भारतले निर्यात रोकेपछि चामलको भाउ बढ्यो



 

 

भारतले साउन ४ गते बासमतीबाहेकको सेतो चामलको निर्यात बन्द गर्ने घोषणा गरेपछि नेपाली बजारमा त्यसको प्रत्यक्ष असर देखिन थालेको छ । भारतको घोषणाको एक साता नपुग्दै नेपाली बजारमा व्यापारीहरूले चामलको भाउ बढाउन थालेका छन् । अहिले एक बोरामा ५ सय रूपैयाँसम्म मूल्यवृद्धि भएको गुनासो उपभोक्ताले गरिरहेका छन् ।

तर, मनलाग्दी मूल्यवृद्धि नियन्त्रण गर्न छाडेर सरकार विज्ञप्ति, पत्राचार र निर्देशनमात्र गरेर बसिरहेको छ । बुधबारमात्र वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बेच्न निर्देशन दिएको सूचना जारी गर्‍यो । अनुगमन प्रभावकारी नहुँदा निर्देशन कार्यान्वयन फितलो छ । कोटेश्वरकी रुपा काफ्ले एक सातामै ३ सयभन्दा बढी तिरेर एक बोरा चामल किनेको सुनाउँछिन् । मीनभवनका विष्णु गुरुङले पनि २ सय रुपैयाँ बढी तिरेर चामल ल्याएकाे बताए । यस्तै गुनासो बढेपछि वाणिज्य आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले पुरानै मूल्यमा चामल बिक्री गर्न निर्देशन दिएको हो । तर, खुद्रा व्यापारीहरू भने होलसेलबाटै भाउ बढेकाले महँगो परेको जवाफ दिन्छन् ।

मूल्यवृद्धि गर्नेलाई ३ लाखसम्म जरिबाना

चामलको भाउ उपभोक्ताको भान्सासम्म पुग्दा अस्वाभाविक बढाएको प्रमाणित भए उपभोक्ता संरक्षण ऐन २०७५ आकर्षित हुनेछ । यसमा अनुगमनस्थलमै ५ हजारदेखि ३ लाख रूपैयाँसम्म जरिबाना हुने विभागले जनाएको छ । अर्कोतर्फ कसूरको मात्रा र प्रकृतिको आधारमा मुद्दासमेत दायर हुनेछ । जिल्ला प्रशासन कार्यालय, नेपाल आयल निगम र विभागको दैनिक ३ वटा संयुक्त टोलीमार्फत अनुगमन भइरहेको छ ।

कति समयलाई पुग्ने चामल छ नेपालसँग ?

कृषि तथा पशुपन्छी विकास मन्त्रालयकी प्रवक्ता सवनम शिवाकोटी अर्याल नेपालमा सरदर ५५ लाख मेट्रिक टन धान उत्पादन हुने बताउँछिन् । उनका अनुसार वार्षिक करिब ६ लाख मेट्रिक टन धान तथा चामल आयात हुँदै आएको छ । यस पटक धानको उत्पादन बढाउन कृषि मन्त्रालयले सिंचाइको लागि ऊर्जा जलस्रोत तथा सि‌चाइ मन्त्रालयसँग समन्वय गरिरहेको प्रवक्ता शिवाकोटीको भनाइ छ । अघिल्लो वर्ष साढे १४ लाख हेक्टर क्षेत्रफलमा धानको रोपाइँ भएको थियो भने उत्पादन झन्डै ५५ लाख मेट्रिक टन थियो ।

खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडका अनुसार हाल ९२ हजार ४०१ क्विन्टल चामल मौज्दात रहेको छ । आपूर्ति व्यवस्था खलबलिएको बेलामा यही चामल सरकारले वितरण गर्न राखेको कम्पनीकी सूचना अधिकारी शर्मिला सुवेदी न्यौपानेले बताइन् । हाल देशको कूल गार्हस्थ उत्पादनमा कृषिको योगदान २४ प्रतिशत छ । कृषि क्षेत्रको गार्हस्थ उत्पादनमा धानको मात्रै योगदान १५ प्रतिशत रहेको छ ।

नेपालमा धेरैजसो चामल भारतबाटै आयात हुन्छ । भन्सार विभागको तथ्यांक हेर्ने हो भने यसका अलावा इन्डोनेसिया, इटाली, जापान, कोरिया, अमेरिकादेखि ओमानसम्मको चामल नेपालमा आयात भएको देखिन्छ । गत आर्थिक वर्ष २०७९/८० मा १५ अर्ब ९१ करोड २० लाख रुपैयाँ बराबरको विभिन्न खालको चामल आयात भएको तथ्यांक विभागसँग छ । अमेरिकाबाट मात्रै १९ करोड ३६ लाख ३२ हजार रूपैयाँ बराबरको बासमती चामल भित्रिएको छ । यता ब्राउन राइस चीन, भारत र थाइल्याण्डबाट आएको छ ।

नेपाल चामल, तेल, दाल तथा उत्पादक संघका निवर्तमान अध्यक्ष सुवोधकुमार गुप्ता नेपालसँग अझै करिब ३ महिनालाई पुग्ने धान रहेको बताउँछन् । मंसिरदेखि नयाँ धान आउने भएकाले चामलको अभाव नहुने उनको तर्क छ । अहिले भारतको निर्णयभन्दा पनि धानमा आएको मूल्यवृद्धिका कारण चामलको मूल्य बढेको गुप्ताको तर्क छ । नेपालमा ७० लाख मेट्रिक धानको माग छ । तर, उत्पादन ५५ लाख छ । बाँकी १५ लाख मेट्रिक टन धान भारतबाट ल्याउने गरिएको छ ।

गुप्ता भन्छन्, ‘भारतले कुनै पनि देशको सरकारले माग गरेको खण्डमा उपलब्ध गराउने भनेको छ । यदि, सरकारीस्तरबाटै माग भएमा भारतले निर्यात गर्न दिनेछ । अहिले चामल निर्यात रोकिनु नेपालमा बन्द भएका राइस मिलहरू फेरि सञ्चालन हुने अवसर हो । हामीलाई चामल होइन धान चाहिएको छ’, गुप्ताले भने ।

प्रतिक्रिया दिनुहोस
असोज ३ गतेदेखि धरहरा खुला गर्ने सरकारको निर्णय

  मन्त्रिपरिषद्को बिहीबार साँझ बसेको बैठकले संविधान दिवस (असोज ३) को अवसर पारेर

सुनको मूल्य अहिलेसम्मकै उच्च

    नेपाली बजारमा सुनको मूल्य अहिलेसम्मकै उच्च भएको छ । आइतबार सुन

साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्छु : प्रधानमन्त्री

    प्रधानमन्त्री केपी शर्मा ओलीले साना डिजिटल कारोबार निःशुल्क गर्न पहल गर्ने

समितिका सभापति सूर्य थापासहित मितेरी सहकारीको स्थलगत निरीक्षण

    सहकारी ठगी प्रकरणमा मुछिएका कांग्रेस उपसभापति तथा पूर्वकानूनमन्त्री धनराज गुरुङले श्रीमतीसँग