गठबन्धनलाई जसपाको घात, एमालेलाई राप्रपा नेपालको साथ



हाम्रो इकोनोमि

 

 

बागमती प्रदेशको राजधानी रहेको हेटौंडा उपमहानगरपालिकामा यस पटक कसले बाजी मार्ला ? अहिले सबैले यही प्रश्न गर्न थालेका छन् । स्थानीय निर्वाचन नजिकिएसँगै यहाँ सत्ता गठबन्धन र अर्को प्रमुख प्रतिस्पर्धी एमालेले आआफेनो जीतको दावी गर्न थालेका छन् ।

सत्ता गठबन्धनमा हेटौंडा उपमहानगरपालिकाको मेयरको भाग नेकपा एकीकृत समाजवादीले पाएको छ । जसअनुसार उपमहानगरको मेयरमा गठबन्धनबाट नेकपा एकीकृत समाजवादीकी मीनाकुमारी लामाले उम्मेदवारी दर्ता गराएकी छन् । उनी यसअघि उपमेयर निर्वाचित भएकी थिइन् । एमाले विभाजित हुँदा लामाले एकीकृत समाजवादी रोजेकी थिइन् ।

नेपाली कांग्रेसले मेयर नपाएको भन्दै पार्टी कार्यालयमा कार्यकर्ताले तालाबन्दीसमेत गरेका थिए । कार्यकर्ताको विरोधबीच कांग्रेसले उपमेयरमा उम्मेदवारी दर्ता गराएको छ । हेटौंडा उपमहानगरको मेयरमा नेकपा एमालेबाट अनन्त पौडेलले उम्मेदवारी दिएका छन् ।

२०७४ को स्थानीय तह निर्वाचनमा एमालेका उम्मेदवार हरिबहादुर महतले २३ हजार १२४ मत ल्याई मेयर जितेका थिए । महतले नेपाली कांग्रेसका आनन्दराम पराजुलीलाई ६१५ मतले हराएका थिए । माओवादीसँग गठबन्धन गरेको कांग्रेसका पराजुलीले २२ हजार ५०९ मत पाएका थिए । त्यस्तै राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मेयर उम्मेदवार मधु अधिकारीले ६ हजार ८५७ मत र संघीय समाजवादी फोरमका शुभरत्न गोलेले १ हजार १०६ मत ल्याएका थिए ।

उपमेयरतर्फ एमालेकी मीनाकुमारी लामा २३ हजार ४३७ मतसहित विजयी भइन् । उनले कांग्रेस र माओवादीको गठबन्धन उम्मेदवार बलराम बललाई पराजित गरेकी थिइन् । बलले १७ हजार ११ मत पाएका थिए । उपमेयरमै राष्ट्रिय प्रजातन्त्र पार्टीकी इन्दिरा न्यौपानेले ७ हजार ७०२ मत र तत्कालिन नयाँ शक्तिकी पुनम भट्टराईले १ हजार १५३ मत ल्याएका थिए ।

वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनमा सत्ता गठबन्धन र एमालेबीच प्रतिस्पर्धा हुने निश्चित भएको छ । तर, सत्ता गठबन्धनबाट जनता सामाजवादी बाहिरिएको छ । जसले गर्दा सत्ता गठबन्धनलाई एमालेको विरासत भत्काउन सहज देखापर्दैन ।

यता राप्रपा नेपालको साथ पाएकाले एमालेले सत्ता गठबन्धनलाई कडा टक्कर दिने अड्कल गरिएको छ । हेटौंडामा राप्रपा नेपालले आफ्नो पार्टी नेता, कार्यकर्ता र समर्थकहरुलाई एमालेको सूर्य चिन्हमा मतदान गर्न आह्वान गरिसकेको छ । हेटौंडा राप्रपा नेपालका अध्यक्ष कमल थापाको गृह जिल्ला हो । त्यसैले हेटौंडामा राजेन्द्र लिङ्देनको राष्ट्रिय प्रजातन्त्र पार्टीभन्दा राप्रपा नेपाल बलियो रहेको अनुमान गरिएको छ । यस आधारमा एमालेले पार्टी विभाजित भएर एकीकृत समाजवादीतर्फ गएको मत राप्रपा नेपालबाट पूर्ति गर्ने सम्भावना बढेको छ ।

तर राप्रपाका प्रभावशाली नेता दीपक सिंहले मेयरमा उम्मेदवारी दिएकाले राप्रपा नेपालको धेरै भोटसमेत उनैलाई आउने राप्रपाका स्थानीय नेताहरु बताउँछन् । यसले हेटौंडामा एमालेभन्दा सत्ता गठबन्धनलाई फाइदा पुग्ने उनीहरुको भनाइ छ ।

सत्ता गठबन्धनमा कांग्रेसले मेयर नपाउनु र जसपा गठबन्धनबाट बाहिरिनुले एमालेका उम्मेदवार पौडेललाई सहज हुने बताउनेहरु पनि कम छैनन् । कांग्रेसभित्र असन्तुष्ट समूहले गठबन्धन उम्मेदवारलाई अस्वीकार गर्ने बताएका छन् । यी मतदाताहरुले आफ्ना उम्मेदवारहरुलाई मत दिने एमाले नेताहरुको विश्वास छ । पाँच वर्षको बीचमा धेरै परिवर्तन आइसकेकाले हेटौंडामा यस पटकको स्थानीय तह निर्वाचनमा कडा प्रतिस्पर्धा हुने स्थानीय बुद्धिजीवीहरु बताउँछन् ।

प्रतिक्रिया दिनुहोस
लोकप्रियतावादको भ्रमबाट मुक्त हुन एमालेको आह्वान

  नेकपा एमालेले तीव्र आर्थिक वृद्धि, सामाजिक न्याय, सुशासन, पारदर्शिता र राष्ट्रिय स्वाभिमानको...

हिमाली क्षेत्रमा पनि फागुन २१ गते नै निर्वाचन हुन्छ : प्रधानमन्त्री

    प्रधानमन्त्री सुशीला कार्कीले हिमाली जिल्लामा पनि फागुन २१ मै निर्वाचन हुने...

साँखुमा बस दुर्घटना, २० जना बढी घाइते

    जहरसिंह पौवाबाट काठमाडौं तर्फ आउँदै गरेको बस साँखुमा दुर्घटना हुँदा २०...

२३ र २४ गतेको घटना योजनाबद्ध थियो : डा. राजन भट्टराई

    नेकपा एमालेका सचिव तथा काठमाडौँ निर्वाचन क्षेत्र नम्बर ४ का प्रतिनिधि...