सभामुखमा एमालेबाट पीएससहित तीनको चर्चा



 

 

नेकपा एमालेले सभामुखमा कसलाई उम्मेदवार बनाउने भन्ने निर्णय गर्न सचिवालय बैठक बोलाउने भएको छ । सभामुख निर्वाचनका लागि माघ ५ गतेको मिति तोकिएको छ । संसद सचिवालयले माघ ३ गते निर्वाचन कार्यतालिका सार्वजनिक गर्दैछ । सत्ता साझेदार दलहरुबीच मन्त्रिपरिषद विस्तारको भागबन्डा टुंगिएपछि सभामुखको उम्मेदवारबारे छलफल गर्न पार्टीको बैठक बोलाइने एक नेताले बताए । यद्यपि कसलाई सभामुख बनाउने भन्नेबारे अध्यक्ष केपी शर्मा ओलीको प्रस्ताव नै निर्णायक हुनेछ ।

उपाध्यक्ष तथा संविधानसभा अध्यक्ष सुवास नेम्वाङले आफू सभामुख नबन्ने जानकारी गराइसकेकाले अरु नाममा छलफल भइरहेको छ । यसपटक सभामुखमा उपमहासचिव पृथ्वीसुब्बा गुरुङ र सचिव छविलाल विश्वकर्माको सशक्त दाबी देखिएको छ । गुरुङले प्रतिनिधिसभामा निर्वाचित पार्टीका पदाधिकारीमध्ये चौथो वरियतामा आफू रहेकाले सभामुख बन्न पाउनुपर्ने बताएका छन् । अध्यक्ष ओली प्रधानमन्त्री र उपाध्यक्ष नेम्वाङ क्रमशः प्रधानमन्त्री र राष्ट्रपतिका दाबेदार भएको तथा अर्का उपाध्यक्ष विष्णु पौडेल सरकारको नेतृत्व गरेर गएकाले सभामुखमा आफू दाबेदार भएको उनको भनाइ छ ।

गुरुङपछि एमालेका पाँचजना सचिव चुनाव जितेर आएका छन् । तीमध्ये सभामुखमा छविलाल विश्वकर्माको दाबी छ । रुपन्देही १ बाट घनश्याम भुसाललाई पराजित गरेका विश्वकर्मालाई सभामुख बनाउन नेम्वाङले नेतृत्वलाई सुझाव दिएको बताइन्छ । छविलाल बने भने दलित समुदायतबाट देशको संवैधानिक उच्च पदमा पुग्ने पहिलो व्यक्ति बन्नेछन् । प्रतिनिधिसभामा दलित समुदायबाट प्रत्यक्ष चुनाव जितेर आउने पनि छविलाल एकमात्र सांसद हुन् ।

गुरुङले सभामुखमा बलियो दाबी गरेपछि पार्टी नेतृत्व दबाबमा परेको छ । उनी रवि लामिछाने उपप्रधानमन्त्री र गृहमन्त्री भइसकेकाले लामिछानेभन्दा तलको वरियतामा मन्त्री बन्न अनिच्छुक छन् । त्यस्तै एमालेबाट अब पाइने मन्त्रालयमा पदाधिकारीभन्दा तलका सांसद पठाइने देखिएकाले पनि गुरुङले सभामुख दाबी गरेका हुन् ।

सत्ता साझेदारी गर्ने क्रममा एमाले र माओवादीबीच सभामुखमा पनि आलोपालो गर्ने भनिएकाले पृथ्वीसुब्बा हुँदा प्रचण्डले उनलाई पाँचै वर्ष मान्ने सम्भावना भएकाले पनि गुरुङको दाबीले नेतृत्व दबाबमा परेको हो । गण्डकीको मुख्यमन्त्री भइसकेका गुरुङसँग एकपटक पर्यटनमन्त्री भइसकेको अनुभव छ । त्यस्तै विश्वकर्मासँग एकपटक कृषिमन्त्री भएको अनुभव छ ।

यी दुई नेताको दाबी सभामुखमा रहेका वेला तेस्रो नाम बालकोटबाटै चुहिएको छ । उनी हुन्, स्थायी कमिटी सदस्य देवराज घिमिरे । झापा २ बाट निर्वाचित घिमिरेको प्रतिनिधिसभामा यो डेब्यु हो । उनी यसअघि एकपटक राष्ट्रियसभा सदस्य भएका थिए । पार्टी राजनीतिमा उनी अहिले पदाधिकारी नरहे पनि एमालेको निरन्तरतामा भने गुरुङ र विश्वकर्माभन्दा सिनियर हुन् । घिमिरे २०४९ मा सम्पन्न एमालेको महाधिवेशनबाट वैकल्पिक केन्द्रीय सदस्य बनेका थिए । गुरुङ २०५४ को छैटौं महाधिवेशनबाट केन्द्रीय कमिटीमा आएका थिए ।

घिमिरेले २०५३ मा महाकाली सन्धि विवादको वेला एमाले केन्द्रीय कमिटीमा मतदान हुँदा अध्यक्ष मनमोहन अधिकारी बिरामी परेर अस्पताल भर्ना भएकाले उनको साटो मतदान गरेका थिए । तीनै जना आकांक्षी अध्यक्ष ओलीका सदाबहार सहयोगी भएकाले निर्णय गर्न कठिन भएको अनुमान छ । कतिपयले यसअघि उपसभामुखमा उम्मेदवार बनेकी विद्या भट्टराईको नाम पनि लिएका छन् । तर, उनी पहिलो वा दोस्रो चरणमा मन्त्री बन्ने बढी सम्भावना रहेको बताइन्छ ।

प्रतिक्रिया दिनुहोस
तथ्य र प्रमाणको आधारमा छिमेकीसँग आई टु आई कुरा गर्छौँं : ईश्वर पोखरेल

    नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले तथ्य र प्रमाणको आधारमा छिमेकीसँग

एमाले छाडेर कतै जाने सोचविचार गरेको छैन : भीम रावल

    एमालेमा असन्तुष्ट रहेका पूर्वउपाध्यक्षसमेत रहेका नेता भीम रावल पनि एकीकृत समाजवादीमा

पार्टीले गरेको कार्य विभाजन चित्त बुझेन : झलनाथ

     नेकपा एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले पार्टीका नेताहरूको कार्य विभाजनप्रति

सार्वजनिक ऋण २४ खर्ब ९२ अर्ब पुग्यो

  सार्वजनिक ऋणको दायित्व बर्सेनि वृद्धि भएसँगै उक्त ऋणको साँवा ब्याज भुक्तानी खर्च