कोशीमा बाढी-पहिरो, एकको मृत्यु, २५ जना बेपत्ता



हाम्रो इकोनोमि

 

 

मनसुन सुरु भएसँगै परेको वर्षाका कारण पूर्वी नेपालका पहाडी जिल्लामा ठूलो क्षति भएको छ । शनिबार राति आएको बाढी र पहिरोमा परी २५ जना बेपत्ता भएका छन् । बाढीले ठूलो भौतिक तथा मानवीय क्षति भएको हुनसक्ने भए पनि विवरण आउन बाँकी रहेको सुरक्षा निकायका अधिकारीहरूले बताएका छन् । शनिबार राति संखुवासभाको हेवा खोलामा आएको बाढीमा मात्रै १६ जना बेपत्ता भएका छन् ।

चैनपुर नगरपालिका-४ स्थित हेवा खोलामा निर्माणाधीन जलविद्युत आयोजनामा १९ जना कार्यरत रहेकोमा १६ जना बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय संखुवासभाका डीएसपी वीरेन्द्र गोदारले जानकारी दिए । तीन जनाको भने उद्धार गरिएको छ । उद्धार गरिएका तीन जनालाई उपचारका लागि चैनपुर लगिएको छ । यस्तै, संखुवासभाको पाँचखपन नगरपालिका-५ मा एक जनाको शव भेटिएको कोशी प्रदेश प्रहरी कार्यालय विराटनगरका  प्रवक्ता ऋषिराम कँडेलले जानकारी दिए ।

 

पाँचथरमा ५ जना बेपत्ता, मेची राजमार्ग अवरुद्ध

शनिबार राति नै हेवा खोलामै आएको बाढीले पाँचथरको फिदिममा पाँच जना बेपत्ता भएका छन् भने पुलहरू बगेका छन् ।जिल्ला प्रहरी कार्यालय पाँचथरका डीएसपी हरि खतिवडाका अनुसार हेवा–१ जलविद्युत् आयोजनामा कार्यरत हिलिहाङ–७ का दिलकुमार तामाङ र फिदिम-१० का सन्जोग लोवा, फिदिम-४ माझीटारमा बोत्तल हाउस सञ्चालन गरेर बसेका आशिष, एलिसा माझी र फिदिम-४ हेवा खोलाबाट एक जना बेपत्ता भएका छन् । यस्तै, फालेलुङ-३ खोलाघारी सेपीमा पहिराले पुरेका एक बालकको सकुशल उद्धार भएको वडाध्यक्ष शक्ति केरुङले जानकारी दिए ।

बाढीले जिल्लाका पाँच वटा पुल बगाएको छ । मेची राजमार्गस्थित पाँचथर जिल्लाको फिदिम नगरपालिका-४ र हिलिहाङ गाउँपालिका-७ जोड्ने हेवाखोला पुलसमेत बगेको छ । पुल बगाएपछि मेची राजमार्ग पूर्णरूपमा अवरुद्ध बनेको डीएसपी खतिवडाले बताए । तमोर करिडोरको ‘बेलीब्रिज’ पनि बाढीले बगाएको छ । फालेलुङ गाउँपालिका–३ मच्छेबुङमा मोटरेबल पुल बगाएको छ । बाढीले याङ्वरक गाउँपालिका-३ र २ लगायत विभिन्न ठाउँमा ९ वटा घर बगेको जानकारी आएको प्रहरीले जनाएको छ ।

 

ताप्लेजुङको पहिरोमा ४ जना बेपत्ता

ताप्लेजुङमा पहिरोमा पुरिएर एकै परिवारका तीन जनासहित चार जना बेपत्ता भएका छन् । गएरातिको पहिरोमा पुरिएर सिदिङ्वा गाउँपालिका-६ मेहेलेमा यादव बुढाथोकीकी श्रीमती भागीमाया, बुहारी सन्ध्या र नाती प्रज्ज्वल बेपत्ता भएका हुन् । सोही स्थानका गणेश तामाङ पनि बेपत्ता भएको प्रहरीले जनाएको छ । जिल्ला प्रहरी कार्यालय ताप्लेजुङका डीएसपी राजन लिम्बुका अनुसार वेपत्ता भएका चारै जनाको खोजीकार्य जारी छ ।

गएराति ताप्लेजुङमा भारी वर्षा भएको थियो । बाढीले दोभान, ढुंगे साँघु लगायतका क्षेत्रमा कटान भएको र केही स्थानमा सडकसमेत अवरुद्ध भएको प्रारम्भिक विवरण आएको प्रहरीले जनाएको छ । प्रहरीका अनुसार क्षतिको पूर्ण विवरण संकलनको काम जारी छ । बिहीबार राति पनि वर्षा र बाढीले सदिङ्वा र सिरिजंगामा क्षति पुर्‍याएको थियो । बाढी पहिरोले सुरुमखिम-खेवाङ-याम्फुदिन जोड्ने मोटरेबल पुलको एकातर्फको भाग भत्काएको थियो भने काबेली हाइड्रो पावरको गोदाममा राखिएका सामान बगाएको थियो । कञ्चनजंघा मावि, याम्फुदिन प्रहरी चौकी र स्थानीयका केही घर जोखिममा छन् ।

प्रतिक्रिया दिनुहोस
पत्रकार टेकराज थामीलाई मरणोपरान्त पत्रकारिता पुरस्कार प्रदान

    क्रियासिल पत्रकार मञ्च भक्तपुरले बिभिन्न व्यक्तिहरुलाई पत्रकारिता पुरस्कार एवं सम्मान प्रदान...

बुढीगण्डकी बाढीले ६ वटा पुल बगायो, १० जना सम्पर्कविहीन

    बूढीगण्डकी बाढीले ६ वटा पुल बगाएको छ भने कम्तीमा १० जना...

बूढीगण्डकी बाढीले आरुघाट-धादिङ जोड्ने पुलपनि बगायो

    बूढीगण्डकी नदीमा आएको भीषण बाढीले आरुघाट र धादिङ जोड्ने मोटरेबल पुल...

बूढीगण्डकी बाढीले दुई झोलुङ्‍गे र एउटा फलामको पुल बगायो

    गोरखा बूढीगण्डकीमा आइतबार बिहान आएको आकस्मिक बाढीले दुई वटा झोलुङ्गे पुल...