क्यान्सर पुरुषभन्दा महिलामा बढी



 

चितवनको भरतपुरस्थित बीपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आउने नयाँ बिरामीहरुमध्ये २० प्रतिशतलाई क्यान्सर पुष्टि हुने गरेको पाइएको छ  । क्यान्सर सतर्कता दिवसका अवसरमा अस्पतालले सार्वजनिक गरेको तथ्यांक अनुसार सन् २०२२ मा उपचारका लागि आएका ३२ हजार ३१४ विरामीहरुमध्ये ६ हजार ४४६ जनालाई क्यान्सर पुष्टि भएको हो ।

क्यान्सर रोग पहिचान हुनेमा पुरुषभन्दा महिलाको संख्या बढी छ । अस्पतालका अनुसार सन् २०२२ मा २ हजार ८६८ जना पुरुष र ३ हजार ५७८ जना महिलामा क्यान्सर रोग पुष्टि भएको थियो । सन् २०२१ मा भन्दा सन् २०२२ मा अस्पतालमा नयाँ बिरामीको संख्यामा भने कमी आएको देखिन्छ । सन् २०२१ मा अस्पतालमा ४७ हजार ३४२ नयाँ बिरामी आएकोमा अहिले सो संख्या घटेर ३२ हजार ३ सयमा पुगेको छ । सन् २०२२ मा नयाँ बिरामीको संख्या घटे पनि क्यान्सर पुष्टि हुने बिरामीको संख्यामा भने कमी आएको पाइएको छैन । सन् २०२१ मा ६ हजार ३७ जना नयाँ क्यान्सरका बिरामी थपिएकोमा सन् २०२२ मा ६ हजार ४६३ जना नयाँ बिरामी थपिएका हुन् ।

यस्तै, अस्पतालको समग्र ओपीडीमा भने बिरामीको संख्या घटेको देखिँदैन । अस्पतालमा गत वर्ष सन् २०२२ मा १ लाख ६५ हजार ५० जना बिरामी ओपीडीमा आएका थिए । सन् २०२१ मा १ लाख ६४ हजार ५९५ जना नयाँ तथा पुराना बिरामीहरु ओपीडीमा आएको अस्पतालको तथ्यांकमा उल्लेख गरिएको छ । सन् २०२० मा ९० हजार ५७१ जना मात्रै बिरामी ओपीडी आएका थिए । त्यस वर्ष कोभिडका कारणले कम बिरामी आएको अस्पतालले जनाएको छ ।

विश्वभरी क्यान्सरका विरामीहरूको तथ्यांक राख्ने एक संस्थाले गरेको अनुमानलाई आधार मान्ने हो भने नेपालमा बर्सेनि ५० देखि ७० हजार नयाँ क्यान्सरका बिरामी थपिन्छन् । तीमध्ये ३५ प्रतिशत मात्रै अस्पतालमा आउने गरेका छन् ।  अस्पतालमा दर्ता भएका बिरामीहरुको संख्याको आधारमा नेपालमा तीव्र रुपमा क्यान्सर रोगी बढिरहेको चिकित्सकहरुको भनाइ छ ।

क्यान्सर अस्पतालका कार्यकारी निर्देशक डा. शिवजी पौडेलले अस्पतालले दिने सेवालाई प्रभावकारी बनाउँदै बिरामीहरुलाई थप सेवा दिन लागिपरेको बताए । क्यान्सर रोग चाँडो पत्ता लगाउनसके बिरामीलाई सजिलैसँग बचाउन सकिने उनी बताउँछन् । पछिल्लो पाँच वर्षको तथ्यांकलाई हेर्दा क्यान्सर भएर वा आंशकामा अस्पतालमा आएर जाँच गराउने बिरामीको संख्या बढ्दै गएको देखिन्छ । सचेतना बढ्दा बिरामीहरु ओपीडीमा थपिएको कार्यकारी निर्देशक डा. पौडेलले बताए ।

अस्पतालमा भर्ना भएर उपचार सेवा लिने बिरामीको संख्या पनि बढे छ । सन् २०२२ मा अस्पतालमा १० हजार २७५ जना बिरामी भर्ना भएर उपचार गराएका थिए । अस्पतालमा सन् २०२१ मा ९ हजार २४९ जना भर्ना भएका थिए । सन् २०१९ मा यस्तो संख्या ७ हजार ९०८ थियो ।

सबैभन्दा बढी  मेडिकल अंकोलोजी र सर्जरी विभागमा बिरामीहरु भर्ना भएको पाइएको छ । अस्पतालमा सन् २०२२ मा ४ हजार ८५० ठूला अप्रेसन गरिएका छन् । अस्पतालमा हाल ४५० बेड संख्या छ । अस्पतालमा बिरामीका औसत बसाइ ७ दिन छ । अकुपेन्सी दर ७५ प्रतिशतभन्दा माथि छ  भने अस्पतालमा मृत्युदर २।०३ प्रतिशत छ ।  क्यान्सर अस्पतालमा दैनिक २३० जना बिरामीलाई रेडियोथेरापी ९सेकाई० सेवा दिइएको छ । क्यान्सर पत्ता लागेका ६० देखि ७० प्रतिशत विरामीलाई रेडियोथेरापी उपचार सेवा दिनु परेको तथ्यांकमा उल्लेख छ ।

क्यान्सरको रेटिङ स् पहिलोमा फोक्सो, दोस्रोमा पाठेघरको मुखको क्यान्सर

गत वर्ष अस्पतालमा थपिएका ६ हजार ४४६ नयाँ क्यान्सरका विरामीमध्ये सबैभन्दा बढी फोक्सोका क्यान्सरका विरामी छन् । फोक्सोका ४४५ पुरुष र ३८७ महिला गरी ८३२ जना फोक्सोको क्यान्सर भएका विरामी पत्ता लागेको अस्पतालले जनाएको छ । ६० देखि ७० बर्ष उमेर समूशका व्यक्तिहरुलाई अधिक मात्रामा फोक्सोको क्यान्सर भएको पाइएको छ ।

दोस्रो नम्बरमा पाठेघरको मुखको क्यान्सर छ । गत वर्ष ७२० जना महिलाहरुलाई पाठेघरको क्यान्सर भएर उपचार गरिएको अस्पतालको तथ्यांकमा उल्लेख छ । ४० देखि ६० वर्ष र ६० देखि ७० वर्ष उमेर समूहका महिलामा यो क्यान्सर अधिक देखिएको छ । तेस्रो नम्बरमा स्तनको क्यान्सर पर्दछ । गत बर्ष ७०२ जना स्तनको क्यान्सर भएका महिलाहरुले अस्पतालमा उपचार गराएका छन् ।

४० देखि ६० वर्ष उमेरका महिलाहरुलाई स्तन क्यान्सर अधिक भएको पाइएको छ । चौथौं नम्वरमा रक्त तथा बोनम्यारोको क्यान्सर रहेको देखिन्छ । गत वर्ष ४१० जना यस्ता नयाँ विरामीमा यो रोग पत्ता लागेको थियो । पाँचौं नम्बरमा आमाशय क्यान्सर ३३७ जनामा भएको छ । अस्पतालका अनुसार ५८ वटा थरी क्यान्सरका विरामी गत वर्ष उपचारका लागि आएका थिए ।

अस्पतालमा टप १० क्यान्सर रोगमा फोक्सो क्यान्सर, पाठेघरको मुखको क्यान्सर, स्तन, रगत तथा बोनम्यारो, आमाशय, हड्डी, गल ब्लाडर, थाइराइड ग्लाण्ड, युरिनरी ब्लाडर र जिब्रोको क्यान्सर परेका छन् । अधिकांश क्यान्सरमा महिलाको भन्दा पुरुषको संख्या बढी छ ।

पुरुषमा पनि स्तन क्यान्सर भएको पाइएको छ । गत वर्षको तथ्यांकमा २३ जना पुरुषलाई स्तन क्यान्सर पुष्टि भएको छ । शहरीया जीवनशैली र खानपानका कारणले क्यान्सरका रोगीहरू बढिरहेको चिकित्सकहरु बताउँछन् । सूर्तीजन्य पदार्थको प्रयोग, रासायनिक मल र किटनाशक विषादीको प्रयोग गरिएका, मिसावट भएका खाना र प्रदूषणका कारण क्यान्सरका रोगी बढिरहेको चिकित्सकको भनाइ छ । सूर्तीजन्य सामग्रीको प्रयोग क्यान्सर लाग्ने ३० प्रतिशत कारक बन्ने गरेको तथ्यांकले देखाउँछ ।

सबैभन्दा बढी बिरामी चितवनका

भरतपुरको क्यान्सर अस्पतालमा देशका ७७ वटै जिल्ला र भारतका विभिन्न ठाउँबाट विरामीहरु उपचारका लागि आउने गरेका छन् । अस्पतालमा उपचार गराउन आउने बिरामीमध्ये अधिकांश चितवनका छन् । सन् २०२२ मा अस्पतालमा आएका बिरामीमध्ये चितवनका ५ हजार ६५४, रुपन्देहीका १ हजार ६३८, नवलपुरका १ हजार ३४०, बाराका १ हजार १९६, दाङका १ हजार १४३ जना, तनहुँका ९१२ जना छन् ।

देशभर हुने क्यान्सरका रोगीमध्ये ५० प्रतिशत बिरामीहरू उपचारका लागि चितवनमा आउने गरेका छन् ।

देशका अन्य अस्पताल भन्दा एकीकृत विशिष्ट सेवा अस्पतालले प्रदान गर्ने भएकाले बिरामीहरू टाढा–टाढाबाट रिफर भएर आउने गरेको कार्यकारी निर्देशक डा। पौडेलले बताए । अस्पतालमा क्यान्सरको पहिलो स्टेजमा आएमा ८० प्रतिशत, दोस्रो स्टेजमा आएका बिरामी ६० प्रतिशतसम्म र तेस्रो स्टेजका बिरामी २५ देखि ३० प्रतिशतसम्म निको हुने गरेको अस्पतालका चिकित्सकहरुको भनाइ छ ।

बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी

अस्पतालले सिटी सिमुलेटर खरिद गरेर रेडियोथेरापी सेवालाई चुस्त दुरुस्त बनाउने, नयाँ सिटी स्क्यान र एमआरआई मेसिन खरिद प्रक्रिया अगाडि बढाउने योजनामा अस्पताल रहेको कार्यकारी निर्देशक डा। पौडेलले बताए । अस्पतालमा बोनम्यारो प्रत्यारोपण सेवा सञ्चालनको तयारी गरिएको उनी बताउँछन् ।

उनका अनुसार बोनम्यारो प्रत्यारोपणको लागि अक्टोबर महिनाको पहिलो हप्ता चिनियाँ प्राविधिक टोली चितवन आउँदैछ । उनले अस्पतालले बोनम्यारो ट्रान्सप्लान्ट, इन्टरभेन्सन रेडियोलोजी लगायतका सेवा थप गरिने जानकारी दिए ।

नयाँ मेमोग्राफी मेसिन समेत खरिद प्रक्रिया अगाडि बढाउने डा। पौडेलले बताए । अस्पतालमा अहिले ९४ जना चिकित्सक, २६७ जना स्टार्फ नर्स र अन्य कर्मचारी गरी ६९४ जना कार्यरत छन् ।

अस्पतालमा गत आर्थिक वर्षमा विभिन्न शीर्षकमा ९४ करोड १० लाख २७ हजार १६५ रुपैयाँ आम्दानी भएको थियो भने एक अर्ब १४ करोड, ७४ लाख, ९८ हजार ६७३ रुपैयाँ खर्च भएको तथ्यांक छ ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्