग इन गर्छन् ।

सीडीएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार हालसम्म ६० लाख ९३ हजार ९ सय २५ डिम्याट खाता खोलिएको छ । उक्त डिम्याट खातामा ११ अर्ब ८६ करोड ७८ लाख ३१ हजार १ सय ९३ कित्ता शेयर रहेको छ । ३६ लाख २४ हजार २ सय ३४ मेरो शेयर प्रयोगकर्ता पुगेको छ । ब्याजदर एकल अंकमा आएपछि यो साता शेयर बजारमा साढे २ वर्ष यताकै सर्वाधिक कारोबार भयो । बुधबार ९ अर्ब ७७ करोड रूपैयाँ भन्दा बढीको शेयर कारोबार भएको नेप्सेले जनाएको छ । यो कारोबार रकम करिब साढे २ बर्ष (२९ महिना) यताकै सबैभन्दा धेरै हो । कारोबार रकमले नयाँ उचाइ लिदै जानेक्रम जारी छ ।

घरजग्गा कारोबारमा पनि फर्कियो रौनक

आर्थिक मन्दी खेपेको घरजग्गा कारोबारमा पनि रौनक फर्किएको सरकारकै तथ्यांकले देखाउँछ । चालू आर्थिक वर्ष (२०८०/८१) को ६ महिनामा भएको घरजग्गा कारोबारमा पुस महिनाको घरजग्गा कारोबार सबैभन्दा धेरै हो । चालू आवको साउनमा देशभरी ३३ हजार ८ सय ३४, भदौमा ३४ हजार ७ सय २०, असोजमा २५ हजार ७ सय ८९, कातिकमा २७ हजार ९ सय ३९ र मंसिरमा २९ हजार १ सय ८१ घरजग्गा कारोबार भएका थिए । पुस महिनामा देशभर ३८ हजार ८ सय ७१ घरजग्गा किनबेच भएको तथ्यांक भूमि व्यवस्था तथा अभिलेख विभागले सार्वजनिक गरेको छ ।

विभागका अनुसार पुस महिनामा भएको कारोबार मंसिरको भन्दा करिब १० हजारले बढी हो । घरजग्गा कारोबार बढेसँगै राजस्व पनि बढेको छ । पुसमा देशभरीका मालपोत कार्यालयबाट विभिन्न शीर्षकमा चार अर्ब ८१ करोड रुपैयाँ राजस्व उठेको छ । मंसिरमा दुई अर्ब ६५ करोड रुपैयाँ मात्र राजश्व उठेको थियो ।

पुसमा उठेको राजस्वमध्ये रजिष्ट्रेशन दस्तुरबापत २ अर्ब १२ करोड रुपैयाँ र पुँजीगत लाभकर एक अर्ब १० करोड र बाँकी अन्य शीर्षकमा रहेको छ । मंसिर मसान्तसम्म रियलस्टेट शिर्षकमा बैंक तथा वित्तीय संस्थाले २ खर्ब ४४ अर्ब २२ करोड ९४ लाख रूपैयाँ ऋण प्रवाह गरेका छन् ।

२ करोड रूपैयाँसम्मको आवासीय घरकर्जामा भने ३ खर्ब ७७ अर्ब ६६ करोड रूपैयाँ प्रवाह भएको केन्द्रीय बैंकको तथ्यांक छ । अघिल्लो महिनाभन्दा एक अर्ब बढी कर्जा प्रवाह भएको देखिन्छ । राष्ट्र बैंकले मौद्रिक नीतिको समीक्षाबाट घर-जग्गा र शेयर कर्जाको जोखिमभार घटाएर १२५ प्रतिशत कायम गरेपछि तयसले पनि यि दुइ क्षेत्रमा रौनक फर्काएको विश्लेषण विज्ञहरूको छ । यसअघि यी कर्जाको जोखिमभार १५० प्रतिशत थियो ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्