गठबन्धनमा भाँडभैलो, यी निर्वाचन क्षेत्रमा खडा भए बागी उम्मेद्वार (सूचीसहित)
सत्ता गठबन्धनभित्र देशभरका दुई दर्जन बढी निर्वाचन क्षेत्रमा विद्रोह भएको छ । केन्द्रमा गरेको भगवण्डाको अवज्ञा गर्दै ससत्ता गठबन्धनभित्रका दलले एकले अर्काका विरुद्ध उमेद्वारी दर्ता गरेका छन् । देशभर बाट प्रापत विवरण अनुसार गुल्मीको २ बाट प्रतिनिधिसभा सदस्यका लागि गठबन्धनको साझा उम्मेदवार बनेकी नेकपा एसकी सचिव रामकुमारी झाँक्रीविरुद्ध कांग्रेस नेताले उम्मेदवारी दिएका छन् । कांग्रेस नेता डाक्टर दामोदर भुसालले झाँक्रीलाई अस्वीकार गर्दै स्वतन्त्र उम्मेदवारी दिनुभएको हो ।
उदयपुर क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका उम्मेदवारविरुद्ध कांग्रेस नेताले स्वतन्त्र उम्मेदवारी दर्ता गराएका छन् । कांग्रेसका क्षेत्रीय सभापति रामकुमार राईले प्रतिनिधिसभा सदस्यका लागि स्वतन्त्र उम्मेदवारी दर्ता गराएका हुन् । यो क्षेत्रमा गठबन्धनकातर्फ नेकपा एस नेता जगन्नाथ खतिवडाले उम्मेदवारी दिनुभएको छ ।
माओवादी अध्यक्ष पुष्पकमल दाहालले मनोनयन दर्ता गराउनु भएको गोरखा–२ बाट कांग्रेसकी माधवी भट्टले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । सत्यनिरूपण तथा मेलमिलाप आयोगकी पूर्वसदस्य भट्ट गोरखा निवासी हुनुहुन्छ । प्रचण्ड गोरखाका सोझासिधा जनतालाई ठग्न आएको भन्दै भट्टले उम्मेद्वारी दनुभएको छ । हरेक निर्वाचनमा क्षेत्र फेर्दै आउनु भएका प्रचण्ड यसपटक चितवन छाडेर गोर्खा जानुभएको हो ।
सिन्धुपाल्चोक १ मा पनि कांग्रेसका नेता रामकुमार जीसीले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । जीसी सुनकोसी गाउँपालिका–२ का इकाई सभापति हुन् । यहाँ गठबन्धनबाट माओवादीले पाएको माधव सापकोटा उम्मेदवार बन्नुभएको छ । सुर्खेत १ मा प्रतिनिधि सभाका लागि गठबन्धनका साझा उम्मेदवार कांग्रेस उपसभापति पूर्णबहादुर खड्काविरुद्ध बागी उम्मेदवारी परेको छ। नेकपा माओवादीका केन्द्रका मानसिंह ठकुरीले खड्काविरुद्ध बागी उम्मेदवारी दिनुभएको हो । खडका सम्पर्क समन्वय समितिको प्रदेश कमिटी सदस्य हुन् ।
सत्ता गठबन्धनभित्र काठमाडौं १० मा माओवादी केन्द्रले बागी उम्मेदवारी दिएको छ । काठमाडौं १० मा प्रतिनिधिसभा माओवादी पोलिटव्युरो सदस्य अञ्जना विशंखेले गठबन्धनका साझा उम्मेदवार कांग्रेसका राजन केसीविरुद्ध दिनुभएको छ ।
त्यस्तै प्रदेशतर्फ एक नम्बरमा दिलीप महर्जन र २ नम्बरमा गणेश कुँवरले उम्मेदवारी दिनुभएको छ । कांग्रेसबाट मोरङ ५ मा पनि बागी उम्मेदवारी परेको छ । कांग्रेसका सलिम अन्सारीले पनि मोरङ ५ मा स्वतन्त्रबाट उम्मेदवारी दर्ता गराउनु भएको छ । कांग्रेसले माओवादीसँग गठबन्धन गरेर माओवादीका निवर्तमान सांसद शिवकुमार मण्डललाई उम्मेदवार बनाएको छ ।
यस्तै बझाङमा पनि कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । गठबन्धनबाट एकीकृत समाजवादीका भानुभक्त जोशीविरुद्ध कांग्रेसका पूर्वसभापति हर्कजङबहादुर सिंहले बागी उम्मेदवारी दिनुभएको छ । खोटाङका प्रतिनिधि र प्रदेशसभा गरी तीन वटै क्षेत्रमा कांग्रेसबाट बागी उम्मेदवारी परेको छ । प्रतिनिधिसभाका लागि पूर्व सांसद सर्वधन राईले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
सुवासकुमार पोखरेल प्रदेश क र पूर्वउपसभापति धर्मराज पोखरेललाई प्रदेशसभाको ख मा उम्मेदवार दर्ता गराउनु भएको हो । सा क्षेत्रमा गठबन्धनबाट प्रतिनिधिसभामा माओवादी केन्द्रका नेता रामकुमार राई पासाङले उम्मेदवारी दिनुभएको छ ।प्रदेशसभामा क एकीकृत समाजवादीबाट वीरबल राई र ख मा कांग्रेसका भूपेन्द्र राईले उम्मेदवारी दिनुभएको छ । यस्तैकास्की २ मा पनि कांग्रेस नेता तथा पूर्व पर्यटन राज्यमन्त्री महादेव गुरुङले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ ।
कास्की क्षेत्र नम्बर २ मा गठबन्धनको तर्फबाट नेकपा एकीकृत समाजवादीका नेता श्रीनाथ बराल उम्मेदवार हुनुहुन्छ । यस्तै चितवन प्रतिनिधिसभा निर्वाचन क्षेत्र नम्बर ३ मा कांग्रेसका पूर्व सांसद जगन्नाथ पौडेलले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । चितवन– ३ मा कांग्रेस केन्द्रीय सदस्य दिनेश कोइरालाले पनि बागी उम्मेदवारी दिनुभएको छ ।
कांग्रेस रुकुम पश्चिमका तीन वटै क्षेत्रमा माओवादीले पाएपछि कांग्रेस दुवै प्रदेशसभा निर्वाचन क्षेत्रमा बागी उम्मेदवारी दिएको छ । प्रदेशसभा ‘क’ मा कृष्णबहादुर रोकाय र प्रदेश सभा ‘ख’ मा प्रेमप्रकाश ओलीले उम्मेदवारको मनोनयन दर्ता गराउनु भएको हो । सो जिल्लाका तीनवटै निर्वाचन क्षेत्रमा माओवादी केन्द्रले उम्मेदवारी दिएको छ ।
भोजपुरमा मुख्यमन्त्री राजेन्द्र राईविरूद्ध कांग्रेस नेता उत्तम चापागाईं बागी उम्मेदवार बन्नुभएको छ । भोजपुर प्रदेशसभा क मा एकीकृत समाजवादीबाट प्रदेश १ का मुख्यमन्त्री राई गठबन्धनका साझा उम्मेदवार बनेपछि चापागाईंले बागी उम्मेदवारी दर्ता गराउनु भएको हो । कपिलवस्तु १ मा कांग्रेसका नेता ललित गुरुङले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनु भएको छ । माओवादी सचिव चन्द्रप्रकाश खनाल बलदेवविरुद्ध गुरुङले उम्मेदवारी दर्ता गर्नुभएको छ ।
कांग्रेसले पर्सा १ लोसपालाई छाडेपछि कांग्रेस नेता अजय द्विवेदीले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ । गठबन्धनको तर्फबाट पर्सा –१ को प्रतिनिधिसभा सदस्यमा लोसपाका नेता लक्ष्मणलाल कर्ण उम्मेदवार बन्दा उहाँले बागी बनर उम्मेदवारी दिनुभएको हो । यस्तै जनमोर्चाको विद्रोह र एकीकृत समाजवादीबाट पनि विद्रोह भएको छ । राष्ट्रिय जनमोर्चाले अर्घाखाँचीमा गठबन्धनभित्र विद्रोह गरेको छ । प्रतिनिधिसभा र प्रदेशसभाका तीनै क्षेत्रमा जनमोर्चाले उम्मेदवारी दिएको हो ।
प्रतिनिधिसभामा जनमोर्चाका पशुपति ढकालले स्वतन्त्र उम्मेदवारी दिनुभएको छ भने प्रदेशसभा क मा सागर केसी र ख मा जीवलाल पौडेलले पार्टीबाट नै उम्मेदवारी दर्ता गराउनु भएको छ । सो क्षेत्रमा कांग्रेस नेतृ तथा निवर्तमान उपसभामुख पुष्पा भुसाल गौतमले प्रतिनिधिसभा सदस्यमा उम्मेदवारी दर्ता गराउनु भएको छ । उहाँसँगै प्रदेशसभा क मा माओवादी केन्द्रका ठाकुरकुमार बिक र प्रदेशसभा ख मा कांग्रेसका कमल भुसालले उम्मेदवारी दर्ता गराउनु भएको छ ।
यस्तै रामेछापमा एकीकृत समाजवादीले प्रतिनिधि सभा र प्रदेश सभा दुवैमा उम्मेदवारी दर्ता गराएको छ । सत्ता गठबन्धनमा प्रतिनिधिसभा कांग्रेस र दुवै प्रदेशसभा माओवादीले पाएपछि एकीकृत समाजवादीले विद्रोह गरेको छ । प्रतिनिधि सभामा एकीकृत समाजवादीबाट पूर्व सांसद देवशंकर पौडेलले उम्मेदवारी दर्ता गराउनु भएको हो ।
त्यसैगरी प्रदेश सभा क मा पार्टी जिल्ला अध्यक्ष रमेशकुमार बस्नेत र प्रदेश सभा ख मा नेता झम्क कँडेलको उम्मेदवारी परेको छ । यता सत्ता गठबन्धनले प्रतिनिधि सभामा कांग्रेसका पूर्णबहादुर तामाङ (कान्छाराम) र प्रदेश सभा क मा माओवादी केन्द्रका तारानारायण श्रेष्ठ र ख मा माओवादी केन्द्रकै युवराज चौलागाईंले उम्मेदवारी दर्ता गर्नुभएको छ । यस्तै माओवादी केन्द्रका सप्तरी जिल्ला इन्चार्ज अशोककुमार मण्डलले गठबन्धनविरुद्ध बागी उम्मेदवारी दिनुभएको छ ।
आइतबार पार्टी परित्याग गरेर सप्तरीको प्रतिनिधिसभा क्षेत्र नम्बर १ बाट उनले स्वतन्त्र उम्मेदवारी दिनुभएको हो । उक्त क्षेत्र पाँच दलीय गठबन्धनमा नेपाली कांग्रेसबाट रामदेव साहले उम्मेदवारी दर्ता गराउनु भएको छ । रोल्पा प्रदेश सभा ख नेपाली कांग्रेसले पाएर कांग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुनले उम्मेदवारी दिनुभएको छ । तर सोही क्षेत्रबाट माओवादी पोलिटब्यूरो सदस्य दीपेन्द्र कुमार पुन सिजलले माओवादी नै परित्याग गरेर स्वतन्त्र रूपमा उम्मेदवारी दिनुभएको छ ।