नेपालगञ्जबाट काठमाडौंबाट उडेको श्री एयरलाइन्सको विमान आपत्कालीन अवतरण



हाम्रो इकोनोमि

 

 

नेपालगञ्जबाट काठमाडौंबाट उडेको श्री एयरलाइन्सको विमान आज सोही विमानस्थलमा आपत्कालीन अवतरण गराइयो । विमानको इन्जिनबाट धुवाँ निस्किन थालेपछि पाइलटले विमानलाई नेपालगञ्ज विमानस्थलमै फर्काएका थिए ।

सो विमानमा सवार ७९ जना यात्रुमध्ये थिए कन्सल्टेन्सी व्यवसायी विनोज बास्तोला । उडिरहेको विमानमा समस्या देखिएपछि अरुको जस्तै उनको पनि हंसले ठाउँ छोडेको थियो । तर, आत्तिएकै मनस्थितिमा पनि उनले मोबाइलबाट भिडिओ खिच्न भ्याए ।

बास्तोलाका अनुसार विमान उडेको करिब १० मिनेटपछि समस्या देखिएको हो । सुरूमा ‘अलार्मिङ साउन्ड’ बजेको र त्यसपछि धुवाँ फैलिएको उनले जानकारी दिए । विमानभित्रको आफ्नो अनुभव उनले यसरी सुनाए :

आज ९:१५ को फ्लाइट थियो । लगभग ९:४० मा प्लेन उडेको थियो । केहीबेर विमान सामान्य रूपमा उडिरहेको थियो, तर अपेक्षित उचाई लिइरहेको थिएन । १० मिनेटजति उडिसकेपछि अचानक विमानबाट टिङटिङ गर्दै इमर्जेन्सी साउन्ड आउन थाल्यो । विमानभित्र खुल्दुली सुरु भयो । मलाई पनि अलिकति डर लाग्यो ।

मैले एयर होस्टेसलाई कपास मागेँ र किन आवाज आएको हो भनेर सोधेँ । यसअघि विमान चढ्दा कहिल पनि यस्तो साउन्ड आएको अनुभव थिएन । एयरहोस्टेसले चाहिँ ‘यस्तो नर्मल हो, कहिलेकाहीँ हुन्छ’ भनेर मलाई आश्वस्त बनाइन् ।

तर, त्यसलगत्तै विमानभित्र धुवाँ देखिन थाल्यो । त्यसपछि त कोलाहल सुरु भइहाल्यो । पाइलट र एयरहोस्टेसले केही पनि जानकारी दिएनन् । सबैजना आत्तिन थाले । भगवानको नाम लिन थाले । विमान दुर्घटनामा पर्ने निश्चितजस्तै लाग्यो । अब बाँचिदैन भन्ने भयो । त्यसबेला मैले बेसुरमै मोबाइल झिकेर भिडियो खिच्न थालेछु । अहिले कसरी खिँचेहोला जस्तो लाग्छ ।

धुवाँ निस्किएपछि पाइलटले एकदमै स्पिडमा विमानलाई टर्न गराए । त्यसबेला विमान ब्यालेन्समा थिएन । उनले स्वाट्टै ल्याएर एयरपोर्टमा विमानलाई थचारे । लगभग १००-२०० मिटरमै उनले झ्याप्पै ब्रेक लगाएर विमान रोके । त्यसपछि सबै यात्रुहरु ज्यान बचाउनका लागि भागदौड गर्न थाले । अगाडि पछाडिका सबै ढोकाहरु खुले ।

एयरहोस्टेसहरुले ‘छिटो छिटो भाग्नुस्, आगलागी हुन सक्छ’ भनिरहेका थिए । यात्रुहरु ढोकाबाट हाम्फाले । हाम्फाल्ने क्रममा तीन चार जना घाइते हुनुभएको छ । एम्बुलेन्स र दमकलहरु आउन थाले । सबैको ज्यान जोगियो ।

प्रतिक्रिया दिनुहोस
हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकामा नुन अभाव

     हुम्लाको दक्षिण क्षेत्रका चार गाउँपालिकाका बासिन्दाले बर्सेनि नुन अभाव झेल्दै आएका...

ओली भेट्न गुन्डु पुगे राष्ट्रपति पौडेल

    नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली भेट्न राष्ट्रपति रामचन्द्र पौडेल गुन्डु...

इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुन्छ : ट्रम्प

    अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँग चलिरहेको युद्ध चाँडै अन्त्य हुने संकेत...

होर्मुज स्ट्रेट सञ्चालनमा सहयोग नभए नेटोको भविष्य नराम्रो हुनेछ : ट्रम्प

    अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले युरोपेली मुलुकहरूले होर्मुज स्ट्रेट पुन: सञ्चालन लागि...