मधेसका एमाले नेताहरु ओलीसँग बिच्किए



हाम्रो इकोनोमि

 

 

नेकपा एमालेको जारी केन्द्रीय कमिटी बैठकमा प्रदेश २ बाट समूह छलफलको निष्कर्ष सुनाउने टोली नेता चयन भएका रामचन्द्र मण्डललाई स्थायी कमिटी सदस्य रघुवीर महासेठले बोल्न नदिएको विषयमा शीर्ष नेताले चासो व्यक्त गरेका छन् । अध्यक्ष केपी शर्मा ओली, महासचिव ईश्वर पोखरेल तथा उपमहासचिव एवम् संगठन विभाग प्रमुख विष्णु पौडेलले रघुवीरलाई सचेत गराउने भन्दै मण्डललाई बोल्न नदिइएको विषय गम्भीर रुपमा लिइने बताएका छन् । अध्यक्ष ओलीले रघुवीरको निर्णयलाई ‘विवेकशून्य’ भनेको प्रदेश २ का एक नेताले बताए ।

समूहगत छलफलमा प्रदेश २ का केन्द्रीय सदस्यहरुले मण्डललाई टोली नेता र निर्मला देवकोटालाई उपनेता बनाएका थिए । त्यस्तै सरोज यादव र बद्री मैनालीलाई बहस नोटका जिम्मा दिइएको थियो । शुरुमा प्रदेश अध्यक्ष ज्वालाकुमारी शाहलाई टोली नेता बनाउने कुरा उठे पनि महासेठले नै धनुषा इन्चार्ज रामचन्द्र मण्डललाई बनाउन सुझाव दिएका थिए । ज्वाला र रामचन्द्र दुवैजना माओवादीबाट नेकपा एकता प्रक्रियासँगै एमाले भएका हुन् ।

समूहगत छलफलको टिपोट सकिएर शनिवार टाइप गर्ने ठाउँ नभएपछि हातैले लेखेका बुँदाहरु पढ्न मण्डल तयार भए । स्थायी कमिटी सदस्यहरु छलफलमा नबस्ने भनिएको थियोे । अन्तिममा रघुवीरले ‘खोइ के के बनाउनुभयो ?’ भन्दै टिपोट मागेर हेरे । त्यसको पहिलो बुँदामै लेखिएको ‘अध्यक्ष कमरेडको राजनीतिक प्रतिवेदनमा शुरुमै यो पार्टी नेकपा एकताको निरन्तरता हो भनेर प्रष्ट भाषामा लेख्नुभएकोमा धन्यवाद दिन चाहान्छौं । अब १० बुँदे कार्यन्वयनसँगै जेठ २ को एमालेका संरचनाहरु फर्किदा नेकपा एकताका बेला तत्कालीन माओवादीका जिम्मेवारी पनि यथावत हुनुपर्छ ।

यो बुँदा नै महासेठलाई मन परेन । यसो गर्दा महासेठको प्रदेश इन्चार्ज पद नरहने भयो । त्यसैले उनले त्यो काट्न लगाए । काट्न कसैले नमानेपछि विवाद भयो । महासेठले ‘त्यसो भए तपाई नबोल्नुस’ भनेर मण्डललाई निर्देशन दिए । मण्डलले ठीक छ त्यसो भए म बोल्दिन भने । मण्डल नबोल्ने भएपछि कसले टोली नेताको रुपमा प्रस्तुत गर्ने भन्ने विवाद भयो । महासेठले सरोज यादव, टेकवहादुर बलम्पाकी लगायतलाई बोल्न भने । तर एउटा कमरेडलाई अपमान गरिएको भन्दै कोही बोल्न नमानेपछि अन्तिममा बद्री मैनालीले बोलेका थिए ।

प्रदेश २ को प्रस्तुति फितलो भएको चर्चा समेत बैठकमा चल्यो । अन्तिममा महासचिवले ‘कसैको छुटेको कुरा भन्नु छ ?’ भनेर सोधेपछि रामचन्द्र मण्डल उठेर बोल्न समय मागे । उनले आफूलाई टोली नेता भएर पनि बोल्न नदिइएको भन्दै यस्तो भयो भने पूर्व माओवादीको संरक्षण कसले गर्ने ? भन्ने भाबुक प्रश्न गरे । उनले पार्टी अध्यक्षले दस्तावेजमै नेकपा एकता प्रक्रियाको निरन्तरता भनेको भन्दै पूर्व माओवादीलाई कोटा नछुट्याउने हो भने महाधिवेशन प्रतिनिधि नै आउन नसकिने अवस्था रहेको बताए ।

मण्डलको कुरालाई शीर्ष नेताले गम्भीर रुपमा लिए । अध्यक्ष ओलीले उनको कुरा बुझ्न खोजे । त्यतिन्जेल रघुवीर हिडिसकेका थिए । तर तीनै जना शीर्ष नेताले प्रदेश २ को कुरा गम्भीर रहेको र कसैमा अन्याय हुन नदिइने बताएको ती केन्द्रीय सदस्यले जानकारी दिए ।

प्रदेश २ बाट एमाले स्थायी कमिटीमा रघुवीर महासेठ र सत्यनारायण मण्डल छन् । तर दुवै नेताको शैली ठीक नभएको भन्दै युवा केन्द्रीय सदस्यहरुले प्रदेश २ को सन्दर्भमा विचार गर्न र माथिल्लो तहबाट पदाधिकारीलाई नै इन्चार्ज बनाउन सुझाव दिएका छन् । प्रदेश २ मा माओवादीबाट नेकपा एकता प्रक्रियाकै निरन्तरका रुपमा ठूलो संख्यामा नेता कार्यकर्ता एमाले बनेका छन् । चार/पाँच जना मेयर/उपमेयरमात्र होइन प्रदेशसभाका ४ सदस्य र प्रतिनिधिसभाका एक सदस्य एमाले बनेका छन् । प्रभु साह, ज्वालाकुमारी साह, रामचन्द्र मण्डल र टेकवहादुर बलम्पाकी नेकपादेखि नै केन्द्रीय सदस्य छन् ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...