विमान दुर्घटना जाँच आयोगले काम सुरु गर्‍यो



हाम्रो इकोनोमि

 

 

पोखरामा आइतबार बिहान भएको यती एयरलाइन्सको विमान दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन गठित ‘विमान दुर्घटना जाँच आयोग’ले काम सुरु गरेको छ । दुर्घटना जाँच आयोगले आजदेखि काम सुरु गरेको नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का प्रवक्ता जगन्नाथ निरौलाले जानकारी दिए । उनका अनुसार विमानको ‘ब्ल्याक बक्स’ आज बिहान भेटिएको छ । ब्ल्याक बक्स आयोगलाई बुझाइसकिएको छ ।

ब्ल्याक बक्स विमान दुर्घटनाका कारण पत्ता लगाउन महत्वपूर्ण मानिन्छ । ब्ल्याक बक्समा ‘फ्लाइट राडर रेकर्ड’ र ‘ककपिट भ्वाइ रेकर्ड’ हुन्छ । सरकारले आइतबार दुर्घटनामा परेको यती एयरलाइन्सको विमानको दुर्घटनाको सत्यतथ्य पत्ता लगाउन पाँच सदस्यीय जाँच आयोग गठन गरेको थियो । आयोगको संयोजकमा पूर्वसचिव नागेन्द्र घिमिरे रहेका छन् ।

साथै सदस्यमा हवाई विज्ञद्वय दीपकप्रकाश बास्तोला (अवकाशप्राप्त उपरथी) र सुनिल थापा (अवकाशप्राप्त क्याप्टेन) तथा हवाई मर्मत इञ्जिनियर एकराजजङ्ग थापा छन् । आयोगको सदस्यसचिवमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सहसचिव बुद्धिसागर लामिछाने छन् । दुर्घटनाका कारण पहिचान गर्न र आगामी दिनमा त्यस्ता दुर्घटना दोहोरिन नदिनका लागि अपनाउनुपर्ने सुझावसहितको प्रतिवेदन दिन आयोग गठन गरिएको हो । आयोगलाई ४५ दिनको समयावधि तोकिएको छ ।

आयोगले दुर्घटनाका कारण पहिचान गर्नुका साथै आगामी दिनमा त्यस्ता दुर्घटना हुन नदिनका लागि गर्नुपर्ने कार्यका लागि सुझावसहितको प्रतिवेदन पेस गर्ने जिम्मेवारी दिइएको छ । गैरसैनिक हवाई उडान दुर्घटना जाँच नियमावली, २०७१ बमोजिम दुर्घटना जाँच आयोग गठन गरिएको हो ।

विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध छौँ : यती एयरलाइन्स

 

यसैबीच यती एयरलाइन्सले आइतबार पोखरामा भएको विमान दुर्घटनामा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको छ । एयरलाइन्सले आज एक सूचना जारी गरी माघ १ गते आइतबार बिहान काठमाडौंबाट पोखरातर्फ उडेको यती एयरलाइन्सको ९ एन–एएनसी एटिआर–७२–५०० वायुयान सेती नदीको खोँचमा दुर्घटनाग्रस्त हुँदा भएको मानवीय क्षतिप्रति स्तब्ध भएको जनाएको हो । सो एयरलाइन्सले अकल्पनीय दुर्घटनामा परी दिवङ्गत हुनुभएकाप्रति भावपूर्ण श्रद्धाञ्जलि अर्पण गर्दै मृतक आत्माको चीरशान्तिको कामना गर्नुका साथै शोकाकुल परिवारजनप्रति हार्दिक समवेदना प्रकट गरेको छ । दुःखद् घडीमा एयरलाइन्सले शोकाकुल परिवार, इष्टमित्र, साथीभाइ तथा आफन्तजनमा भगवानले धैर्यधारण गर्ने शक्ति प्रदान गरुन् भन्ने कामनासमेत गरेको छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...