नवनिर्वाचित संसदलाई शपथ गराउने तयारी



हाम्रो इकोनोमि

 

 

संघीय संसद् सचिवालय प्रतिनिधिसभाका नवनिर्वाचित सदस्यलाई शपथ दिलाउन गृहकार्यमा जुटेको छ । नवनिर्वाचितमध्ये ज्येष्ठ सदस्यलाई राष्ट्रपतिबाट शपथ दिलाएपछि अरु सदस्यलाई पद तथा गोपनीयताको शपथ दिलाइनेछ । ज्येष्ठ सदस्य पहिचानका लागि सचिवालयले यसअघि नै विवरण खुलाइ पठाइदिन निर्वाचन आयोगलाई पत्रचार गरिसकेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले यही पुस १० गतेभित्र प्रधानमन्त्रीका लागि दाबी पेश गर्न सात दिनको समय दिएर आह्वान गरिसकेकी छन् । हाल नवनिर्वाचित सदस्यमध्ये चित्रबहादुर केसी, महन्थ ठाकुर, महेन्द्रप्रसाद यादव र पशुपति शमशेर जबराको उमेर यकिन गर्नुपर्ने देखिएको छ ।

कुनै सदस्यले मातृभाषामा शपथ लिन चाहेमा शपथको तीनदिनअघि शपथ पत्रमा उल्लेख हुने विवरण तत् तत् भाषामा उल्था गरी त्यससम्बन्धी जानकारी संसद् सचिवालयलाई दिनुपर्नेछ । सचिवालय प्राप्त तथ्याङ्कअनुसार, प्रतिनिधिसभा सदस्य २०७४ को निर्वाचनपछि करिब ४६ सदस्यले नेपालीबाहेकका ११ मातृभाषामा शपथ लिएका थिए । उनीहरुले मैथिली, थारु, भोजपुरी, मगर, हिन्दी, अवधि, नेपालभाषा, बञ्जिका, नेवारी, उर्दू, तामाङ भाषामा शपथ लिएका थिए ।

सचिवालयले शपथसँगै नवनिर्वाचित सदस्यलाई संघीय संसद्को प्रतीक चिह्न (लोगो) प्रदान गर्नेछ । सुन, चाँदी र तामा जडित प्रतिलोगो करिब रु पाँच हजार आठ सयको लागतमा तयार भएको हो । शपथ दिलाउने दिन हालसम्म यकिन भइनसके पनि आगामी पाँच दिनभित्रै त्यो समारोह नयाँ बानेश्वरस्थित संसद् भवनमा हुनेछ ।

सोही समारोहमा सदस्यलाई नेपाली उत्पादन अल्लोको झोलासहित नेपालको संविधान, डायरी, कलम, संसद्सम्बन्धी नियमावली, निर्देशिका, अन्य प्रकाशन उपलब्ध गराइने सचिवालयका प्रवक्ता डा रोजनाथ पाण्डेले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस
रास्वपा सभापति लामिछाने र प्रधानमन्त्री शाहबीच भेटवार्ता

    प्रधानमन्त्री वालेन्द्र शाह र सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति...

४३ अंक घट्यो सेयर बजार

    साताको पहिलो कारोबार दिन सोमबार सेयर बजार ४३.८९ अंक घटेको छ...

बाढीपीडितका लागि नेपाल इन्भेष्टमेण्ट मेगा बैंकको ४ करोड १ लाख सहयोग

    नेपाल इन्भेष्टमेण्ट मेगा बैंकले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित...

इन्टरनेट कनेक्सनको म्याद सकिएका बाढी प्रभावित ग्राहकलाई सुबिसुले थप ७ दिन सेवा दिने

    भोटेकोशीमा आएको भीषण बाढीका कारण इन्टरनेट सेवा प्रभावित भएका ग्राहकलाई सुबिसुले...