महन्थ ठाकुर र सीके राउत लाई फकाउँदै देउवा



 

मंसिर ४ गते सम्पन्न चुनावको मतगणना अन्तिम चरणमा पुगेको छ । हाल प्राप्त मतको आधारमा दलहरुले संघ तथा प्रदेशमा नयाँ सरकार गठनका लागि छलफल सुरु गरेका छन् । नेपाली कांग्रेसका सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवाले दलहरुसँग अनौपचारिक छलफल थालेका छन् । गठबन्धनमा रहेका दल तथा त्यसबाहिर रहेका दलका नेताहरुसँग उनले बालुवाटारमा छुट्टाछुट्टै छलफल गरेका छन् ।

चुनाव जितेपछि विजयोत्सव मनाइरहेका लोकतान्त्रिक समाजवादी पार्टी नेपालका अध्यक्ष महन्थ ठाकुर र जनमत पार्टीका अध्यक्ष सीके राउतलाई प्रधानमन्त्री देउवाले काठमाडौं बोलाएर छलफल गरेका हुन् । सत्ता गठबन्धनलाई बहुमत जुटाउन केही सिट अपुग देखिन्छ । सत्ता गठबन्धनमा रहेका कांग्रेस, माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, राष्ट्रिय जनमोर्चा र लोसपाबाहेक पनि केही सिट आवश्यक परेपछि प्रधानमन्त्री देउवाले छलफल थालेका हुन् । यस क्रममा उनले जनमत पार्टीका प्रमुख सीके राउतलाई प्राथमिकता दिएको देखिन्छ ।

बहुमतका लागि प्रतिनिधिसभामा कम्तीमा १३८ सांसदको समर्थन आवश्यक हुन्छ । हाल प्राप्त मत परिणाम अनुसार सत्ता गठबन्धनमा रहेका दलमध्ये कांग्रेसले ५४ (१ अग्रता), माओवादी केन्द्रले १७, नेकपा एकीकृत समाजवादीले १०, लोसपाले ४ र राष्ट्रिय जनमोर्चाले १ सिट जितेका छन् । गठबन्धनको जम्मा प्रत्यक्ष मत ८६ हुन्छ । हालसम्मको मतपरिणामअनुसार सत्ता गठबन्धनमा रहेका दलहरुले समानुपातिकतर्फ बढीमा ४६ सिट प्राप्त गर्ने देखिएको छ । प्रत्यक्ष र समानुपातिक गरी सत्ता गठबन्धनसँग १३२ सांसद पुग्ने देखिन्छ ।

सरकार बनाउन सत्ता गठबन्धनसँग ६ सिट अपुग छ । सीके राउतसँग एक सिट प्रत्यक्ष र समानुपातिक पाँचसहित ६ सिट छ । त्यही भएर सीके राउतलाई सत्ता गठबन्धनमा भित्र्याउन प्रयास भइरहेको छ । उता, नागरिक उन्मुक्ति पार्टी गठन गरेका रेशम चौधरीलाई पनि सत्ता गठबन्धनमै तान्ने प्रयास भइरहेको छ । नागरिक उन्मुक्ति पार्टीसँग माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले छलफल गरेका छन् । यता, स्वतन्त्रबाट जितेका प्रभु साह, किरण साह र डा.अमरेश सिंहलाई पनि सत्ता गठबन्धनले आफ्नो पक्षमा राखेर हिसाब गरिरहेको छ तर हालसम्म प्रभु साहले यस विषयमा केही बोलेका छैनन् ।

महन्थ ठाकुर र सीके राउतले मधेस प्रदेश सरकारका लागि गठबन्धनसँग बार्गेनिङ गरिरहेको बुझिएको छ । दुवैजनाले मधेस प्रदेश सरकारको नेतृत्व माग गरिरहेका छन् । सीके राउत नेतृत्वको पार्टीको भूमिका प्रदेश तथा केन्द्र सरकार गठनमा निर्णायक भएको कारण नै सो पार्टीले बार्गेनिङको रफ्तार बढाएको छ । सो पार्टी संघ तथा प्रदेश सरकारमा जाने पक्षमा देखिन्छ । सोही अनुसार सीके राउतले आफ्ना माग सत्ता गठबन्धनसमक्ष अनौपचारिक रुपमा राखिसकेको बताइन्छ ।

जनमत पार्टीका अध्यक्ष राउत भन्छन्, ‘छलफल सबैसँग भइरहेको छ, तर निष्कर्ष कसैसँग निस्केको छैन ।’ आफूहरुको मुद्दा र मागमा जसले सहमति जनाउँछ, त्यसलाई सहयोग गर्ने उनको भनाइ छ । आफूहरुको मागप्रति सहमति नजनाउनेसँग सरकारमा जान बाध्य नहुने उनले प्रस्ट पारे । सो पार्टीका महासचिव चन्दन सिंहले सरकार गठनका लागि औपचारिक छलफल कसैसँग सुरु नभएको बताए । विभिन्न दलका नेताहरु अनौपचारिक रुपमा सम्पर्कमा आएको र सोही अनुसार छलफल हुने गरेको उनको भनाइ छ । उनले भने, ‘डाक्टर साहब (सीके राउत) काठमाडौं जानुभएको छ, विभिन्न नेताहरुसँग अनौपचारिक भेटघाट र छलफल जारी छ, उहाँ फर्केपछि मात्र के प्रगति छ भन्ने थाहा हुन्छ ।’

प्रतिक्रिया दिनुहोस
प्रधानमन्त्री ओली अस्वस्थ

  प्रधानमन्त्री केपी शर्मा ओली बिरामी भएका छन्। प्रधानमन्त्री ओलीलाई सोमबार बेलुकीदेखि ज्वरो

राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी

  राजधानीको गौरीघाटमा छठपूजाका लागि तयारी भइरहेको छ ।  गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा

पोखरामा रास्वपाको प्रदर्शन

  सहकारी ठगी प्रकरणमा रास्वपाका सभापति रवि लामिछानेविरुद्ध अनुसन्धान चलिरहँदा समर्थकहरूले भने प्रतिशोधपूर्ण

फाइनल खेल हेर्न प्रधानमन्त्री ओली रंगशाला जाने

    प्रधानमन्त्री केपी शर्मा ओली आज हुने साफ महिला च्याम्पियनसिपको फाइनल खेल