राष्ट्रियसभामा कांग्रेसलाई १३ सीट लिन एमालेको प्रस्ताव



 

 

राष्ट्रियसभा निर्वाचनमा प्रमुख सत्तारुढ घटक नेपाली कांग्रेसलाई प्रमुख विपक्षी घटक नेकपा एमालेले आकर्षक प्रस्ताव अघि सारेको छ । सत्ता गठबन्धनका शीर्ष नेताहरूको अनौपचारिक छलफलमा कांग्रेस सभापति शेरबहादुर देउवासमक्ष एमालेबाट आएको प्रस्ताव सुनेपछि माओवादी र नेकपा एसका नेताहरू झस्किएका छन् । सहभागी एक नेताका अनुसार राष्ट्रपतिबाट मनोनीत हुनेसहित रिक्त २० राष्ट्रियसभा सीटमध्ये एमालेले कांग्रेसलाई १३ सीट लिन प्रस्ताव गरेको हो । बाँकी ७ सीट एमालेले लिने प्रस्ताव छ । एमाले र कांग्रेस मिल्दा राष्ट्रियसभाका रिक्त १९ सीटमै अरू दलको सम्भावना हुँदैन । राष्ट्रपतिबाट मनोनीत हुने सीट भने मन्त्रिपरिषद्को सिफारिस बमोजिम मात्र हुन्छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले नै देउवासमक्ष सो प्रस्ताव राखेको जानकारी आफूहरूले पाएको नेकपा एसका संसदीय दलका उपनेता राजेन्द्र पाण्डेले बताए । एमालेले राखेको प्रस्ताव कांग्रेसको लागि गठबन्धनबाट प्राप्त हुने सीटभन्दा आकर्षक र लाभदायक भए पनि देउवाले उक्त प्रस्ताव स्वीकार नगरेको कांग्रेस नेताहरूको भनाइ छ । गठबन्धनभित्र कांग्रेसले ९ सीट पाउने सम्भावना छ । त्यो भन्दा ४ सीट कांग्रेसकै सांसदको खाली हुँदैछ भने एमालेबाट रिक्त हुने ८ मध्ये कांग्रेसले ५ सीटमा दाबी गरेको छ ।

एमालेको प्रस्ताव मान्दा कांग्रेसलाई कम्तीमा ४ सीट फाइदा हुने अवस्था रहे पनि गठबन्धनको एकता तोड्न नसकिने कांग्रेस सहमहामन्त्री बद्री पाण्डेले बताएका छन् । उनले गठबन्धनकै सहमति अनुसार माधव नेपाललाई पनि एक कार्यकाल प्रधानमन्त्री दिनुपर्ने बताए । गठबन्धनभित्र माओवादीका ३ सांसद खाली हुँदैछन् उसले थप तीन सीट दाबी गरेको छ । नेकपा एसका २ सीट खाली हुँदैछ भने एमालेबाट रिक्त हुने ८ मध्ये कम्तीमा २ सीटमा दाबी रहेको पाण्डेले बताए । जसपाको एक सीट रिक्त हुँदैछ र उसले थप एक सीट दाबी गरेको छ । गठबन्धनबाटै लोसपा र नागरिक उन्मुक्तिले पनि सीट दाबी गरेका छन् । सीट बाँडफाँटबारे औपचारिक छलफल भई नसकेको पाण्डेले बताए । राष्ट्रिय सभाका मतदाता रहेका प्रदेश सभा सदस्य र स्थानीय तहका प्रमुख र उपप्रमुखको मतभारका आधारमा सत्ता गठबन्धन कायमै रहेको अवस्थामा एमालेले जित्ने सम्भावना छैन । दलहरु एक्ला एक्लै लड्दा अधिकांश सीट एमालेले जित्न सक्छ,तर त्यो सम्भावना झनै छैन । यता एमालेले भने कांग्रेसलाई १३ सीट अफर गरिएको दाबीको आधिकारिकता पुष्टि गरेको छैन । एमालेका प्रचार विभाग प्रमुख राजेन्द्र गौतमले राष्ट्रिय सभा निर्वाचनको उम्मेदवारी मनोनयनको बेलासम्म विभिन्न दलसँग संवाद हुने बताए ।
कांग्रेसलाई एमालेले यसअघि नै सत्ता साझेदारी गर्न र दुई ठूला दल मिलेर स्थायित्व तथा अहिलेको निराशालाई चिर्न प्रस्ताव गरिसकेको छ । तर कांग्रेसको संस्थापन पक्ष अहिलेकै गठबन्धनको निरन्तरताका पक्षमा छ । ओलीले डा. शेखर कोइरालालाई संसदीय दलको नेता परिवर्तन गरेर आए सरकार गठनमा सघाउने समेत बताइसकेका छन् । कोइरालाको पक्षमा ४६ सांसद खडा भए पनि अन्तिममा किनबेच हुने सम्भावना रहेकाले दलको नेता परिवर्तनमा उनी अग्रसर भइसकेका छैनन् ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्