निर्वाचनमा बहुमत ल्याउने एमालेका ३८ रणनीति



हाम्रो इकोनोमि

 

 

एमाले अध्यक्ष केपी ओलीले एमालेलाई पुनः राज्य सञ्चालनको केन्द्र भागमा स्थापित गराउन पार्टीले विभिन्न ३८ वटा रणनीति र कार्यभार पूरा गर्नुपर्ने प्रस्ताव गरेका छन् । पार्टीको आगामी १५ देखि १७ असोजसम्म ललितपुरमा हुने पहिलो विधान महाधिवेशनका लागि प्रस्ताव गरेको राजनीतिक प्रतिवेदनमा पार्टीलाई राज्यत्तामा पुनस्र्थापित गर्न अबका दिनमा ३८ वटा काम अनिवार्य गर्नुपर्ने प्रस्ताव गरेका हुन् ।

७९ पृष्ठ लामो राजनीतिक प्रतिवेदनको आगामी कार्यभार शीर्षकमा अध्यक्ष ओलीले राज्यसत्तामा पुग्न चरणबद्ध अभियानको प्रस्ताव गरेका छन् । जसअन्तर्गत उनले पार्टीलाई राज्य सञ्चालनको केन्द्रमा स्थापित गर्न नौवटा रणनीति प्रस्ताव गरेका छन् । आगामी निर्वाचनमार्फत पार्टीलाई पहिलो बनाउन भने उनले चार रणनीति अघि सारेका छन् ।

पार्टीलाई सत्तामा स्थापित गर्न सरकारका गलत कामका विरोध र प्रतिवाद गर्नुपर्ने भन्दै उनले यसका लागि तीनवटा रणनीतिको प्रस्ताव गरेका छन् । पार्टीलाई स्थापित गर्न राष्ट्रिय स्वाभिमानको अभिवृद्धि गर्ने कार्यक्रम अघि सार्नुपर्ने भन्दै यसका लागि पाँच रणनीति प्रस्ताव गरेका छन् ।

प्रतिवेदनमा लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षासँगै सांस्कृतिक रूपान्तरणसम्मका योजना प्रस्ताव गरेका छन् । पार्टीले अघि सारेको समृद्धिको यात्रालाई निरन्तर अघि नबढाएसम्म पार्टीलाई राज्यसंयन्त्रमा पुनस्र्थापित गर्न नसकिने बताएका ओलीले प्रतिवेदनमै यसका लागि विभिन्न १० वटा कार्यनीति र रणनीति अपनाउन प्रस्ताव गरेका छन् ।

ओलीले पेस गरेको यो प्रतिवेदनलाई केन्द्रीय कमिटी बैठक र विधान महाधिवेशनको हलले पारित गरेको अवस्थामा एमालेले राज्यसत्ता र शक्तिमा पुग्न ओलीका यी रणनीतिलाई पछ्याउने छ ।

यस्ता छन् ओलीका ३८ रणनीति

पार्टीलाई राज्य सञ्चालनको केन्द्र भागमा पुनःस्थापना गर्ने
– पार्टीलाई वैचारिक रूपले सस्पष्ट, संगठनात्मक दृष्टिले चुस्त र सुदृढ, भावनात्मक रूपमा एकताबद्ध, जनतासँग घनिष्ट रूपमा आवद्ध मुलुकको बहुमत प्राप्त पहिलो शक्ति बनाउने ।
– सदस्यता नवीकरण, विस्तार र गुणस्तर वृद्धि गर्दै अर्को महाधिवेशनसम्म दस लाख पार्टी सदस्य पु¥याउने ।
– महाधिवेशन, अधिवेशन, बैठक र प्रशिक्षणहरू नियमित परिणाममुखी र प्रभावकारी बनाउने ।
– विभाजनका असर न्यून पाने भ्रममा परेका साथीहरूलाई पार्टीमा फर्काउन, विभाजनकारीहरूका अवसरवादी र जनविरोधी क्रियाकलापबारे जनतामा स्पष्ट पार्ने ।
– पार्टीलाई नेपाली कम्युनिस्ट आन्दोलनको मुख्य शक्तिका रूपमा थप सुदृढ गर्न अन्य वामपन्थी समूहभित्रका असल पंक्तिलाई गोलबन्द गर्ने ।
– प्राकृतिक विपत्तिलगायत जनताका सुख–दुःख, पीडा र कष्टमा अग्रपंक्तिमा उभिएर सेवा गर्ने ।
– गुटबन्दी, भ्रष्टता र सांस्कृतिक विचलनका विरुद्ध पार्टीमा शुद्धीकरण र सुदृढीकरण अभियान सञ्चालन गर्ने ।
– जनसंगठनहरूलाई आफ्नो वर्ग, समुदाय या पेसाका वास्तविक नेताका रूपमा गतिशील, विस्तारित र प्रभावकारी बनाउने ।
– पार्टी स्कुलका माध्यमबाट नियमित प्रशिक्षण सञ्चालन गर्दै पार्टी पंक्तिको चेतना माथि उठाउने पार्टीको नीति अनुसन्धान प्रतिष्ठानद्वारा नयाँनयाँ विषयहरूको अनुसन्धान र विभिन्न नीतिहरूको विश्लेषणसहित पार्टीलाई आवश्यक सुझाव र पृष्ठपोषण गर्ने ।

आगामी निर्वाचनमा पार्टीलाई बहुमतप्राप्त पहिलो शक्तिका रूपमा स्थापित गर्ने

– वडा, पालिका र निर्वाचन क्षेत्र तहमा निर्वाचनको तयारीका काममा तीव्रता दिने ।
– मतदाता नामावलीलगायत कानुनी र प्राविधिक पक्षलाई चुस्त राख्ने ।
– विगत निर्वाचनमा विजयी भएका स्थानमा पार्टीले गरेका काम प्राप्त गरेका उपलब्धि पहलहरूका बारेमा जनताका बीचमा स्थापित गर्ने व्यवस्थित सामग्री तयार गरी जनताका बीचमा स्थपित गर्ने ।
– शक्ति सन्तुलनको अवस्था, विपक्षी रणनीति र जनभावनाको सूक्ष्म अध्ययन र विश्लेषण गर्ने ।

– अवसरवादी र दक्षिणपन्थी गठबन्धन र यसको सरकारका गलत कामको विरोध र प्रतिवाद गर्ने

– वर्तमान गठबन्धनको अवसरवादी, स्वार्थी र राजनीतिक अस्थिरता सिर्जना गर्ने चरित्रबारेमा जनतालाई स्पष्ट पार्ने ।
– गठबन्धन सरकारबाट गरिने जनविरोधी, राष्ट्रविरोधी क्रियाकलापको सशक्त भन्डाफोर र विरोध गर्ने ।
– प्रतिपक्षका रूपमा पार्टीको भूमिकालाई सशक्त, सिर्जनात्मक र प्रभावकारी बनाउने ।

राष्ट्रियताको सुदृढीकरण, राष्ट्रिय हितको रक्षा र राष्ट्रिय स्वाभिमानको अभिवृद्धि गर्ने

– राष्ट्रिय हितमा केन्द्रित परराष्ट्र नीति अवलम्बन गर्ने ।
– छिमेकीलगायत सबै मित्रराष्ट्रहरूसँग सार्वभौम समानता, पारस्परिक लाभ र सम्मान तथा अहस्तक्षेपमाथि आधारित सुमधुर सम्बन्ध सञ्चालन गर्ने ।
– लिपुलेक, लिम्पियाधुरा, कालापानी र सुस्तालगायत नेपाली भूभाग फिर्ताका लागि निरन्तर पहल गर्ने ।
– असमान सन्धिहरूको पुनरावलोकन गर्ने ।
– छिमेकीहरूलगायत मित्रराष्ट्रहरूसँग गरिएका विकास साझेदारी र कनेक्टिभिटीका परियोजनाको प्रवद्र्धन गर्ने ।

लोकतन्त्रको सुदृढीकरण, संविधानको रक्षा र विकास एवं राजनीतिक स्थायित्वको सम्बद्र्धन गर्ने

– लोकतन्त्रलाई कमजोर गर्ने कुनै पनि प्रयाशको सशक्त विरोध गर्ने ।
– संविधानको रक्षा र विकासका लागि अग्रपंक्तिमा रहेर भूमिका खेल्ने ।
– मुलुकलाई विभिन्न बहानामा अस्थिरतातिर धकेल्ने, अन्योल सिर्जना गर्ने, सामाजिक सम्बन्ध र सौहाद्र्रतालाई खल्बल्याउने कुनै पनि प्रयास सफल हुन नदिने ।
– अनुभवहरूका आधारमा संघीय प्रणालीलाई थप सुदृढ र कामकाजी बनाउने ।

मौलिक सांस्कृतिक मूल्यहरूको सम्बद्र्धन र सांस्कृतिक रूपान्तरण

– मुलुकका सांस्कृतिक विशेषता, मौलिक पहिचान र सकारात्मक पक्षहरूको संरक्षण तथा सम्बद्र्धन गर्ने ।
– बहुजातीय, बहुभाषिक, बहुसांस्कृतिक र बहुआस्था समूहका विशेषता र विविधताको संरक्षण र राष्ट्रिय एकताको सम्बद्र्धन गर्ने ।
– सामन्ती, उपभोक्तावादी, व्यक्तिवादी र विकृत सांस्कृतिक परम्परा, मूल्य र मान्यताहरूको प्रतिवाद गर्ने ।
– पार्टी पंक्तिमा श्रमलाई सम्मान गर्ने, जातीय विभेद, छुवाछूत र महिला हिंसाका प्रवृत्तिलाई निर्मूलन गर्ने, मानवतावादी, वैज्ञानिक र सामूहिकताको चिन्तनलाई प्रवद्र्धन गर्ने ।​​​​​​​​​​​​​​

–  समृद्धिको यात्रालाई निरन्तर अगाडि बढाउने

– जीवनचक्रमाथि आधारित सामाजिक सुरक्षा प्रणालीलाई सुदृढ बनाउँदै सक्रिय उमेर समूह बाहिरका नागरिकलाई सर्वकालिक सामाजिक सुरक्षाका योजनाबाट संरक्षण गर्ने ।
– योगदानमाथि आधारित सामाजिक सुरक्षाको दायराभित्र सबै श्रमजीवीहरूलाई समेट्ने ।
– भूमि आयोगमार्फत भूमिहीन, सुकुम्बासी, घरबारविहीन दलितहरूलाई आवासको प्रत्याभूति गर्ने ।
– रोजगारी सिर्जना र स्वरोजगारीको विस्तारमार्फत् युवाहरूका समस्या समाधान गर्ने । कृषि पेसाबाट बाहिरिएका, तर अन्य उत्पादनसँग जोडिन नपाएका श्रमशक्तिको अधिकतम सदुपयोग गर्ने ।
– स्वास्थ्य बिमामार्फत जनताको स्वास्थ्य सम्बन्धी मौलिक हकको कार्यान्वयन गर्ने प्रत्येक प्रदेशमा सरकारी मेडिकल कलेज स्थापना र चिकित्सा शिक्षामा देखिएका विकृति र व्यापारीकरणको अन्त्य गर्ने ।
– विद्यालयको दायराबाहिर रहेका बालबालिकाहरूलाई विद्यालयमा अनिवार्य भर्ना, बीचैमा पढाइ छाड्ने स्थिति अन्त्य गर्ने । गुणस्तरीय शिक्षा सुनिश्चित गर्दै माध्यमिक तहसम्मको शिक्षामा ७० प्रतिशत प्राविधिक तथा व्यावसायिक र ३० प्रतिशत साधारण शिक्षाको अनुपात हुनेगरी प्राविधिक शिक्षाको पहुँच बढाएर मध्यमस्तरका प्राविधिक जनशक्ति निर्माण गर्न सहज पहुँचसहितको उच्च शिक्षा गुणस्तरीय तुल्याउँदै आवश्यक विज्ञ जनशक्ति निर्माण गर्ने ।
– सामन्तवादका अवशेषहरूको उन्मूलन गर्ने ।
– औद्योगीकरणमार्फत रोजगारी सिर्जना, राष्ट्रिय अर्थतन्त्रको सुदृढीकरण र परनिर्भरताको अन्त्य गर्ने ।
– भ्रष्टाचार, अनियमितता, राज्यकोषको दोहन, ठेक्कापट्टामा मिलिमतो र कमसल भौतिक निर्माण तथा सेवाग्राहीको शोषणलगायत विकृतिलाई अन्त्य गर्ने ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...