माओवादीमा विशेष महाधिवेशनको प्रस्ताव, प्रचण्डको विकल्प खोज्ने संकेत



 

 

नेकपा माओवादी केन्द्रको जारी केन्द्रीय समितिको बैठकमा पार्टी नेतृत्वको चर्को आलोचना भइरहेको छ । पार्टीलाई विधि र विधानअनुसार नचलाएको भन्दै नेताहरुले पार्टी नेतृत्वप्रति चर्को असन्तुष्टि पोखेका हुन् । नेताहरुले पार्टी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड नेतृत्वको सरकारले चालेका भ्रष्टाचारविरोधी कदमलाई समर्थन जनाए पनि पार्टीमा भइरहेको नेतृत्वको कार्यशैलीप्रति असन्तुष्टि पोखेका छन् । अध्यक्ष प्रचण्डको मात्रै नभएर सिंगो पार्टी पदाधिकारीकै कार्यशैलीप्रति नेताहरुले प्रश्न उठाए । बैठकमा पार्टी संगठनलाई प्रभावकारी ढंगले चलायमान बनाउन ‘जनतासँग पार्टी’ अभियान चलाउनेदेखि विधान सम्मेलन, विशेष महाधिवेशनलगायतको विषयमा छलफल केन्द्रित छ । २०७८ पुसमा भएको आठौं महाधिवेशनमा प्रचण्डको प्रस्तावमै सबै पदाधिकारी चयन भएको थियो । महाधिवेशनको डेढ वर्षमै माओवादीले फेरि विशेष महाधिवेशन गर्ने प्रस्ताव बैठकमा गरेको छ । केन्द्रीय बैठकमा मंसिरमा विधान सम्मेलन गरेर फागुनसम्ममा विशेष महाधिवेशन गर्नेबारे छलफल भइरहेको छ ।

पार्टी कमिटीहरु भद्दा भएकाले अहिले घटाउनुपर्ने माओवादीमा दबाब छ । तर, केही नेताहरुले अहिले विधान सम्मेलनभन्दा पनि विशेष महाविधेशनमा गएर नयाँ टीम ल्याएर पार्टी पुनर्निर्माण थाल्नुपर्ने प्रस्ताव अघि सारेका छन् । लामो समयदेखि माओवादीको नेतृत्वमा प्रचण्ड निर्विकल्प छन् । विशेष महाधिवेशनको तयारी भइरहेको बेलामा नेताहरुले अब पार्टीको नेतृत्वका लागि प्रचण्ड पनि बाकस थाप्न तयार हुनुपर्ने भन्दै नेताहरुले दबाब बढाउँदै आएका छन् । तर, माओवादीमा प्रचण्डको उत्तराधिकारी को बन्ला रु अहिल्यै भन्न सकिने अवस्था छैन ।

पार्टीको विशेष महाधिवेशन मागेको पार्टीका अध्यक्ष प्रचण्ड भने समाजवादी मोर्चा हुँदै नेकपा एकीकृत समाजवादी, विप्लव नेतृत्वको नेकपा, डा। बाबुराम भट्टराई नेतृत्वको नेसपासँग पार्टी एकता गर्ने जमर्को गरिरहेका छन् । त्यहाँबाट माधव नेपाल, नेत्रविक्रम चन्द ‘विप्लव’, बाबुराम भट्टराईसहितका नेताहरुसँग एकताको पनि सम्भावना छ । त्यसो त विप्लवलाई अहिले प्रचण्डले महासचिव दिएर पार्टीमा भित्र्याउन खोजेको पनि चर्चा छ । तर, नेताहरुले पदभन्दा पनि विधि र पार्टी निर्माणमा जोड दिनुपर्ने भन्दै प्रचण्डमाथि दबाब बढाइरहेका छन् ।

अध्यक्षको उत्तराधिकारीमा महासचिवलाई हेर्ने प्रचलन छ । त्यसो गत महाधिवेशनमा महासचिवको लागि वर्षमान पुन र जनार्दन शर्माबीच चर्को टकराब भएपछि प्रचण्डले देव गुरुङलाई अघि सारेको थिए । तर, गुरुङले पार्टीको नेतृत्व गर्न नसक्ने माओवादी नेताहरु नै बताउँछन् । अहिले प्रचण्ड विप्लवसँग नजिकिएपछि पार्टीभित्र फरक गुट चलाइरहेका पुन र शर्मा एकै ठाउँमा उभिएका छन् । उनीहरुलाई अर्का उपमहासचिव शक्ति बस्नेतले पनि साथ दिएका छन् । उनीहरुमात्रै होइन, वरिष्ठ उपाध्यक्ष नारायणकाजी श्रेष्ठको पनि पार्टीभित्र छुट्टै समूह छ । जसकारण प्रचण्डमाथि अहिले पार्टीभित्रबाटै आन्तरिक दबाब बढाइरहेका छन् । अहिले सरकारको नेतृत्व गरिरहेका प्रचण्ड कहिलेकाहीं पार्टीको आन्तरिक बैठकहरुमा आफू पार्टी नेतृत्व हस्तान्तरण गर्न तयार भएको बताउँदै आइरहेका छन् । जारी बैठकमा पनि प्रचण्डले पार्टीलाई विधिबमोजिम चलाउन सके आफू नेतृत्व हस्तान्तरण गर्न तयार रहेको बताएको एक नेताले बताए ।

प्रतिक्रिया दिनुहोस
चेक बाउन्स हुँदैमा कालोसूचीमा नपर्ने

    अब चेक बाउन्स हुँदा कालोसूचीमा नपर्ने भएको छ । आज राष्ट्र

सेयर धितो कर्जामा २० करोडको सीमा खारेज

    बैंक तथा वित्तीय संस्थाहरुबाट सेयर धितो कर्जामा संस्थाहरुलाई दिइने अधिकतम २०

ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृतमा सुरेन्द्रराज रेग्मी नियुक्त

    ग्लोबल आईएमई बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा सुरेन्द्रराज रेग्मी नियुक्त

राजदूतमा कांग्रेस-एमालेबीच भागबण्डा मिल्यो

    सत्तारुढ दल नेपाली कांग्रेस र नेकपा एमालेले राजदूतको भागबण्डा मिलाएका छन्