सूर्य नेपालले काठमाडौंको बुढानिलकण्ठमा ल्याउँदै पाँचतारे होटल



हाम्रो इकोनोमि

 

 

नेपालको चुरोट बजारमा एकछत्र अधिपत्य बनाएको सूर्य नेपाल प्रालिले ६ अर्ब लगानी गरेर काठमाडौंको बुढानिलकण्ठमा पाँचतारे होटल बनाउने भएको छ।  सूर्य नेपालले बुढानिलकण्ठमा बनाउन लागेको यो होटलको आर्किटेक्चरल डिजाइनसमेत तयार भइसकेको कम्पनीका सिनियर भाइस प्रेसिडेन्ट रवि केसीले बताएका छन्।

उद्योग विभागबाट स्वीकृति पाएसँगै अब सबै कागजी प्रक्रिया सकेर निर्माण कार्य अघि बढाउने तयारी गरेको उनले बताए। यो होटल नेपालको हस्पिटालिटी क्षेत्रमा नै नयाँ आयाम थप्ने स्तरको हुने बताइएको छ।

कम्पनीले होटल स्थापनाका लागि चार वर्षअघि नै प्रक्रिया सुरु गरेको थियो। त्यसको लगानी भने विभागबाट हालै स्वीकृत भएको हो। केसी भन्छन्, ‘होटलका लागि उद्योग विभागमा हामीले प्रक्रिया सुरु गरेको चार वर्षपछि मात्रै अनुमति पाएका छौं। विभागमा पाँचजना महानिर्देशक फेरिए, उहाँहरु सबैसँग कुरा गर्दा पनि उद्योग दर्ता गर्न सकिएको थिएन। एउटा प्रणालीमा चल्ने कम्पनीका लागि पनि अति धेरै झन्झट बेहोर्नु निकै पीडादायक हो।’

कम्पनीले होटलका लागि लगानी मोडेलमा टुंगो लगाउन नसक्दा पनि विभागबाट अनुमति पाउन समय लागेको थियो। विभागले यही असोज १० गते सूर्य नेपालको पाँच अर्ब ९९ करोड रुपैयाँ होटलमा लगानीका लागि स्वीकृत गरेको हो। यो लगानी शतप्रतिशत स्वदेशी (सूर्य नेपाल प्रालिको) हुने बताइएको छ। यद्यपि, सूर्य नेपाल आफैंमा भने भारतको आईटीसी लिमिटेडको बहुमत सेयर लगानी भएको कम्पनी हो।

आईटीसीको यसमा ५९ प्रतिशत स्वामित्व छ। बाँकी ४१ प्रतिशतमा ३९ प्रतिशत सेयर नेपाली व्यक्ति तथा संस्थाको नाममा छ भने दुई प्रतिशत सेयर बेलायती कम्पनी ब्रिटिस अमेरिका टोबाको (इन्भेष्टमेन्ट) लिमिटेडको छ। सूर्य नेपालमा बहुमत लगानी भएको आईटीसीले भारतमा एफएमसीजी, सूचना प्रविधि, एग्री बिजनेस, पेपर इत्यादिका साथै प्रिमियम स्तरका होटलहरुमा पनि लगानी गरेको छ।

यो कम्पनीले आईटीसी होटल्सको विङ बनाएर विभिन्न प्रिमियम ब्रान्डमा विशेषगरी पाँचतारेस्तरका होटल चेन संचालन गर्दै आएको छ। आईटीसी होटल्सले अन्तर्राष्ट्रिय होटल चेन म्यारिओटको ‘द लग्जरी कलेक्सन’ सँग पनि विशेष साझेदारी गरेर आईटीसी ग्राण्ड भारत, आईटीसी ग्राण्ड चोला, आईटीसी मौर्य, आईटीसी सोनार, आईटीसी रोयल बेङ्गाल, आईटीसी ग्राण्ड सेन्ट्रल, आईटीसी विन्डसोर, आईटीसी गार्डेनिया इत्यादि ब्रान्ड नाममा भारतमा मात्र करिब डेढ दर्जन प्रिमियम होटल तथा रिसोर्ट संचालन गरिरहेको छ।

नेपालमा पनि सूर्य नेपालले ल्याउन लागेको होटल आईटीसी होटल्सकै छाताअन्तर्गत भएका कुनै ब्रान्डमा आउने सम्भावना रहेको छ। यद्यपि अहिले होटल कुन नाममा आउने भन्ने खुलाइएको छैन। सूर्य नेपालले होटल स्थापनाका लागि बुढानिलकण्ठ नगरपालिकाको वडा नम्बर ३ र ६ मा ७२ रोपनी जग्गा लिइसकेको छ। कम्पनीले २०५२ सालमा नै खरिद गरेको उक्त जग्गामा नै होटल ल्याउन लागेको हो। यो जग्गा कम्पाउन्डिङ गर्नका लागि मात्रै १० करोड रुपैयाँ खर्च गरिसकेको केसीले बताएका छन्।

अहिले होटल बनाउन लागिएको क्षेत्रफलको बीचमा नक्सामा बाटो समेत देखिएको छ भने चार आना हाराहारी सार्वजनिक जग्गा पनि अतिरिक्त छ। यसको निकासको विकल्पसमेत सोचिसकेको सूर्य नेपालले यी दुई विषय जति चाँडो कागजी रुपमा हल हुन्छ, उति नै चाँडो होटल निर्माणको काम थाल्ने जनाएको छ।

यस्तो हुनेछ होटल
केसीका अनुसार, प्रस्तावित होटलमा एक सय ९० वटा कोठा रहनेछन्। यस्तै, एकपटकमा चार सय ६५ जनालाई सर्भिस दिनसक्ने क्षमताको रेष्टुरेन्ट पनि हुनेछ। यो होटलले स्थानीय तथा विदेशी कामदार गरी ३०६ जनालाई रोजगारी प्रदान गर्ने बताइएको छ।

बुढानिलकण्ठमा आउने सूर्य नेपालको होटलले सबैभन्दा धेरै लक्जरी सेग्मेन्टमा फोकस गर्ने बताइएको छ। भारतीय कम्पनी आईसीटीले भारतमा प्रयोग गर्दै आएको पाँचतारे स्तरको सेवा सुविधा यो होटलमा पाइनेछ। होटलमा स्वमिङ पुल, हेल्थ क्लब, स्पा लगायतका आधारभूत सुविधा पनि छुट्ने छैनन्। होटलका लागि आवश्यक विद्युत आपूर्तिका लागि तीन सय केभीए क्षमताको प्रसारण लाइन चाहिने बताइएको छ।

सूर्य नेपाल नेपालमा सफल मध्येको एक बहुराष्ट्रिय कम्पनी मानिन्छ। यसले बारा जिल्लामा चुरोट उद्योग राखेको छ। यसकै व्यापारबाट कम्पनी नेपालमा बर्सेनि बुझाउने करमा सर्वाधिक ठूला करदातामध्ये पनि पर्दै आएको छ।

यसअघि सूर्य नेपालले प्रिमियम गार्मेन्ट उत्पादनमा समेत हात हालेको थियो। तर माओवादी द्वन्द्वकालबाट उब्जिएको श्रमिक विवाद समाधान नहुँदा नेपालकै राम्रो तलब-सुविधा दिँदै आएको सूर्य नेपालको मोरङको टंकीसिनुवारीस्थित गार्मेन्ट कारखाना सधैंका लागि बन्द हुन पुगेको थियो।

प्रतिक्रिया दिनुहोस
सीमामा तारजाली लाउन १ खर्ब बजेट छुट्याउँ : हर्क साम्पाङ

    श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ सीमानामा तारबार गर्नुपर्ने बताएका छन्...

नेपालले भारतको जमिन मिचेको भन्दा ताली पिट्ने सांसदहरू को-को हुन् : एमाले

     नेकपा एमालेले नेपालले भारतको जमिन मिचेको भनेर प्रधानमन्त्री बालेन शाहले भन्दा...

पोखराबाट दुबईका लागि नियमित अन्तर्राष्ट्रिय उडान हुने

     पोखराबाट संयुक्त अरब इमिरेट्सको दुबई सहरका लागि नियमित अन्तर्राष्ट्रिय व्यावसायिक हवाई...

स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा, तेलको मूल्य बढ्ने संकेत

  इरानले आज स्ट्रेट अफ हर्मुज पूर्णरूपमा बन्द गरेको घोषणा गरेको छ ।...