कांग्रेसले रुखमै भोट हाल्न पाउनुपर्ने जिल्ला सभापतिहरूको माग



हाम्रो इकोनोमि

 

 

नेपाली कांग्रेस वागमती प्रदेशका जिल्ला सभापतिहरूले सबै निर्वाचन क्षेत्रमा प्रत्यक्षमा कम्तीमा एक मत रुखमा हाल्न पाउने गरी गठबन्धन गर्न माग गरेका छन् । जिल्लाका सभापतिले संयुक्तरूपमा केन्द्रीय सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउवालाई भेटेर यस्तो माग गरेका हुन् । जसमा अन्य ५ जना सभापतिको पनि समर्थन रहेको जनाइएको छ ।

जिल्ला सभापतिहरूले आफूहरू गठबन्धन गरेर निर्वाचनमा जाने पार्टी निर्णयको पक्षमा नै रहेको केन्द्रीय सभापति देउवालाई जानकारी गराएका छन् । तर, गठबन्धन गर्दा कांग्रेसका सबै मतदाताले ‘समानुपातिक’ बाहेक कम्तीमा एक मत प्रत्यक्षमा रुखमा हाल्न पाउनुपर्ने माग राखेका छन् । ‘प्रत्यक्षमा पनि कम्तीमा एक मत रुखमा हाल्न पाउनुपर्छ भन्ने कांग्रेसका सबै मतदाताको चाहना छ,’ दोलखा कांग्रेसका जिल्ला सभापति बर्मा लामाले भने,‘सो कुरा प्रत्याभूत हुनेगरी गठबन्धनमा सीटको बाँडफाँट हुनुपर्ने हामीले सभापतिसमक्ष कुरा राख्यौं ।’

जिल्ला सभापतिहरूले प्रतिनिधिसभाको सीट कांग्रेसले पाएका क्षेत्रमा खासै समस्या नहुने भएपनि प्रतिनिधिसभा सीट अर्को दलको भागमा परेको क्षेत्रमा भने प्रदेश सभाका दुवै क्षेत्र कांग्रेसले पाउनुपर्ने माग गरेका छन् ।

‘यसो गर्दा सबैतिरका कांग्रेसका मतदाताले एउटा भोट भएपनि प्रत्यक्षमा कांग्रेसलाई हाल्न पाउछन् । जसले गठबन्धन दलहरूलाई पनि फाइदा हुन्छ,’ लामाले  भने । यसबाहेक सीट बाँडफाँट न्यायिक हुनुपर्ने पनि आफूहरूले माग राखेको उनले बताए । जिल्ला सभापतिहरूको कुरा सुनेपछि केन्द्रीय सभापति देउवाले यसविषयमा आफू प्रतिबद्ध रहेको बताएका थिए । ‘उहाँले यसकुरामा आफू सकारात्मक रहेको प्रतिक्रिया दिनुभयो,’ जिल्ला सभापति लामाले भने,‘पार्टी र गठबन्धनका नेताहरूसँग छलफल गरेर यसमा अघि बढ्ने उहाँले आश्वासन दिनुभएको छ ।’

देउवासँगको सो भेटमा दोलखाका सभापति लामासहित नुवाकोटका सभापति रमेश महत, काठमाडौंका सभापति कृष्णसुबुज बानियाँ, भक्तपुरका सभापति दुर्लभ थापा, ललितपुरका सभापति जितेन्द्रकुमार श्रेष्ठ, सिन्धुपाल्चोकका सभापति जंगबहादुर तामाङ, काभ्रेका सभापति तीर्थ लामा र धादिङका सभापति रामनाथ अधिकारी सहभागी थिए ।

 

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...