शेखर, विश्वप्रकाश र प्रदीपको गगनलाई समर्थन, यस्तो छ अकंगणित



हाम्रो इकोनोमि

 

 

चरण-चरणको छलफलपछि प्रधानमन्त्री एवं सभापति शेरबहादुर देउवाविरुद्ध संसदीय दलको नेतामा उम्मेदवारी दिन संस्थापनइतरमा सहमति जुटेको छ । शेखर-गगन समूहबाट  महामन्त्री गगन थापाले उम्मेदवारी दिएका छन् । सोमबार र मंगलबार भएको छलफलपछि शेखरको समर्थनमा गगन थापालाई अघि सार्ने टुंगो लागेको हो ।  नेपाली कांग्रेसको संसदीय दलको नेतामा गगन थापा एकाएक बलियो पोजिसनमा पुगेका छन् । उता  कृष्णप्रसाद सिटौला समूहका एकमात्र सांसद प्रदीप पौडेलसमेत गगनको पक्षमा खुलेपछि उनी थप बलियो भएका हुन् । दलको नेतामा शेखर कोइराला प्रस्तावक बन्दा विश्वप्रकाश शर्मासँगै प्रदीप पौडेल पनि समर्थक बसेका छन् ।

१४औं महाधिवेशनमा शेखरको नेतृत्वमा प्यानल बनाएर लडेको इतर समूहले १५औं महाधिवेशनसम्म आफूहरू एकढिक्का हुनुपर्ने दबाब दिँदै एकजनामात्र उभ्याउने गरी नेताहरूलाई दबाब दिएका थिए । पार्टीका सहमहामन्त्री जीवन परियारले दुईमध्ये एकजना ब्याक भएर गुट जोगाउन आफूहरूले दबाब दिएको बताए । इतर समूह फुटाउन केही लागेको भन्दै त्यस्ताका विरुद्ध एक ढिक्का बन्नुपर्ने उनको भनाइ थियो ।

गगन कति बलिया ?

चुनावअघिदेखि नै गगन थापाले संसदीय दलको नेता लड्न तयारी थालिसकेको बताएका थिए । सुरूमा केही संकेत नगरेका शेखरले पनि पछिल्लो समयमा आकांक्षा देखाए । यसरी इतर समूहमै दुई दावेदार हुँदा देउवालाई प्रतिस्पर्धा सहज बनेको थियो । तर, अब शेखरको समर्थनपछि गगनको मनोबल बढेको छ ।

के शेखरको समर्थनप्राप्त गगनले देउवालाई कडा चुनौती देलान् ? कांग्रेसको गणित हेर्दा अहिले पनि देउवा नै बलिया देखिन्छन् । यदि शेखर समूह एक ढिक्का भएर गगनलाई भोट हाल्यो भने पनि उनले जित्न सहज छैन । तर, गोप्य मतदान भएकाले ‘जे पनि हुन सक्ने’ गगन थापा पक्षका नेताहरू बताउँछन् ।

आजको बैठकमा ३८ जना सांसद उपस्थित भएको इतर समूहका नेताको भनाइ छ । कांग्रेस संसदीय दलको चुनाव जित्न ४५ जनाको समर्थन चाहिन्छ । आफ्नो समूहको एक ढिक्का भोट र संस्थापन समूहबाट पनि केही भोट ल्याएर ‘चमत्कारिक जित’ हासिल गर्ने अपेक्षामा गगन थापा छन् ।

तर, संस्थापन पक्षका नेताहरू भने इतर समूहकै सबैले गगनलाई भोट नहाल्ने दाबी गर्छन् । ‘उमेर र राजनीतिक अनुभवले पाका नेताहरू गगनलाई प्रधानमन्त्रीको कुर्सीमा देख्न चाहँदैनन्,’ एक नेताले भने, ‘फराकिलो अन्तरलले देउवा संसदीय दलको नेता बन्ने निश्चित छ ।’

त्यसो भए के संस्थापन पक्षका युवाहरूले चाहीँ देउवालाई समर्थन गर्लान् त ? जस्तो कि प्रदीप पौडेलले आफू परिवर्तनको पक्षमा रहेको बताउँदै आएका छन् । के उनी र उनीजस्ता नेताहरू गगनको पक्षमा खुल्लान् । स्रोतले त्यो सम्भावना पनि क्षीण रहेको बतायो ।

देउवाले भने सांसदको टिकट वितरणमै संस्थापनइतर समूह आफूमाथि हाबी हुन नसक्ने गरी सन्तुलन मिलाएका छन् । गठबन्धनबाट ९१ सीटमा उम्मेदवारी दिएको कांग्रेसले ५७ सीट जितेको छ । संस्थापन पक्षबाट ५० जनाले उम्मेदवारी दिँदा २९ जनाले जितेका छन् । शेखर-गगन समूहबाट २२ जनाले उम्मेदवारी दिँदा १८, रामचन्द्र-शशांक समूहबाट ६ र प्रकाशमान समूहबाट ४ जनाले चुनाव जितेका छन् ।

 

प्रतिक्रिया दिनुहोस
आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...

मोहन डाँगीको नेतृत्वमा इप्पानमा नयाँ कार्यसमिति निर्विरोध

    उर्जा उत्पादकहरुको संस्था (इप्पान)मा नयाँ कार्यसमिति चयन भएको छ । यसअघि...

काभ्रेमा बस दुर्घटना, ७ जनाको मृत्यु

   बीपी राजमार्ग अन्तर्गत काभ्रेको बुच्चाकोटमा यात्रुवाहक बस दुर्घटनामा परेको छ । दुर्घटनामा...

भदौको भन्दा सशक्त आन्दोलन गर्छौँ : महेश बस्नेत

     नेकपा एमालेको सचिव महेश बस्नेतले बालेन शाह नेतृत्वको सरकार ढाल्ने गरी...