सुध्रिँदै ओली-प्रचण्ड सम्बन्ध



हाम्रो इकोनोमि

 

 

नेकपा एमाले तथा नेकपा माओवादी केन्द्रबीच सम्बन्ध सुध्रिएको संकेत देखिएको छ ।  काठमाडौँमा सुरु भएको माओवादीको आठौँ राष्ट्रिय महाधिवेशनमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले एमाले अध्यक्ष केपी शर्मा ओलीलाई आफैँले फोन गरेर बोलाएका थिए ।

सम्बोधनका क्रममा प्रचण्डले आफूले ओलीलाई बोलाएको र उनले आउन चाहँदा चाहँदै झापामा रहेकाले आउन नक्ने तर महासचिव शंकर पोखरेललाई पठाउने भनेको प्रचण्डले बताए । भनेअनुसार नै महासचिव उपस्थिति भएकोमा धन्यवाद मात्रै भनेनन् बरु प्रचण्डले पाखेरेलको अभिव्यक्तिलाई प्रशंसा समेत गरे ।

त्यसरी अध्यक्ष ओलीलाई प्रचण्डले फोन गरेरै बोलाउनु सम्बन्ध सुधार्न चाहेको देखिएको बुझिएको छ । त्यस्तै, प्रचण्डले सम्बोधन गर्दै एमालेसँग पार्टी एकता गल्ती नभएको र फेरि पनि आत्मसमीक्षा गरौँ भन्ने प्रस्ताव समेत राखे ।

एमाले महासचिव शंकर पोखरेललाई प्रशंसा गर्दै प्रचण्डले भने, ‘महासचिवको हैसियतले उहाँले जे कुरा राख्नुभयो, त्यो पनि हामी सबैका लागि मननयोग्य कुरा नै उहाँले राख्नुभयो । र, सबभन्दा मलाई मन परेको कुरो के हो भने हामीले पार्टी एकता गरेर गल्ती गरेका थिएनौँ । म कमरेड शंकर पोखरेल र उहाँमार्फत् सिङ्गो नेकपा एमालेका साथीहरूलाई भन्न चाहन्छु– हामीले गल्ती गरेका थिएनौँ । फेरि एकचोटि आत्मसमीक्षा गरौँ ।’

यसरी आत्मसमीक्षा गरौँ र आगामी दिनमा पनि एकता सम्भव हुनसक्छ भन्ने आशय प्रचण्डले व्यक्त गर्नुलाई एमाले माओवादीबीच पुनः एकता हुनसक्ने संकेत देखिएको छ ।

प्रचण्डले थपे, ‘कहाँ थियो त गल्ती ? के कारणले हामी दुई ठाउँमा हुन पुग्यौँ ? के कारणले यत्रो सपना हामी आफैँले भत्कायौँ ? त्यसको समीक्षा गरौँ । हामीले गल्ती गरेका थिएनौँ । हाम्रो उद्देश्य गलत थिएन । हामीले यो देशलाई स्थायित्व र समाजवादतिर लैजाने सपना पूरा गर्ने उद्देश्य राखेका थियौँ । उहाँ (शंकर पोखरेल) ले जुन स्पिरिटमा राख्नुभएको छ, हाम्रा लागि पनि त्यो चिन्तन मनन गर्न लायक छ ।’

महाधिवेशनको उद्घाटन सत्रमा एमाले अध्यक्ष ओलीले प्रचण्डसँग भनेअनुसार महासचिव पोखरेललाई उपस्थिति भएका थिए । कार्यक्रमलाई सम्बोधन गर्दै पोखरेलले भनेका थिए, ‘नेकपाको गठन गलत थिएन, त्यो ऐतिहासिक आवश्यकता थियो तर त्यसलाई जोगाउन नसकेकोमा मलाई पछुतो छ ।’

एमाले महासचिव पोखरेलले कार्यक्रममा भने, ‘नेपाली वामपन्थी आन्दोलन जुन बाटोमा हिँड्दैछ, त्यो सही बाटोमा हिँड्दैछ त ? हिँड्दै छैन । लक्ष्य उद्देश्य एकातिर छ, कार्यनीतिक प्रश्नमा रहेका मतभेदका कारणले हामी बोल्न छोडेका छौँ । हेर्न छोडेका छौँ । यसप्रकारको चिन्तनले नेपाली समाजको रूपान्तरणको हाम्रो ध्येय पूरा हुन सक्छ ? किमार्थ हुन सक्दैन ।’

पोखरेलले थपे, ‘नयाँ सोच र सङ्कल्पका साथ नेपालको कम्युनिस्ट आन्दोलनलाई कसरी अगाडि बढाउने भन्ने प्रश्न अगाडि नबढाइकन नेता नेताबीचका अन्तरकलहमा आधारित भएर नीति बनाउने, त्यही नीतिमा पक्षमा बहकिएर पार्टीका मान्यताहरू बनाउने खालका सोचहरूबाट आन्दोलन अगाडि बढ्छ भने यसले राष्ट्र र जनताको हित गर्न सक्दैन भन्ने प्रश्नलाई सबैले मनन गर्न जरुरी छ ।’

पोखरेलले विकासमा मामिलामा पनि राजनीतिक एकता औँल्याउँदै प्रश्न गरे, ‘अधिकारका मामिलामा हामी क्रान्तिका नायक, क्रान्तिका च्याम्पियन त हुन्छौँ, तर कर्तव्यको मामिलामा, राष्ट्रको समृद्धिका मामिलामा हामीले हाम्रो कर्तव्यलाई कुन रूपमा पूरा गर्न सक्यौँ ?’

प्रतिक्रिया दिनुहोस
नबिल बैंकको केन्द्रीय कार्यालयमा नर्सिङ रुमको सुरुवात

    नबिल बैंक लिमिटेडले तीनधारास्थित केन्द्रीय कार्यालयमा नबिल नर्सिङ रुमको सुरुवात गरेको...

बागमतीका मुख्यमन्त्री बानियाँको घर र कार्यालयमा छापा

    बागमती प्रदेशका मुख्यमन्त्री इन्द्र बानियाँको घर र कार्यालयमा सम्पत्ति शुद्धीकरण विभागले...

संवैधानिक परिषद्सम्बन्धी अध्यादेश पुन: स्वीकृतिका लागि राष्ट्रपतिलाई पठाउने

  सरकारले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुन: सिफारिस गरेको छ ।...

सरकारद्वारा ५२ मिलियन अमेरिकी डलर ऋण स्वीकार

    सरकारले विश्व बैंकबाट प्राप्त हुने ५२ मिलियन अमेरिकी डलर बराबरको सहुलियतपूर्ण...