सुन तस्करीमा मेरो संलग्नता छैन : दिपक मलहोत्रा
एक क्वीन्टल सुन तस्करीमा आफ्नो नाम जोडिएपछि ब्यवसायी दिपक मलहोत्राले कडा आपत्ति जनाउनु भएको छ । मलहोत्राले आज पत्रकार सम्मेलन गरी आपत्ति जनाएका छन । उनले सुन तस्करीको मुख्य अभियुक्तिलाई जोगाउने गरी पत्रकार सम्मेलनमार्फत झुटो समाचार प्रकाशन गरेकोमा माफी नमागे कानूनी बाटो समात्ने बताए । उनले थपे ‘पारिवारिक, सामाजिक र ब्यापारिक ख्याती वा प्रतिष्ठालाई समाप्त पार्ने उदेश्यसहित यो समाचार प्रकाशित गरिएको छ ।
समाचारले मेरो स्वाभिमान र अन्तस्करणमा चोट पुर्याउने र मर्माहत बनाउने काम भएको छ । यसप्रति खेद प्रकट गर्नु नागरिकका रुपमा मेरो कर्तब्य ठान्दछु,’ मलहोत्राले बताए, ‘माफी नमागे र खण्डन प्रकाशन नगरे कानूनी उपचारमा जान्छु ।’ उनले भने । ‘भन्सार जाँचपास भएर बाहिरिएको सुनमा मेरो तस्विर सहित समाचार प्रकाशित गरेको बिषयमा मेरो गम्भीरआपत्ति छ, यो बिषयमा मेरो कुनै संलग्नता नभएको र समाचार भ्रामक र कपोकल्पित रहेको प्रष्ट पार्न चाहन्छु ।’ मलहोत्राले तस्करीको बिषयमा आफूलाई मुछने काम आपराधिक मानसिकताको उपजका रुपमा ब्याख्या गरे ।
‘म र मेरो परिवारले ब्यक्तिगत रुपमा वा प्रत्यक्ष वा परोक्ष रुपमा अन्य ब्इक्तिलाई परिचालिन गरी कुनै पनि गैर कानूनी कारोवार गरेको छैन । प्रकाशित समाचारमा भनेजस्तै सुन आयात गर्न म संलग्न संस्थाबाट भुक्तानी पठाउने काम भएको छैन । मेरो कुनै संलग्नता छैन,’ मलहोत्राले भन्नुभयो, ‘पत्रिकामा नाम उल्लेख गरिएका कुनै पनि ब्यक्तिसँग मेरो सम्बन्ध वा कारोवार हुनु त परको कुरा, चिनजानसमेत छैन । तर प्रकाशित समाचारमा स्रोतको हवला दिँदै आफै कल्पना गरेर पत्रकारले मेरो नाम मुछेका छन । यसबाट समाचार लेख्ने पत्रकार र प्रकाशन संस्थाको नियत राम्रो नभएको देखिन्छ ।’