गगन थापाले सिटौला समूह छाडेको उद्घोष
नेपाली कांग्रेसभित्र ‘तेस्रो धार’ भनिने कृष्णप्रसाद सिटौला नेतृत्वको समूहको बैठकमा केन्द्रीय सदस्य गगन थापा अनुपस्थित भएका छन् । सिटौलानिकट नेताहरूले बैठकमा थापालाई बोलाइएको भएपनि नआएको जनाएका छन् ।
पूर्वमहामन्त्री सिटौलाले मन्त्रिपरिषद विस्तार र महाधिवेशनको सन्दर्भमा आफूनिकट नेताहरूसँग छलफल गर्न बैठक डाकेपनि थापा अनुपस्थित भएका हुन् । यसअघि नै वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका बैठकमा नियमित सहभागी हुँदै आएका थापाले काठमाडौंको स्थानीय अधिवेशनमा पूर्वमहामन्त्री प्रकाशमान सिंहसँग गठबन्धन गरेका थिए ।
काठमाडौं महानगरसहित अधिकांश पालिकामा सिंह-थापा गठबन्धनका उम्मेदवारले जितेका छन् । संस्थापन पक्षसँग सिटौला पक्षले काठमाडौंलगायत अधिकांश स्थानमा तालमेल गरेको छ । औपचारिकरूपमा सिटौला समूह छाडेको उद्घोष गरेपनि थापा संस्थापनइतर समूह एक हुनुपर्ने पक्षमा उभिँदै आएका छन् ।
यसैबीच सिटौलाले जमलमा बोलाएको बैठकमा नगएका थापा चाक्सीबारीस्थित सिंह निवासमा ‘अलग बैठक’ मा उपस्थित हुँदै छन् । ‘काठमाडौंको पालिका अधिवेशन समीक्षा गरी क्षेत्र र जिल्लाका उम्मेदवारको व्यवस्थापन गर्ने विषयमा प्रकाश दाइ र गगन दाइसहित नेताहरू छलफलमा जुट्दै हुनुन्छ’, बैठकमा एक नेताले भने ।
१३ औं महाधिवेशनमा सिटौला नेतृत्वको टिमबाट थापा महामन्त्रीको उम्मेदवार रहेका थिए । लामो समय सिटौलाको साथ रहेका थापाले १४ औं महाधिवेशनमा महामन्त्रीमा लड्ने घोषणा गरिसकेका छन् । सिटौलाले भने थापाको विकल्पमा प्रदीप पौडेललाई महामन्त्रीको उम्मेदवारको रूपमा अघि बढाउने तयारी गरेका छन् ।