काङ्ग्रेसको काखमा बसेर कम्युनिष्टको सपना देख्ने प्रचण्ड
संसद्को दोस्रो ठूलो पार्टीको नेता बन्न माओवादी अध्यक्ष प्रचण्डले यसपटक कुनै पनि कसर बाँकी नराख्ने सङ्केत दिनुभएको छ । त्यसनिम्ति उहाँले अन्तर्राष्ट्रिय शक्ति केन्द्रदेखि काङ्ग्रेस र माधवकुमार नेपालदेखि बाबुराम भट्टराईसम्मलाई उपयोग गर्ने रणनीति बनाउनुभएको बुझिएको छ । २०६४ चैतमा सम्पन्न संविधानसभाको निर्वाचनमा प्रत्यक्षतर्फ झण्डै बहुमत स्थान हाशील गर्न सफल माओवादी दोस्रो संविधानसभाको निर्वाचनमा २७ स्थानमा सीमित हुनु परेको थियो । प्रतिनिधिसभाको १६५ स्थानका लागि हुने २०७४ को निर्वाचनमा कुल सातभन्दा बढी स्थान हाशील गर्न नसक्ने स्थितिमा रहेको माओवादीलाई ३७ स्थानमा विजयी गराउन प्रचण्ड सफल हुनुभएको थियो । उक्त निर्वाचनमा एमालेलाई उपयोग गरेर उहाँ आफ्नो पार्टीको आकार बढाउन समर्थ हुनुभएको थियो । यसपटक भने प्रचण्ड काङ्ग्रेस पार्टीलाई राम्रैसँग उपयोग गर्ने गृहकार्यमा हुनुहुन्थ्यो ।
गत संसदीय निर्वाचनमा २३ स्थानमा चित्त बुझाउन बाध्य काङ्ग्रेस नेतृत्व आफ्नै बुतामा चुनाव लडेर पैंतीस स्थान पनि हात लगाउन नसक्ने ठान्दै चिन्तित थियो । सभापति आफैं शेरबहादुर देउवा र पत्नी आरजु राणाको विजय निश्चित गराउन पनि उहाँलाई एमालेविरुद्ध गठबन्धन आवश्यक हुन पुगेको थियो । देउवा दम्पतिको मनस्थिति बुझेपछि प्रचण्डले काङ्ग्रेससँग ‘बार्गेनिङ पावर’ बढाउनुभयो । कुल १६५ मध्ये कम्तिमा पचास निर्वाचन क्षेत्रमा माओवादीको उम्मेदवार खडा गर्ने र, ७५ निर्वाचन क्षेत्रमा काङ्ग्रेसलाई सीमित गरिदने प्रचण्डको योजना हो ।
शुरुमा एक सय निर्वाचन क्षेत्रमा आफ्नो दाबी पेस गर्ने काङ्ग्रेस पार्टी अहिले पचासी निर्वाचन क्षेत्रमा आफ्नो दाबी पेस गर्ने ठाउँमा आइपुगेको छ । तर प्रचण्ड काङ्ग्रेसलाई ८० भन्दा कम निर्वाचन क्षेत्रमा सीमित गर्ने आफ्नो अडानबाट पछि हट्नुभएको छैन । असी निर्वाचन क्षेत्रमा काङ्ग्रेस चुनाव लड्दा उसले करिब साठी स्थानमा विजय हाशील गर्न सक्ने र समानुपातिक समेत गरी कुल एक सय सांसद सङ्ख्यामा काङ्ग्रेस सीमित रहने प्रचण्डको बुझाइ छ । मधेशकेन्द्रीत समूहले कुल तीसदेखि चौतीस स्थान हाशील गरे पनि काङ्ग्रेस र मधेशी मात्र मिलेर सरकार बनाउन सङ्ख्या नपुग्ने विश्वास प्रचण्डमा रहेको बताइन्छ । त्यसैले काङ्ग्रेसलाई संसद्को ठूलो पार्टी बने पनि एउटा निश्चित साइजमा राखिदिने सोच प्रचण्डले बनाउनुभएको हो ।
यसरी काङ्ग्रेस नेतृत्व र माधव नेपाल समूहलाई उपयोग गरेर प्रचण्डले संसद्को दोस्रो ठूलो दलको नेता बन्ने स्वप्न-योजना त बनाउनुभएको छ, तर ८० देखि ८५ निर्वाचन क्षेत्रमा काङ्ग्रेसको उम्मेदवार हुँदैनन्, त्यहाँ काङ्ग्रेसको असन्तुष्ट पक्ष र एमालेबीच समझदारी बन्यो भने कस्तो परिणाम आउन सक्छ भन्नेबारेमा देउवा-प्रचण्ड गठबन्धनले गम्भीरतापूर्वक सोचेको देखिँदैन । काङ्ग्रेसभित्रको प्रतिपक्षी नेता डा. शेखर कोइराला र एमाले अध्यक्षबीच पटक-पटक संवाद भइरहेको छ र, उहाँहरूबीच समझदारी बन्यो भने चुनावी परिणाम अर्कै प्रकारको आउन सक्ने र, त्यसले देउवा र प्रचण्ड दुवैको सपना चकनाचुर बनाइदिन सक्ने सम्भावना छ ।
पश्चिमा शक्तिले नेपालमा कम्युनिष्ट वामपन्थीहरूको उन्मुलन चाहेको बुझिँदै छ । संस्थागत, सङ्गठित र अनुशासित भएकोले एमालेलाई समाप्त गर्नु अन्तर्राष्ट्रिय शक्ति तथा काङ्ग्रेसको रणनीतिक प्राथमिकतामा परेको छ । प्रचण्ड र माधव समूहलाई एमालेविरुद्ध उपयोग गर्ने र लक्ष्य पूरा भइसकेपछि माओवादी र समाजवादीलाई समेत समाप्त गर्ने योजनामा पश्चिमा शक्ति र काङ्ग्रेस पार्टी रहेको बुझिन्छ ।
जे होस्, प्रचण्ड आफ्नो रणनीतिमा केन्द्रीत हुनुभएको देखिन्छ । सबै पूर्व माओवादीहरूलाई पुनः सङ्गठित गर्ने, माधव नेपाललाई समेत मिलाएर समाजवादी केन्द्र नाममा छुट्टै दल निर्माण गर्ने, काङ्ग्रेसलाई हदैसम्म उपयोग गर्ने र जसरी भए पनि चुनाव जित्न वाईसीएललाई पुनः सक्रिय बनाउने योजना प्रचण्डले बनाउनुभएको छ । आफ्नो योजनामा प्रचण्ड पूर्ण सफल हुनुभयो भने माओवादी दोस्रो ठूलो दल बन्न नसके पनि आफ्नो साख जोगाउने सफलता उहाँलाई मिल्ने सङ्केतहरू देखिएका छन् । काङ्ग्रेस पार्टीको काखमा बसेर काङ्ग्रेसलाई नै वैचारिक, राजनीतिक र भौतिक रूपमा समाप्त गर्न सक्ने प्रचण्डको खुबीको माओवादीभित्र प्रशंसा भएको छ ।