रासायनिक मलमा अनुदान घटाउँदै सरकार



हाम्रो इकोनोमि

 

 

सरकारले किसानलाई मलमा दिँदै आएको अनुदान घटाउने भएको छ । औसतमा ७५ प्रतिशतको अनुदानलाई ५० प्रतिशतमा झार्न लागिएको हो । अर्थ मन्त्रालयले कृषि मन्त्रालयलाई पटक-पटक ताकेता गरेर रासायनिक मलमा अनुदान घटाउन भनेको हो । अन्तर्राष्ट्रिय बजारमा मलको मूल्य बढ्दै जाँदा सरकारका दायित्व पनि बढेको भन्दै ५० प्रतिशतमा झार्न लागिएको अर्थ मन्त्रालयले जनाएको छ ।

‘मूल्य महँगो पर्दा सरकारको दायित्व बढेको बढेयै भयो । मल पनि समयमै ल्याउन सकेको छैन । जनता र सरकारको ५०/५० प्रतिशत रकम मलमा पर्दा दुबै पक्षलाई मार नहुने देखेर अनुदान घटाउन भनेका छौं’, अर्थ स्रोतले भन्यो । उनका अनुसार यो विषय प्रत्यक्ष जनतासँग जोडिएकाले नेताहरुले ज्यादा राजनीतिकरण गर्छन् । लागत बढ्दै जाँदा मल आपूर्तिमा सरकारी लगानी थेग्नै नसक्ने अवस्थामा पुगेको उनको दाबी छ ।

लागत बढेपछि किसानलाई पनि त्यसको हिस्सेदार बनाउने गरी अनुदान कटौती गर्नेबारे छलफल भएको कृषि तथा पशुपन्छी विकास मन्त्रालयले पनि जनाएको छ । मलको मूल्य तोक्न कृषि विकासतर्फका सचिवको संयोजकत्वमा मल संयन्त्र उच्चस्तरीय समिति बनेको छ । सोही समितिले यसबारे निर्णय गर्नेछ । सरकारले विगत सात वर्षमा मलमा १ खर्ब बढी अनुदान दिएको कृषि मन्त्रालयको तथ्यांक छ ।

 

कुन मलमा कति छ अनुदान ?

 

कृषि सामग्री कम्पनी लिमिटेडका प्रवक्ता विष्णु पोखरेलले अनुदानको प्रतिशत अन्तर्राष्ट्रिय मूल्यअनुसार थपघट हुने गरेको बताए । उनका अनुसार हाल युरिया मलमा ८० प्रतिशत अनुदान छ । डीएपीमा ६८ प्रतिशत छ । त्यस्तै पोटासमा ६७ प्रतिशत अनुदान पुगेको छ ।

औसतमा ७५ प्रतिशत हुने उनले बताए । अन्तर्राष्ट्रिय मूल्य जति नै तलमाथि भए पनि किसानले तिर्ने मूल्य भने निश्चित छ । बढेको मूल्यको भार सरकारले व्यहोर्दै आएको प्रवक्ता पोखरेलको भनाइ छ । कृषि सामग्रीले चालू आर्थिक वर्ष २०/२० हजार मेट्रिक टन युरिया र डीएपी मल आयातको लागि सम्झौता भइसकेको जनाएको छ ।

यस्तै थप ३० हजार युरिया मलका लागि भने फागुन २२ मा सम्झौता गरिएको पोखरेलले बताए । सरकारले बजेटमार्फत चालु आर्थिक वर्षमा १५ अर्ब रुपैयाँ अनुदानको मललाई छुट्याएको थियो । सरकारले २३ अर्ब ५० करोड रुपैयाँको स्रोत सुनिश्चित गरेको छ । योसँगै चालू आर्थिक वर्ष ३ लाख २९ हजार मेट्रिक टन आयात गर्न ३८ अर्ब ५० करोड रुपैयाँ सरकारको ढुकुटीबाट जाँदैछ ।

 

सात वर्षमा अनुदानको मलका लागि विनियोजित रकम

सात वर्षमा सरकारले मल अनुदानका लागि मात्र १ खर्ब ३ अर्ब ३२ करोड विनियोजन गरेको छ । हरेक वर्ष अनुदान रकम बढ्दै गएको तथ्यांकले देखाउँछ । चालू वर्ष ३ लाख २९ हजार मेट्रिक टन मल आयातको लक्ष्य लिएको सरकारले हालसम्म १ लाख ६० हजार मेट्रिक टन मल आयात गरेको कृषि मन्त्रालयले जनाएको छ ।

चालू आवको धान सिजनका लागि थप ७ अर्ब ७३ करोड स्रोत सुनिश्चित गर्न अर्थमा कृषिले पत्राचार गरेको थियो । फागुन ८ गते स्रोत सुनिश्चितको जानकारी आएको कृषि मन्त्रालयले जनाएको छ । यसको खरिद प्रक्रियासमेत अगाडि बढाइएको छ ।

 

स्रोतः कृषि मन्त्रालय

 

हालसम्म रासायनिक मलको आपूर्तिलाई विश्लेषण गर्दा कुल वार्षिक आयातको ८८ प्रतिशत हिस्सा अनुदानको मलकै देखिन्छ । माग र खपतको अवस्थालाई विश्लेषण गर्दा यो वर्ष ५ लाख २० हजार मेट्रिक टन माग रहने प्रक्षेपण कृषि मन्त्रालयको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...