मन्त्रालय भागवण्डाले गठबन्धनमा लफडा, चार नेताको आ-आफ्नै दाउ



हाम्रो इकोनोमि

 

 

मन्त्रिपरिषद् विस्तारमा ढिलाइ हुनुका विविध कारणमध्ये प्रधानमन्त्री देउवाको सक्रियता महत्वपूर्ण हो । मंसिरमा कांग्रेसको १४ औं महाधिवेशन सम्पन्न गरेर पुनः सभापतिमा निर्वाचित हुने दाउमा रहेका देउवा मन्त्रिपरिषद विस्तारलाई महाधिवेशन प्रयोजनका लागि उपयोग गर्न चाहन्छन् । महाधिवेशनमा आकांक्षी रहने नेताहरूको व्यवस्थापनका लागि केही अवसर जोगाइराख्ने देउवाको तयारी छ ।

यहीकारण मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइले उनलाई अप्ठ्यारो पारेको छैन । आवरणमा दल विभाजनसम्बन्धी अध्यादेश देखिए पनि प्रधानमन्त्री स्वयं मन्त्रिपरिषद् विस्तारमा ढिलाइ चाहन्छन् । सत्तारुढ दलका नेताहरू नै आलोचनाका बाबजुद प्रधानमन्त्रीको ‘अतिरिक्त सक्रियता’ नहुनुलाई कांग्रेस महाधिवेशनसंग सम्बन्धित रहेको बताउँछन् ।

‘महाधिवेशनसम्म केही मन्त्रालय आफैंले राख्न पाए सजिलो हुन्छ भन्ने बुझाइ उहाँमा रहेको छ’, सत्तारुढ दलका एक नेताले भने । ती नेताका अनुसार सबै दलका आ-आफ्ना समस्या रहेकोले प्रधानमन्त्रीलाई पनि ‘हाइसन्चो’ भएको छ ।

प्रचण्डलाई मन्त्री छान्नै सकस

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई आफ्नै पार्टीको आन्तरिक व्यवस्थापनको तनाव छ । सार्वजनिकरूपमै प्रचण्डले ‘पार्टीभित्र सबै सांसद मन्त्रीको दाबेदार रहेको र मन्त्री नबनाए आत्महत्या गर्नेसम्मको धम्की आएको’ सुनाएका थिए ।

मन्त्रीका आकांक्षी धेरै भएपछि मन्त्री छान्न सकस प्रचण्डलाई सकस परेको छ । यहीकारण पार्टीका आन्तरिक संरचनाहरू पुनर्गठन गरेर केही नेताहरूलाई व्यवस्थापन गरिसकेपछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्ने प्रचण्डको योजना प्रधानमन्त्री देउवासँग मिलेको छ ।

‘माओवादी पार्टी जोगाउनै प्रचण्डजीलाई सकस छ । यो पार्टी चल्छ भन्ने आत्मविश्वास नै उहाँमा छैन । मन्त्री छान्न अप्ठ्यारो परेपछि उहाँले पनि ढिलाइमा साथ दिनुभएको छ’, सत्तारुढ दलका नेताको भनाई छ ।

माधवलाई ‘वैधानिकताको खाँचो’

नेकपा एमालेबाट विभाजित भएर बनेको माधव नेपाल नेतृत्वको नेकपा (एकीकृत समाजवादी) को वैधानिकतासम्बन्धी मुद्दा सर्वोच्च अदालतमा विचाराधीन छ । एमाले विभाजन अवैध रहेको र सभामुखले साथ दिएको आरोपमा संसदमा समेत अवरोध छ । एमाले अध्यक्ष केपी शर्मा ओलीले दिएको मुद्दाको फैसलापछि मात्रै मन्त्रिपरिषद् विस्तार गर्नुपर्ने पक्षमा नेकपा एसका अध्यक्ष नेपाल रहेका छन् । पार्टीबाट मन्त्री बन्नेको नाम स्थायी कमिटीबाट अनुमोदन गराउने नेपालको तयारी भए पनि पहिले पार्टीको ‘वैधानिकता’ को पखाइमा उनी छन् । ‘माधवजीको पार्टी वैधानिक हुने नहुने पनि टुंगो लाग्नुपर्‍यो । उहाँको पार्टीले वैधानिक पाएपछि बल्ल उहाँहरू क्याबिनेटमा आउनुहोला’, नेपाली कांग्रेसका एक नेताले भने ।

जसपालाई पुनः विभाजनको डर

संयुक्त सरकारले ल्याएको राजनीतिक दलसम्बन्धी अध्यादेशको मारमा परेको जनता समाजवादी पार्टीमा पुनः विभाजनको डर कायमै छ । जसपा अध्यक्ष उपेन्द्र यादवले ‘लोकतन्त्रविरोधी अध्यादेश खारेज नभएसम्म मन्त्रिपरिषद्ले पूर्णता नपाउने’ घोषणा गरिसकेका छन् । दल विभाजनको विद्यमान खुकुलो व्यवस्था कायमै रहेमा मन्त्री बन्न नपाउने सांसदहरूले जसपा फुटाउने खतरा कायमै छ । सत्तारुढ गठबन्धनको बैठकमै यादवले आफ्नो पार्टी फेरी फुट्न सक्ने भएकोले अध्यादेश निष्क्रिय बनाउन माग गरिसकेका छन् । ‘मन्त्रिपरिषद् विस्तार गर्ने हो भने उपेन्द्रजीको पार्टी फुट्ने भयो । त्यसैले उहाँलाई सहज हुने व्यवस्था गरेपछि मात्रै अगाडि बढ्न सकिन्छ’, कांग्रेस नेताको भनाई छ ।

विकल्पमा यस्तो प्रस्ताव

सत्तारुढ गठबन्धनमा रहेका सबै नेताको माथि उल्लेखित ‘डर’ निरुपणको खोजी नगरिएको भने होइन । गठबन्धनको बैठकमा २-३ चरणमा विस्तार गरेर मात्रै मन्त्रिपरिषद्लाई पूर्णता दिने प्रस्ताव पनि भएको थियो । अहिले नै त्यस्तो प्रस्तावमा सहमति भइसकेको छैन । ‘सबै पार्टीबाट केही मन्त्री सरकारमा सहभागि गराउने र केही मन्त्रालय बाँकी नै राख्ने की भन्ने पनि कुरा आएको छ’, सत्तारुढ कार्यदलका एक नेताले भने ।

मन्त्रिपरिषद् विस्तारमा भएको ढिलाइले सार्वजनिक आलोचना बढ्दै गएका कारण अब सबै समस्याको समाधान खोजेरमात्रै अगाडि बढ्ने प्रस्ताव पनि गठबन्धनको बैठकमा प्रवेश गरेको थियो । ‘जति ढिलो हुनु भइसक्यो, अब जे पर्छ पर्छ सबै मिलाएर मात्रै विस्तार गरौं भन्ने पनि छलफल भयो’ गठबन्धन स्रोतको भनाइ छ ।

टुंगिएको छैन भागबण्डा

मन्त्रिपरिषद्ले पूर्णता पाउनुअघि सत्तारुढ गठबन्धनमा मन्त्रालय भागबण्डाको कुरा मिल्नुपर्छ । अहिलेसम्म मन्त्रालय बाँडफाँटमै कुरा नमिलेको गठबन्धनका नेताहरू बताउँछन् । छलफलको क्रममा नेकपा एस र जसपाले धेरै मन्त्रालय मागेको कांग्रेस नेताहरू बताउँछन् । संख्यामै सहमति नभएका कारण कुन मन्त्रालय कसले लिने भन्ने टुंगो नलागेको कांग्रेस नेताहरू बताउँछन् ।

‘माधवजी र उपेन्द्रजीको पार्टीले धेरै मन्त्रालय दावी गर्नुभएको छ । बाँडफाँट स्वभाविक होस भन्ने हाम्रो भनाइ छ । जुन दिन मन्त्रालयको संख्या टुंगिन्छ त्यही दिन मन्त्रालय पनि टुंगिन्छ’, गठबन्धनमा सक्रिय कांग्रेस नेताले भने ।

प्रतिक्रिया दिनुहोस
रास्वपा बागमतीका उपसभापतिले पनि छाडे पार्टी

  राष्ट्रिय स्वतन्त्र पार्टीका बागमती प्रदेश उपसभापति दिनेश हुमागाईँले पार्टी छाडेका छन् ।...

गुल्मी-२ मा गोकर्ण विष्टको भाषणभन्दा संवादमा जोड

    नेकपा एमालेबाट गुल्मी जिल्ला क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेका...

भक्तपुर क्षेत्र नं.२ नेकपा (संयुक्त) का उम्मेदवार लोककृष्ण दाहाल नै एमालेमा प्रवेश

  फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा भक्तपुर क्षेत्र नं. २ मा नेकपा...

महेश बस्नेतलाई भेटन साँझसम्म कुरिरहे बालकोट खल्पिटारका जेष्ठ नागरिक

  साँझ ढल्किसकेको थियो । घरघर र सडकमा बत्तिको उज्यालो देखिन थालेको थियो...