गृहमन्त्री फेर्न प्रचण्डमाथि दबाब बढाउदै देउवा



 

 

 

समाजवादी मोर्चाको सन्देशसभालाई सम्बोधन गर्न बिहीबार सुर्खेत पुगेर प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफूले जुनसुकै बेलामा सरकार छाड्नुपर्ने परिस्थिति बन्नसक्ने संकेत गरे । ‘यो सरकार कति समय चल्छ चल्दैन भन्ने मेरो टेन्सन त्यतातिर छैन । जे गर्छु राम्रो काम गर्छु, राम्रो काम गर्दागर्दै कसले हटाउँदा रहेछन् नेपाली जनताले हेर्छन् । फेरि म सरकार छाड्न गाह्रो मान्ने मान्छे पनि होइन, टेन्सन पनि छैन’, प्रचण्डको भनाइ थियो । प्रचण्डको अभिव्यक्तिबाटै पुष्टि हुन्छ, उनलाई सत्तामा टिकिराख्न त्यति सहज छैन । तर, उनले आशंकाबीच गठबन्धनमा अझै राम्रो भइरहेकोसमेत जिकिर गरेका छन् । प्रचण्डले मात्रै नभइ उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले पनि सरकारले सुशासनको अभियान थालेकाले आफूलाई हटाएर असफल पार्ने प्रयास भइरहेको बताउँदै आइरहेका छन् । प्रधानमन्त्री र गृहमन्त्रीको यस्ता पछिल्लो अभिव्यक्ति त्यसै आएको होइन । सरकारले अघि बढाएको नक्कली भुटानी शरणार्थी प्रकरण, ललिता निवास प्रकरण, कांग्रेस सासद सुनिल शर्मा पक्राउदेखि सुन प्रकरणमा आइपुग्दासम्म गठबन्धनमा आशंका बाक्लिएको छ । जुन कुरालाई गठबन्धनभित्र अन्तरविरोध राम्रो चलेको प्रचण्ड जानकार भएर नै पछिल्ला अभिव्यक्ति आएको विश्लेषण हुन थालेको छ । शरणार्थी प्रकरणमा कांग्रेस सभापति शेरबहादुर देउवाका विश्वासपात्र बालकृष्ण खाण थुनामा छन् । सो प्रकरणमा देउवापत्नी आरजु राणा र खाणपत्नी मञ्जुको पनि कनेक्सन रहेको आरोप छ । तर, देउवाको दबाबकै कारणले उनीहरुमाथि अनुसन्धान प्रक्रिया अघि बढ्न सकेन ।

शरणार्थी प्रकरण अनुसन्धान गर्ने प्रहरी अधिकृतहरु देउवा दम्पतीको दबाबमा प्रधानमन्त्रीले बाध्य भएर सरुवा गराइएको आरोप छ । जुन कुराबाट गृहमन्त्री पनि असन्तुष्ट छन् । प्रधानमन्त्री प्रचण्डले भ्रष्टाचारका फाइललाई सरकार टिकाउने हतियार बनाएको आरोप लागिरहेको बेलामा जसपा अध्यक्ष उपेन्द्र यादव जोडिएको गौर हत्याकाण्डको छानबिन अघि नबढाउने गठबन्धन बैठकमा सहमति बन्यो । त्यतिमात्रै होइन माधव नेपाल र डा बाबुराम भट्टराईलाई ललिता निवास जग्गा प्रकरणबाट उन्मुक्ति दिएपछि सरकारको आलोचना भइरहेको छ । सुन काण्डमा जोडिएका आफू निकटका व्यक्तिहरुलाई प्रधानमन्त्री र गृहमन्त्रीले जोगाएकोप्रति गठबन्धनमै प्रश्न उठेको छ । सुन काण्डमा माओवादी उपाध्यक्ष कृष्णबहादुर महरा बाबुछोराको संलग्नता भएको आरोप छ । छोरा राहुललाई पक्राउ गरे पनि महारामाथि अनुसन्धान अघि बढाइएको छैन । तर, प्रधानमन्त्री प्रचण्डले आफ्नो पार्टीका नेतामात्रै नभएर छानबिनको क्रममा आफ्नो नाम आए पनि हत्कडी लगाएर लान सीआईबीलाई भनिसकेको तर्क गर्दै आइरहेका छन् । प्रधानमन्त्री र गृहमन्त्रीको भनाइ र गराइमा फरक भएको भन्दै अधिकांश नेताहरुले आलोचना गरेपछि देउवाले प्रधानमन्त्रीलाई गृहमन्त्री फेर्नुपर्ने दबाब बढाएका छन् । त्यही विषयलाई लिएर देउवा दम्पती बालुवाटार पुग्नुका साथै गृहमन्त्री स्वयंलाई भेटेर चेतावनी दिइसकेको बताइन्छ ।

 

गृहमन्त्री हटाउन दबाब

देउवा निकट कांग्रेस सहमहामन्त्री महेन्द्र यादव गृहमन्त्रीले आफू निकटकालाई जोगाएर निर्दोष व्यक्तिलाई फसाएर जेल हालेको दाबी गर्छन् । उनले नेपाल प्रेससँग भने, ‘अहिले प्रधानमन्त्रीको पछिल्लो अभिव्यक्ति जस्तो सरकार नै ढल्ने खालको गठबन्धनमा कुनै समस्या छैन । यो गठबन्धन अघि बढ्छ । तर, गृहमन्त्रीमाथि प्रश्न उठेको छ । मन्त्रीहरु चाहिँ फेरिन सक्छन् । उनले आफ्नो पार्टीको नेता खाण निर्दोष भएको दाबी गर्दै गृहमन्त्रीले नै फसाएर थुनेको आरोप लगाए । सहमहामन्त्री यादवले भने, ‘बालकृष्ण खाण जस्तो निर्दोष मान्छेलाई फसाएर जेल हालिएको छ । दोषीलाई छाडेको छ । गृहमन्त्रीबाट कांग्रेसका नेताहरुलाई फसाउने काम भएको छ । त्यसमा हामी सन्तुष्ट छैनौं ।

कांग्रेसका नेताहरुलाई मात्रै फसाएर गृहमन्त्रीले राम्रो नगरेकाले उनलाई फेर्नेबारेमा छलफल हुने उनको भनाइ छ ।
कांंग्रेस केन्द्रीय सदस्य अजयबाबु शिवाकोटी पनि गृहमन्त्रीमाथि प्रश्न उठिसकेकाले राजीनामा दिनुपर्ने राय दिन्छन् ।आमनागरिकमा थोरै भए पनि आशा जगाउने अवस्था बन्दै जाँदा गृहमन्त्रीजी तपाईंले पनि फेरि नागरिकमा निराशा थप्नुभएको छ । सत्ताको मोलमोलाइमा तपाईंको इमान पनि डगमगाएको छ । गम्भीर आरोप लागिरहँदा तपाईं नैतिक रुपले पदमा टासिइरहन सुहाँउछ ? कृपया निष्पक्ष अनुसन्धानको लागि बाटो खोल्नुस्’, उनले फेसबुकमा लेखेका छन् । तर, कांग्रेसका प्रचार विभाग प्रमुख मीनबहादुर विश्वकर्मा भ्रष्टाचारको छानबिन गर्ने विषयमा सरकारलाई कसैले दबाब नदिएको दाबी गर्छन् ।

उनी भन्छन्, ‘सरकारको अभियानमा हाम्रो साथ छ । तर, हामीले दोषी नउम्कियोस्, निर्दोष नफसोस् भनिरहेका छौं । सरकारमाथि कसैले दबाब दिएको छैन । निष्पक्ष छानबिनमा हाम्रो जोड छ । प्रधानमन्त्रीले जुनसुकै बेला सरकार छाड्न तयार छु भन्ने अभिव्यक्ति दिएपछि गठबन्धनमा देखिएको अन्तरविरोधबाट आफूहरु नआत्तिएको माओवादी सचिव डिलाराम आचार्य बताउँछन् । उनले भने, ‘शेरबहादुरजीबाट अहिले सरकारमा धोका हुन्छ भन्ने हामीले कल्पना गरेका छैनौं । अहिले गठबन्धनविरोधी विभिन्न हल्ला चलिरहेका छन् । त्यसमा कुनै सत्यता छैन ।’ उनले गृहमन्त्री हटाउन कसैले दबाब नदिएको जिकिर गर्दै पार्टीभित्र छलफल नभएको बताए ।

 

प्रचण्ड लचक !

पछिल्लो समय गठबन्धनमा देउवा हाबी हुन थालेपछि प्रधानमन्त्री प्रचण्ड सत्ता टिकाउन लचक हुँदै आएका छन् । २९ साउनमा सत्ता गठबन्धनको बैठकमा गृहमन्त्रीप्रति देउवाको आक्रोशपछि प्रचण्ड हच्किएको नेताहरु बताउँछन् । त्यसपछि एआईजी सरुवादेखि आफ्नो पार्टीको भागमा परेको संसदीय समितिको सभापति समेत राप्रपालाई छाड्न प्रचण्ड तयार भए । कोशी सरकार टिकाउन आफूले पाएको पूर्वाधार विकास समितिको नेतृत्व राप्रपालाई सुम्पिन तयार हुनु प्रचण्डको लचकताकै प्रमाण हो । तर, राप्रपाले कुनै सहमति नभएको दाबी गर्दै आएको छ ।

भ्रष्टाचारका फाइललाई सत्ता बार्गेनिङ टुल बनाएको आरोप लगाउँदै कांग्रेस महामन्त्री गगन थापाले समेत अब मौन नबस्ने चेतावनी दिइसकेका छन् । उनले संसदको रोष्टमबाटै प्रधानमन्त्रीलाई नयाँ ढंगले सामना गर्न चेतावनी दिएपछि गठबन्धनभित्र आशंका बढेको प्रस्ट हुन्छ। तर, महामन्त्री थापाको अभिव्यक्तिले गठबन्धनमा कुनै समस्या नपार्ने माओवादीका प्रवक्ता अग्निप्रसाद सापकोटाले दाबी गरे । पेरिसडाँडामा आयोजित पत्रकार सम्मेलनमा उनले भने, ‘राजनीतिमा कुन क्षण के हुन्छ भन्न सकिँदैन । तर, अहिले गठबन्धनमा कुनै समस्या आउँदैन । कांग्रेस र माओवादीबीच कुनै खटपट छैन ।’

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्