मन्त्रीमण्डल बिस्तार र पार्टी महाधिवेशनले देउवा तनावमा



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसका सभापति समेत रहेका प्रधानमन्त्री शेरबहादुर देउवाले सत्ता चलाएको एक महिनामा पनि मन्त्रिमण्डल विस्तार गरेका छैनन् । सत्ता गठबन्धनका सांसदहरु मन्त्री बन्नका लागि बालुवाटार र आफ्नो दलका नेताहरुको घरमा दौडधूप चलाइरहेपनि देउवा अझै तयार छैनन् ।

देउवाले मन्त्रिमण्डल विस्तार नगर्नुमा नेकपा एमालेको माधवकुमार नेपाल पक्ष नै मुख्य कारण हो । नेपाल पक्ष सरकारमा आउन तयार भइसकेको छैन । देउवा बरु समय लागोस् माधव नेपालले एमाले विवाद वार कि पार लगाएपछि मन्त्रिमण्डल विस्तारको पक्षमा छन् । अहिले नै मन्त्रिमण्डल विस्तार गर्दा माधव नेपाल पक्षलाई नोक्शान पर्न सक्छ ।

मन्त्री बन्नकै लागि केपी शर्मा ओली खेमा छाडेर नेपाल खेमामा गएकाहरु छन् । उनीहरु मन्त्रिमण्डल विस्तारमा परेनन् भने नेपाललाई धक्का लाग्न सक्छ । अर्कोतर्फ, मन्त्री बनाउने गरी नेपालले थप सांसदहरु आफ्नो पक्षमा पार्न सक्छन् । मन्त्रिमण्डल विस्तार पर सार्दा पदकै लागि माधव नेपाललाई साथ दिन तयार हुनेहरु थपिन सक्छन् ।

जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव पनि समस्यामा छन् । मन्त्री बन्नका लागि कतिपय सांसदले गुट परिवर्तन गरे । ३२ सांसदमध्ये यादव पक्षमा २० भन्दा बढी सांसद छन् । मन्त्री बन्न नपाएमा कतिपयले गुट परिवर्तन गर्न सक्छन् । त्यसैले उपेन्द्र यादवलाई अप्ठ्यारो नपार्नका लागि पनि देउवाले अलमल गरिरहेका छन् । मन्त्रिमण्डल विस्तार ढिलाई हुँदा माधव नेपाललाई मात्र नभई उपेन्द्र यादवलाई पनि फाइदा पुगिरहेको छ ।

यसैगरी, देउवाले नेपाली काँग्रेसको महाधिवेशन पाचौंपटक सार्दैछन् । ५ वर्षभित्र गरिसक्नुपर्ने र विशिष्ट परिस्थितिमा ६ महिना लम्ब्याउन सकिने भएपनि देउवा तयार भएनन् । क्रियाशील सदस्यताको विवादका कारण वडा तहकै अधिवेशन हुन सकेन । अब तीन हप्तापछि निर्धारित मिति छ । महाधिवेशन भदौमा हुने सम्भावना छैन ।

महाधिवेशन सार्नुमा देउवाको आफ्नै वाध्यता पनि छ । उनको पक्षमा केही हस्ती नेताहरु बिच्किएका छन् । विमलेन्द्र निधि टाढिएका छन् । उनकै पक्षका नेताहरुमा पनि द्वन्द्व छ । आफ्नो पक्षका हस्ती नेताहरुले साथ नदिएर इतर समूहको बलियो एकता भएमा देउवालाई फेरि सभापति जित्न मुश्किल पर्न सक्छ ।

काँग्रेसभित्र रामचन्द्र पौडेल, कोइराला परिवार, प्रकाशमान सिंह, कृष्णप्रसाद सिटौला र विमलेन्द्र निधिमध्ये एकलाई साथ लिन नसके देउवालाई महाधिवेशन चुनौतीपूर्ण हुनसक्छ । अर्कोतर्फ, इतर समूह मिलेमा या कोइराला परिवार, प्रकाशमान सिंह र विमलेन्द्र निधि एकजुट भएमा मात्र पनि सभापति जित्न मुश्किल हुनसक्छ । त्यसैले देउवा अगाडि बढ्न चाहिरहेका छैनन् ।

मन्त्रिमण्डल विस्तार गरेर महाधिवेशनमा जाँदा असन्तुष्टहरुलाई पक्षमा पारिरहन कठिन हुन सक्छ । देउवा त्यसबारे जानकार छन् । त्यसैले पनि उनी तत्काल महाधिवेशन गर्न चाहिरहेका छैनन् ।

देउवाले राजनीतिक अझै तरल अवस्थामा भएको बुझेका छन् । दलहरु कमजोर अवस्थामा छन् । सबै कुरा अदालतको हातमा गएको छ । प्रधानमन्त्री भएपछि उनी विगतमा भन्दा शक्तिशाली भएका छन् । तर, सरकार गठबन्धनको छ । प्रचण्ड जस्ता चतुर र माधवकुमार नेपाल जस्ता संसदीय राजनीतिका खेलाडीको साथ हिंड्न सजिलो छैन । संवैधानिक निकायमा तत्कालीन प्रधानमन्त्री केपी शर्मा ओलीले नियुक्त गरेकाहरु नै छन् । यसकारण देउवाको शक्ति धेरै बढेको छैन । उनी महाधिवेशनमा होमिइहाल्न पछि हट्नुको कारण पनि यही हो ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...