पोखराका मेयर धनराज आचार्यको ४४ करोडको सम्पत्ति



हाम्रो इकोनोमि

 

 

पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले आफ्नो सम्पत्ति विवरण सार्वजनिक गरेका छन् । विवरण अनुसार उनी झण्डै ४४ करोडको सम्पत्तिका मालिक हुन् । महानगरको वेवसाइटमा राखिएको विवरणमा मेयर आचार्यसँग पोखरामा २ वटा र काठमाडौंमा एउटा घर रहेको उल्लेख छ । पोखराको वडा नम्बर ९ मा २८९ स्क्वायर मिटर जग्गा र त्यसमा बेनेका दुईवटा घर छन् । आचार्यकी पत्नी पुष्पाकुमारी पौडेलको नाममा रहेको उक्त घर–जग्गाको मूल्य ९ करोड २५ लाख रहेको जनाइएको छ ।

यस्तै काठमाडौंको सीतापाइलामा मेयर आचार्यको अर्को घर छ । ९२५.६० स्क्वायर मिटरमा फैलिएको यो घर पनि आचार्यले श्रीमतीकै नाममा राखेका छन् । घरको मूल्य एक करोड ८५ लाख रुपैयाँ उल्लेखित छ । उनको तेस्रो घर पोखरा–११ मा रहेको छ । मेयर आचार्यको आफ्नै नाममा रहेको घर अनुमानित ३ करोड ८५ लाख रुपैयाँको हो । मेयर आचार्यसँग दोलखाको हेवा गाउँपालिकामा ८ टुक्रा जग्गा छन्, जसको मूल्य ८७ लाख रुपैयाँ पर्ने उनले उल्लेख गरेका छन् । यस्तै उनीसँग चारवटा गाडी र एक स्कुटर छन् । गाडी र स्कुटरको कुल मूल्य २ करोड रुपैयाँ उनले खुलाएका छन् ।

सम्पत्ति विवरणमा मेयर आचार्यसँग बैंकमा १५ लाख रुपैयाँ नगद रहेको उल्लेख छ । यस्तै, उनले विभिन्न कम्पनीका २५ करोड रुपैयाँको सेयर खरिद गरेका छन् । कुल मिलाएर मेयर आचार्यले आफ्नो सम्पत्ति ४३ करोड ६१ लाख ४५ हजार ६१६ रुपैयाँ बराबरको सम्पत्ति रहेको उल्लेख गरेका छन् । आचार्यले विभिन्न बैंक, फाइनान्स कम्पनी तथा साथीभाइ/आफन्तबाट २ करोड ८५ लाख रुपैयाँ ऋण लिएको उल्लेख गरेका छन् । उनले राखेको यो सम्पत्ति विवरणमा पुख्र्यौली सम्पत्ति समावेश गरिएको छैन । साथै ५४ तोला सुन, ३८ ताला चाँदी र ५ तोला हिरा पनि उनले तपसिलमा देखाएका छन् ।

को हुन् आचार्य ?

५३ वर्षिय आचार्य हालै भएको स्थानीय चुनावमा नेकपा एकीकृत समाजवादीबाट मेयरमा निर्वाचित भएका हुन् । सत्तारुढ गठवन्धनको समर्थनमा उनले एमालेका कृष्ण थापालाई ६ हजार ४५ भोटले हराएका थिए । उनले आफ्नो पेशामा उद्योग व्यवसाय, समाजसेवा र राजनीति उल्लेख गरेका छन् ।

आचार्यले २०३९ सालमा अनेरास्ववियूको सदस्यता लिएर राजनीतिक जीवन प्रारम्भ गरेका थिए । उनी नेकपा एसका केन्द्रीय सदस्य र कास्की जिल्ला कमिटी अध्यक्ष हुन् ।

प्रतिक्रिया दिनुहोस
भोटेकोशी बाढी : २५ अर्ब ८७ करोडको बीमा दाबी

    गत बुधबार रसुवाको भोटेकोशीमा आएको बाढीका कारण भएको क्षतिको हालसम्म २५...

मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ४ हजार ६०६ जना सम्पर्कविहीन

    हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला...

मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

    रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव...

भोटेकोशी बाढीपीडितका लागि कुन बैंकले कति गरे सहयोग ?

    रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत...