मदन भण्डारीलाई सम्झदा बुझ्नै पर्ने यी तथ्य
शंकर पोखरेल
जननेता मदनकुमार भण्डारीलाई स्मरण गर्दा बिभिन्न आयामहरुबारे चर्चा गर्नुपर्छ । नेपालको राजनीतिमा चर्चित झापा विद्रोहको समयमा विद्रोहका गीत र कविता रचना गर्दै र सुनाउँदै गर्दा बनारसमा पढ्ने नेपाली विद्यार्थीहरूका बीचमा मदन भण्डारी सभा–समारोहमा खोजिने पात्रका रूपमा प्रकट हुनुभयो । उक्त समय बनारसमा अध्ययनरत नेपाली विद्यार्थीहरू छात्र संघका माध्यमबाट निरंकुश पञ्चायती व्यवस्थाविरुद्धको राजनीतिक अभियानमा जोडिने गर्दथे ।
बनारसमा अध्ययनरत विद्यार्थीका लागि छात्र संघ साझा संगठन थियो । तर उक्त संघको नेतृत्वमा पुग्न नेपाली कांग्रेस र बामपन्थी सम्बद्ध विद्यार्थीहरूका बीचमा प्रत्यक्ष चुनाव हुने गथ्र्यो । मुलुकमा निर्दलीय निरंकुश व्यवस्थाको दमनका सिकार भएकाहरूका लागि छात्र संघको नेतृत्वका लागि हुने निर्वाचन बहुदलीय शासन प्रणालीको अभ्यासको थलोजस्तै थियो । त्यही लोकतान्त्रिक परिवेशमा नै मदन भण्डारीको राजनीतिक व्यक्तित्वको विकास भयो ।
एक हिसावले भन्दा त्यो चुनावमा बामपन्थी बिद्यार्थीलाई गोलबन्द गर्ने अभियन्ता हुनुभयो मदन । त्यही परिवेशले नै उहाँलाई नेकपाका संस्थापक महासचिव पुष्पलालको सान्निध्यतामा पुर्यायो । पुष्पलाल समूहको सांस्कृतिक मोर्चाबाट संगठित जीवन सुरु गर्नुभएका भण्डारी मुक्तिमोर्चाका माध्यमबाट कोअर्डिनेसन केन्द्र हुँदै नेकपा (माले) को संस्थापक बन्न पुग्नुभयो । उहाँको व्यवस्थापनमा नै भूमिगत रूपमा तात्कालिक नेकपा (माले) पार्टीको पुनर्गठन भएको थियो । जुन पार्टी आज नेकपा (एमाले) का रूपमा नेपाली राजनीतिमा प्रमुख पार्टीका रूपमा स्थापित छ ।
नेपाली राजनीतिमा मदन भण्डारी धेरैका लागि ज्वारभाटाका रूपमा अचानक प्रकट हुनुभयो र रहस्यमय दासढुंगा जिप दुर्घटनाबाट त्यसरी नै अस्ताउनुभयो । उहाँ खुला राजनीतिमा आएदेखि नै दन्त्यकथाको नायकझैं नेपाली राजनीतिमा छाइरहनुभयो । संविधान जारी भएपछि जनसभामार्फत खुला हुनु भएका मदन भण्डारी चार वर्षभन्दा कम समयमै नेपाली जनताका बीचमा सर्वाधिक लोकप्रिय नेताका रूपमा स्थापित हुनुभयो । ताप्लेजुङको ढुंगेसाँघुमा जन्मनुभएका भण्डारी चितवनको दासढुंगामा भएको षड्यन्त्रपूर्ण जिप दुर्घटनाबाट अल्पायुमा हामीबाट सदाका लागि बिदा हुनुभयो । षड्यन्त्रपूर्ण हत्या भएको तीन दशक पुग्न लाग्दा पनि नेपाली राजनीतिमा उहाँ सर्वाधिक सम्झना गरिने नेपाली नेताहरूमा पर्नुहुन्छ ।
आफ्नो सक्रिय राजनीतिक जीवनकालमा मात्र होइन, मृत्युपछि पनि उहाँबाट प्रतिपादित विचार तथा मान्यताले नेपाली राजनीतिलाई निरन्तर रूपमा प्रभावित गरिरहेका छन । दुई दशकपहिले बीबीसी नेपाली सेवाले गरेको एक अनलाइन सर्वेक्षणबाट गएको सय वर्षमा नेपाली समाजलाई सर्वाधिक प्रभाव पार्ने नेताका रूपमा मदन सर्वाधिक व्यक्तिका छनोटमा पर्नुभएको थियो । आज पनि नेपाली राजनीतिका संकटपूर्ण क्षणमा मानिसहरू उहाँलाई सम्झन्छन्, र भन्ने गर्छन– मदन भण्डारी भएको भए… ।
भण्डारीले नेपाली राजनीतिका गतिरोधहरूलाई छिचोलेर नयाँ दिशा प्रदान गर्ने कुरामा वैचारिक र राजनीतिक नेतृत्व प्रदान गर्नुभयो । सात सालको राजनीतिक क्रान्ति नेपालको इतिहासमा एउटा ऐतिहासिक परिघटना थियो । जहानियाँ राणा शासनविरुद्धको सशस्त्र संघर्षले सफलता हासिल गरिरहेका बेलामा त्रिपक्षीय दिल्ली सम्झौताका रूपमा त्यसलाई अपूर्ण बनाउने काम भयो । २००७ सालको जनक्रान्तिमा जसका विरुद्ध आन्दोलनको उद्घोष गरियो, हतियार उठाइयो, उसैलाई प्रधानमन्त्री स्वीकार गर्ने विषय आन्दोलनकारीहरूका लागि स्वीकार्य हुनै सक्दैनथ्यो । आन्दोलनकारी शक्तिहरूका बीचको अन्तरविरोधको जगमा शक्ति केन्द्रहरूले खेल्ने मौका पाए ।
परिणामस्वरूप पहिलो आम निर्वाचनमा दुईतिहाइ बहुमत पाउन सफल नेपाली कांग्रेस नेतृत्वको सरकार छोटो समयमा नै शाही ‘कू’ को सिकार भयो । २०१७ पुस १ गतेको कालो दिनका रूपमा चर्चामा रहेको प्रतिगमनविरुद्धको संघर्ष नेपालमा तीन दशकसम्म चल्यो । नेकपाका संस्थापक नेता पुष्पलालले निरंकुश पञ्चायतका विरुद्धमा संयुक्त जनआन्दोलनको नीति सुरुमै अघि सार्नुभएको थियो । तर त्यसलाई बीपी कोइराला नेतृत्वको नेपाली कांग्रेसले स्विकार्न सकेन । परिणामस्वरूप पुष्पलाल र बीपी दुवैले निरंकुशताविरुद्धको संघर्षमा आफ्नो सम्पूर्ण जीवन समर्पण त गर्नुभयो, तर सफलता पाउन सक्नुभएन । नेपाली राजनीतिमा मदन भण्डारीको भूमिका नेपाली राजनीतिको यही असफलताको विन्दुबाट अघि बढेको प्रष्ट तथ्य देख्न सकिन्छ ।
पुष्पलाल समूहबाट विद्रोह, झापा विद्रोहका नाममा चर्चित धारासँगको एकता, नेकपा (माले) को गठन, नेकपा (माले) लाई उग्रवामपन्थी जडताबाट बाहिर निकाल्न गरिएको वैचारिक र राजनीतिक संघर्षका क्रममा नै भण्डारीको राजनीतिक व्यक्तित्वले नेपाली राजनीतिमा प्रस्फुटन हुने अवसर पायो । सोही समयमा २०४६ सालको भदौमा आयोजना गरिएको नेकपा (माले) को चौथो महाधिवेशले अवलम्बन गरेको नीति र सोही अधिवेशनबाट उक्त पार्टीको महासचिवका रूपमा मदन भण्डारीको उदय नेपाली राजनीतिलाई नयाँ मोड दिने आधार बन्न पुग्यो ।
महासचिवका रूपमा मदन भण्डारीले तत्कालीन नेकपा (माले) लाई वामपन्थी दलहरूका साथै नेपाली कांग्रेससँगको सहकार्यतर्फ अग्रसर बनाउनुभयो । त्यसका लागि उहाँले कमरेड पुष्पलालले अघि सार्नुभएको संयुक्त जनआन्दोलनको नीतिमा जोड दिनुभयो । उक्त नीति पुष्पलालको जीवनकालमा सफल हुन नसक्नुको प्रमुख कारण खोजी गर्नुभयो । त्यस सन्दर्भमा उहाँको निष्कर्ष थियो, सही नीति अवलम्बन गरेर मात्र पुग्दैन, त्यसलाई कार्यान्वयनमा लैजान सोही अनुसारको सामर्थ्यको विकास र पहकदमीको आवश्यकता पर्छ । सोही अनुसार उहाँले नेकपा (माले) लाई आन्दोलनको खुला मोर्चामा प्रभावकारी बनाउने कार्ययोजना अघि बढाउनुभयो । संयुक्त जनआन्दोलनका लागि कांग्रेसलाई तयार बनाउने नीति लिनुभयो । बामपन्थीसँग सहकार्य गर्न कांग्रेसका नेता कृष्णप्रसाद भट्टराई र गिरिजाप्रसाद कोइराला त्यत्ति उदार हुनुहुन्थेन । त्यसका लागि नेपाली कांग्रेसका सर्वमान्य नेता गणेशमान सिंहसँगको सम्पर्कलाई विशेष जोड दिनुभयो ।
मदनले नै गणेशमानसँगको परामर्शपछि छरिएर रहेका वामपन्थी शक्तिलाई वाममोर्चामा आबद्ध गर्ने नीति अघि बढाउनुभयो । वाममोर्चा र नेपाली कांग्रेसबीच एजेन्डामा आधारित कार्यगत एकतामा जोड दिनुभयो । परिणामस्वरूप ०४६ सालमा आएर मदन भण्डारीको अग्रसरतामा पुष्पलालले अघि सार्नुभएको संयुक्त जनआन्दोलनको नीतिले सार्थकता पाउन सक्यो । ०४६ सालको ऐतिहासिक जनआन्दोलनको अग्रमोर्चामा नेपाली कांग्रेसका शीर्ष नेता र वाममोर्चाको नेतृत्वमा रहनुभएका नेताहरू देखिनुभयो । भित्री रूपमा भने संयुक्त जनआन्दोलनको मार्गद्रष्टाको भूमिकामा भण्डारी रहनुभयो । तर उहाँले आफ्नो त्यो भूमिकालाई कहिलै चर्चामा ल्याउन चाहनुभएन । बाममोर्चाको नेतृत्वको सवालमा पनि मदनले पुराना नेतालाई नेतृत्व दिने प्रस्ताव गरेर आफ्नो योजना साकार बनाउनु भएको हो ।
भण्डारीको भूमिका जनआन्दोलनको उतारचढावलाई सही दिशा प्रदान गर्ने कुरामा समेत महत्वपूर्ण थियो । पञ्चहरूको नेतृत्वमा गठन भएको अन्तरिम सरकार र संविधान सुझावका लागि राजाका तर्फबाट एकतर्फी रूपमा गठन गरिएको शाही आयोगलाई अस्वीकार गर्ने कुरादेखि लिएर त्यसलाई सही दिशामा पुर्याउन उहाँले लिनुभएको अग्रसरता अहम रह्यो । त्यति मात्र होइन, राजनीतिक दलको सहभागितामा गठन भएको मस्यौदा आयोगलाई जनआन्दोलनको भावनाअनुरूप संविधानको मस्यौदा तयार पार्न तात्कालिक नेकपा (माले) का तर्फबाट प्रभावकारी भूमिका खेल्ने र दरबारिया तत्वबाट भएका अवाञ्छित दबाब र षड्यन्त्रलाई असफल बनाउने कुरामा पनि उहाँको भूमिका विशेष थियो । त्रिपक्षीय संघर्षको रस्साकस्सीबाट तयार भएको नेपाल अधिराज्यको संविधान २०४७ नेकपा (माले) को सोचअनुरूप नरहँदा नरहँदै पनि उहाँले प्राप्त उपलब्धिको जगमा टेकेर अघि बढ्ने नीतिअनुरूप आलोचनात्मक समर्थनसहितको २७ बुँदे असहमति सार्वजनिक गर्नुभएको थियो । उक्त असहमति ०६२–०६३ को जनआन्दोलनबाट पुनःस्थापित प्रतिनिधिसभाको ऐतिहासिक घोषणाका आधार बन्न पुग्यो ।
बहुदलीय शासन व्यवस्थामा आधारित नयाँ संविधान जारी भएपछि तात्कालिक नेकपा (माले) लाई खुला गर्ने, नेपालका पुराना नेताहरूको बाहुल्य रहेको नेकपा (मार्क्सवादी) समूहसँग पार्टी एकता गर्ने र पहिलो आम निर्वाचनमा नेपाली कांग्रेसलाई देशव्यापी रूपमा टक्कर दिँदै बलियो प्रतिपक्षका रूपमा स्थापित गर्ने कुरा भण्डारीको नेतृत्व कुशलताको परिणाम थियो । उक्त निर्वाचनमा अन्तरिम सरकारका लोकप्रिय प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति कृष्णप्रसाद भट्टराईलाई पराजित गरेर उहाँले आफूलाई एकैचोटि विश्व राजनीतिमा परिचित बनाउन सफल हुनुभयो ।
उक्त निर्वाचनमा उहाँ काठमाडौंका दुइटा निर्वाचन क्षेत्रमा एकैसाथ विजयी बन्नुभएको थियो । उक्त निर्वाचनमा हासिल भएको सफलता र नेपाली राजनीतिमा बढ्दै गएको लोकप्रियताले नै भन्नुपर्छ– अमेरिकाबाट प्रकाशित हुने विश्वचर्चित पत्रिका ‘न्युजविक’ ले ‘नेपालमा कार्लमार्क्स जीवित छन’ भन्ने शीर्षकमा उहाँको अन्तर्वार्ता प्रकाशित गरेको थियो । जुन कुरा त्यतिबेलाको समयमा नेपाली राजनीतिमा निकै चर्चित रह्यो ।
नेपालको राजनीतिमा जननेता मदन भण्डारीको योगदान विचार र सिद्धान्तको प्रश्नमा नै प्रमुख रह्यो । नेकपा (एमाले) द्वारा आयोजित नेकपाको पाँचौं महधिवेशनमा उहाँले प्रस्तुत गर्नुभएको जनताको बहुदलीय जनवाद (जबज) को कार्यक्रम नेपालको राजनीतिलाई नयाँ दिशा प्रदान गर्ने मौलिक र नवीनतम विचार बन्न पुग्यो ।
विश्व कम्युनिस्ट आन्दोलनका अनुभव, शोभियत मोडेलको समाजवादको असफलता, नेपालको प्रजातान्त्रिक आन्दोलनमा नेपालका कम्युनिस्ट क्रान्तिकारीहरूको सक्रिय सहभागिता तथा बहुलतामा आधारित नेपाली समाजको विशिष्ट अवस्थासमेतका आधारमा उहाँले उक्त नवीनतम विचार–सिद्धान्त नेपाली राजनीतिको महत्त्वपूर्ण उपलब्धिका रूपमा छोडेर जानुभएको छ । आज नेपाली राजनीति मूलतः जनताको बहुदलीय जनवादको सैद्धान्तिक र नीतिगत मान्यताबाट निर्देशित र प्रभावित हुने गरेको छ ।
नेपाली राजनीतिमा संवैधानिक राजतन्त्रलाई आफ्नो पार्टीको सिद्धान्तका रूपमा संश्लेषण गरेको नेपाली कांग्रेसलाई गणतन्त्रको दिशामा अघि बढ्न र दीर्घकालीन जनयुद्धलाई क्रान्तिको एक मात्र बाटाको रूपमा आत्मसात् गरिरहेको नेकपा (माओवादी) लाई शान्ति प्रक्रियामार्फत बहुदलीय प्रतिस्पर्धाको संवैधानिक बाटोमा ल्याउन पनि जनताको बहुदलीय जनवादकै भूमिका छ । त्यति मात्र होइन, ०६२–०६३ को जनआन्दोलनलाई मौलिक चरित्रको राजनीतिक जनक्रान्तिका रूपमा विकास गर्न र शान्तिपूर्ण बाटोबाट संघीय लोकतान्त्रिक गणतन्त्रात्मक व्यवस्था स्थापना गर्ने कुरामा समेत जबजका नीति तथा मान्यताहरूको महत्त्वपूर्ण योगदान रहेको छ । संविधानसभाबाट गठन भएको नेपालको संविधान २०७२ ले आत्मसात् गरेका सामाजिक न्यायसहितको लोककल्याणकारी राज्यव्यवस्था र जनअधिकारले परिपूर्ण मौलिक हकहरू तथा समाजवादउन्मुख राज्यका निर्देशक सिद्धान्तहरूजस्ता विशेषताहरू स्थापित गर्ने कुरामा पनि त्यसको गहिरो प्रभाव देख्न सकिन्छ ।
नेपालको राजनीतिमा नेकपा (एमाले) लाई जनतामा आधारित कार्यकर्ताहरूको विशाल पंक्ति भएको सुदृढ पार्टीका रूपमा स्थापित गर्ने कुरामा जनताको बहुदलीय जनवादले आत्मसात गरेको पार्टी निर्माण सम्बन्धी नवीनतम मान्यताको महत्वपूर्ण योगदान छ । क्रान्तिपूर्व कम्युनिस्ट पार्टीको नेतृत्वमा सरकार गठन गर्ने कुरा, क्रान्तिपूर्वको सरकारले गर्ने काम शक्ति सञ्चयको कार्यनीतिमा आधारित हुनुपर्ने मान्यता तथा राजनीतिक क्रान्तिपछि समाजवादको आधार निर्माणको बाटो हुँदै अघि बढ्ने कुरा जनताको बहुदलीय जनवादको मार्गदर्शनमा अघि बढेका सफल प्रयोगहरू हुन ।
यतिबेला नेकपा (एमाले) र त्यसको नेतृत्वका विरुद्धमा चौतर्फी घेराबन्दी र आक्रमण भइरहेको तथा एउटा पार्टीकाविरुद्धमा पाँच–पाँचवटा पार्टीहरू मिलेर चुनाव लडिरहेको अवस्थामा पनि नेकपा (एमाले) आफूलाई जसरी जनताका बीचमा स्थापित गर्न सफल भएको छ, त्यो जबजले अवलम्बन गरेको प्रतिस्पर्धा र पहलकदमीका आधारमा श्रेष्ठता हासिल गर्ने नीतिको परिणाम नै हो । यद्यपि उक्त मान्यता नेकपाकालीन समयमा अवरुद्धजस्तै बन्यो । जसले गर्दा नेपालको कम्युनिस्ट आन्दोलनमा संगठनात्मक अराजकता र अवसरवाद बलशाली बन्न पुग्यो । अराजकता र अवसरवादको विरुद्धको वैचारिक र राजनीतिक संघर्षमा पनि जबज प्रेरक बनिरहेको छ ।
जननेता भण्डारीले निरंकुशताका विरुद्धको संघर्षको समयमा संयुक्त जनआन्दोलनको नीतिमा जोड दिनुभयो । संक्रमणकालमा समेत त्यो नीति आवश्यक हुने उहाँको मान्यता थियो । तर राजनीतिक परिवर्तनपछि आर्थिक–सामाजिक विकास र रूपान्तरणको प्रश्नमा भने नेपाली कांग्रेस र नेपालका कम्युनिस्टहरूका बीचमा स्वस्थ प्रतिस्पर्धा आवश्यक रहेको उहाँको मान्यता थियो । यतिबेला नेपाली राजनीति राज्यविरुद्ध विद्रोहको समयको मनोविज्ञानबाट बाहिर आउन नसकिरहेको अवस्थामा विचारमा आधारित राजनीतिक ध्रुवीकरणतर्फ मुलुकलाई डो¥याउनुपर्ने खाँचो छ ।
राजनीतिक क्रान्तिपछिको नयाँ समाज व्यवस्थाको निर्माण र रूपान्तरणका सन्दर्भमा तीन विशेष चरणबाट समाज गुज्रन्छ भन्ने जननेता भण्डारीको मान्यता थियो । त्यसमा पहिलो, पुरानो समाज व्यवस्थाका अवशेषहरूलाई समूल रूपमा अन्त्य गर्ने अवधिका रूपमा दोस्रो, नयाँ उत्पादन सम्बन्धका आधारमा योजनाबद्ध रूपमा आर्थिक सामाजिक विकास र रूपान्तरणको प्रक्रियालाई तीव्रता दिने अवधिका रूपमा र तेस्रो समाजवादमा संक्रमण गर्ने उद्देश्यका साथ आर्थिक, सामाजिक र सांस्कृतिक रूपान्तरणको कामलाई तीव्रता दिने अवधिका रूपमा । यतिबेला सोही नीतिअनुरूप नेकपा (एमाले) समृद्ध नेपाल, सुखी नेपालीको राष्ट्रिय आकांक्षालाई सार्थक बनाउने योजनाका साथ अघि बढिरहेको छ ।
यतिबेला नेपालको राजनीति गठबन्धन भर्सेस बलियो राष्ट्रिय शक्तिका रूपमा पार्टीलाई सुदृढ गर्ने मान्यताका बीचमा तीव्र अन्तरसंघर्ष चलिरहेको छ । क्रान्तिकालमा मोर्चा वा एकता राजनीतिक क्रान्तिको सफलताका लागि आवश्यक हुन्थ्यो नै । नेपालमा राजनीतिक दलहरूको सहकार्य र एकताबाट नै ठूलाठूला राजनीतिक परिवर्तन सफल भएका हुन् तर जब मुलुकको विकास र समृद्धिको प्रश्न अघि आउँछ त्यतिबेला सही नीति र सिद्धान्तमा आधारित योजनाबद्ध पहलकदमीको आवश्यकता पर्छ । सक्षम नेतृत्व र बलियो पार्टीको आवश्यकता पर्छ । त्यसमा यथोचित ध्यान दिन नसक्दा नेपालको लोकतान्त्रिक आन्दोलनले पटकपटक प्रतिगमनको दुश्चक्र बेहोर्नुपरेको छ । त्यस प्रकारको अवस्थाबाट नेपालको राजनीतिलाई मुक्त गर्ने हो भने विचारधारामा आधारित राजनीतिक ध्रुवीकरणको आवश्यकता पर्छ ।
क्रान्तिकालमा धेरै पार्टी हुँदा पनि प्रहारको निसाना एउटै हुने अवस्था थियो । तर व्यवस्था नै परिवर्तन भई नयाँ संवैधानिक व्यवस्था स्थापित भएको अवस्थामा राजनीतिक दलहरूको ध्यान विकास र समृद्धिका प्रश्नमा केन्द्रित हुनुपर्छ । यतिबेला मुलुकमा विद्यमान राजनीतिक अस्थिरता, नीतिगत विचलन र बाह्यशक्तिको चलखेलमा कुनै न कुनै रूपमा दलहरूका बीचमा देखिने अस्वस्थ प्रतिस्पर्धाले समेत काम गरेको छ । त्यसबाट नेपालको राजनीतिलाई मुक्त गरी स्वाधीन तथा आत्मनिर्भर आर्थिक, सामाजिक व्यवस्थाको निर्माणका लागि राजनीतिक ध्रुवीकरण आवश्यक छ र राजनीतिक दलहरूका माध्यमबाट बलियो राष्ट्रिय शक्तिको विकास आवश्यकता छ । तर पछिल्लो समय नेपाली कांग्रेसले नीतिगत नेतृत्वमा भन्दा गठबन्धनमा जोड दिन थालेको छ । तर नेकपा (एमाले) भने गठबन्धनको बाटामा होइन, नीतिगत नेतृत्व प्रदान गर्न सक्ने बलियो राष्ट्रिय शक्ति बन्ने दिशामा अग्रसर छ । राजनीतिक क्रान्तिपछिको कार्यभार पूरा गर्ने सन्दर्भमा जननेता मदन भण्डारी र जबजले मार्गदर्शन गरेको बाटो पनि यही नै हो ।
(एमाले महासचिव पोखरेलले प्रेस चौतारी नेपालले आयोजना गरेको ‘जनताको बहुदलीय जनवाद र अभिब्यक्ति स्वतन्त्रता’ बिषयक अन्तर संवादमा ब्यक्त बिचारको सम्पादित अंश)