पाहुना उम्मेदवार प्रदीपको अगाडी इश्वर पोखरेललाई सहज, यस्तो छ तथ्य
नेकपा एमालेका बरिष्ठ उपाध्यक्ष एवं पूर्वउपप्रधानमन्त्री इश्वर पोखरेलको निर्वाचन क्षेत्र काठमाडौं ५ मा चुनावी सरगर्मी ह्वात्तै बढेको छ । आसन्न प्रतिनिधि सभा निर्वाचन अन्तर्गत काठमाडौं क्षेत्र नम्बर ५ मा एमाले बरिष्ठ उपाध्यक्ष पोखरेलको पुनः उम्मेदवारी परेपछि मतदाता उत्साहित देखिएका छन । सो निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनले तनहुँका मतदाता प्रदीप पौडेललाई उम्मेदवार बनाएको छ । काठमाडौंका स्थानीय नेताभन्दा बाहिरबाट गठबन्धनले उम्मेदवार बनाएको कारण पोखरेललाई सहज बनेको आँकलन गरिएको छ ।
एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल यसअघिको प्रतिनिधि सभा निर्वाचनमा यही निर्वाचन क्षेत्रबाट विजयी हुनुभएको थियो भने पौडेल तनहुँमा नेकपा माओवादी केन्द्रकी आशा कोइरालासँग पराजित हुनुभएको थियो । हालसम्म काठमाडौं ५ का लागि कुनै काम नगर्नुभएका पौडेल यसपटक पोखरेलका प्रतिस्पर्धीका रुपमा आउनु भएको छ ।
एमालेका प्रभावशाली नेता तथा नेपाली कांग्रेसका युवा नेताको प्रतिस्पर्धाले पनि यो निर्वाचन क्षेत्रको चुनावी सरगर्मी रोमाञ्चक बन्दै गएको छ । काठमाडौं–५ मा पोखरेल र पौडेलसँगै २८ जना उम्मेदवार प्रतिनिधि सभा सदस्यको उम्मेदवार रहेका छन । यस निर्वाचन क्षेत्रमा १४ दलगत उम्मेदवार र १४ जना स्वतन्त्र उम्मेदवार छन ।
काठमाडौं ५ मा एमालेका पोखरेल र गठबन्धनका पौडेलसँगै जसपाका भीमबहादुर मगर, राप्रपाका रामप्रसाद उप्रेती, नेमकिपाका शैलेश डंगोल, लोसपाका दानिन्द्र जोशी, मौलिक जरोकिलोका रामकृष्ण परियार, हाम्रो नेपाल पार्टीका मधुसुदन पाठक, नेपालका लागि नेपाली पार्टीका सागर खडका, नेश्नलिष्ट पिपल्स पार्टीका लवली थापा, नेकपा पुष्पलालका टिकमाया गुरुङ, नेपालवाद पार्टीका दिपककुमार शर्मा, एकीकृत शक्ति नेपालका दिपक सिंह, जनसमाजवादीका राजु बिष्ट र राष्ट्रिय स्वतन्त्र पार्टीका डा. प्रणय शमशेर राणा, लगायत दलगत उम्मेदवार चुनावी अभियानमा होमिएका छन ।
काठमाडौं ५ मा स्वतन्त्रका रुपमा श्रीराम गुरुङ, बिनिता अर्याल, बाबुराम पोखरेल, गोपिलाल न्यौपाने, सुशान्त श्रेष्ठ, कृष्णराज श्रेष्ठ, बिजय कँडेल, शान्तिराम पाण्डे, कुमार कोइराला, नारायण प्रसाद दाहाल, रञ्जु दर्शना न्यौपाने, शैलेन्द्र बस्नेत, हेमराज थापा र रमेश केसी उम्मेदवार हुनुहुन्छ । स्वतन्त्र उम्मेदवार रन्जु न्यौपाने (दर्शना), हेमराज थापा, सुशान्त श्रेष्ठले पनि काठमाडौं क्षेत्र नम्बर ५ मा राम्रो मत तान्न सक्ने स्थानीय बताउँछन् ।
२०७४ सालको निर्वाचनमा एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल २३ हजार २९ मत ल्याएर यो निर्वाचन क्षेत्रबाट निर्वाचित हुनुभएको थियो । उहाँले कांग्रेस नेता डा.प्रकाशशरण महतलाई ९ हजार ८६० मतले हराउनु भएको हो । महतले १३ हजार १६९ मत पाउनुभएको थियो । सोही कारण महत यसपटक काठमाडौं ५ मा जितिन्न उम्मेदवार बन्नुभएन ।
सो निर्वाचनमा तेस्रो स्थानमा विवेकशील साझा पार्टीका नेता उज्जवल थापाले ६ हजार ५५३ मत ल्याउनु भएको थियो । उहाँको कोभिड संक्रमणबाट गत वर्ष मृत्यु भएको छ । त्यस्तै नेमकिपाका वीरबहादुर डंगोलले ६३६ मत ल्याउनु भएको थियो ।
काठमाडौं–५ मा जित्ने ठोकुवा गर्दै आउनु भएका एमाले बरिष्ठ उपाध्यक्ष पोखरेल सदैव यही निर्वाचन क्षेत्रमा उम्मेदवार बन्दै आउनु भएको छ । जीते पनि हारे पनि पोखरेल काठमाडौं ५ नै रोज्नुहुन्छ । यो क्षेत्रको बिकाश र जनताको सुख दुखमा साथ दिने नै मेरो लक्ष्य हो, जनताले यसपटक पनि यही कुरालाई अनुमोदन गर्नुहुन्छ भन्नेमा पोखरेल ढुक्क देखिनुहुन्छ ।
यस्तै २०७४ को स्थानीय तह निर्वाचनमा काठमाडौं महानगरपालिकाको मेयरमा प्रतिस्पर्धा गरेर चर्चामा आएकी रञ्जु दर्शना यस पटक काठमाडौं–५ बाट संघीय संसदको उम्मेदवार बन्नुभएको छ । उहाँको उपस्थितिलाई पनि स्थानीयले महत्वका साथ लिएका छन् । उहाँ विवेकशील साझा पार्टी छाडेर स्वतन्त्रबाट चुनाव लडनु भएको हो । स्वतन्त्र उम्मेदवार हेमराज थापा पनि चुनावी अभियानमा सशक्त भएर लाग्नुभएको छ ।
काठमाडौं–५ मा मतदाताको संख्या ७० हजार ९१९ रहेका छन । २०७४ सालको निर्वाचनमा ६४ हजार ५५० मतदाता रहेकोमा यस पटक ६ हजार ३६९ मतदाता थपिएका छन् । थपिएका मतदातामध्ये २० देखि ४० वर्ष उमेर समूहका छन् ।
यो निर्वाचन क्षेत्रमा काठमाडौं महानगरको वडा नम्बर २, ३, ४ र ५ पर्छन् । यस्तै, बुढानीलकण्ठ नगरपालिकाको वडा नम्बर ३, ४, ५, ६ र ७ पर्छन । टोखा नगरपालिकाको वडा नम्बर २, ३, ४, ५, ६ र ७ यही क्षेत्रमा पर्छन् । बढी जनघनत्वका लाजिम्पाट, महाराजगञ्ज, बालुवाटार, हाडीगाउँ यो निर्वाचन क्षेत्रमा छन् ।
गत स्थानीय तह निर्वाचन नियाल्दा काठमाडौं महानगरको २,३, ४ र ५ नम्बर वडा (वडाध्यक्ष) मा एमाले विजयी भएको छ । बुढानीलकण्ठ नगरपालीकाको ३ मा स्वतन्त्र,४,५ कांग्रेस, ६ र ७ मा एमाले निर्वाचित भएको थियो । यस्तै टोखा नगरपालीकाको २,३,४,५ र ७ मा एमाले तथा ६ मा कांग्रेस विजयी भएको थियो ।
स्थानीय तहको निर्वाचनमा खसेको मतको तथ्यांक हेर्दा यस निर्वाचन क्षेत्रको वडामा एमालेको मत धेरै रहेको छ । एमालेका वडाअध्यक्षका उम्मेदवारले पाएको मत मात्र १९ हजार ७३ छ । यस्तै, कांग्रेसका वडाध्यक्षका उम्मेदवार १४ हजार ८५३ मत ल्याएका छन् । माओवादी केन्द्रको मत १ हजार १६८ र नेकपा एकीकृत समाजवादीको १ हजार ८२७ मत छ । यो निर्वाचन क्षेत्रमा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादीभन्दा राप्रपाको मत बढी छ । स्थानीय तह निर्वाचनमा राप्रपाले २ हजार ६२२ मत पाएको थियो ।
काठमाडौं ५ का मतदातासँग गरेको संवादको आधारमा यो क्षेत्रमा एमालेका पोखरेल निकै बलियो देखिनुभएको छ । यता पाहुना उम्मेदवार भन्दै प्रदीपलाई कांग्रेसकै मतदाताले समेत पत्याउन सकिरहेका छैनन । स्वतन्त्र उम्मेदवार पनि प्रदीपकै लागि खतरा बनेर उदाउन थालेका छन । कुनै बेला कांग्रेस महामन्त्री गगन थापाका सहयोगी हेमराज थापादेखि रञ्जु दर्शनासम्मले प्रदीपलाई नै टक्कर दिने अवस्था रहेको छ ।