माधव समुहमा नयाँ लफडा सुरु, को-कता लागे
एमाले ‘बरिष्ठ नेता’ माधवकुमार नेपाल समुहभित्रै चर्काे लफडा देखिएको छ । एमालेमै फर्कने कि शेरबहादुर देउवा नेतृत्वको सरकारमा सहभागी भई अग्रगामी बन्ने भन्ने बिषयमा माधव समुहभित्रै लफडा परेको हो । एमालेमा नफर्कने निश्कर्षसहित आफू निकट केन्द्रीय सदस्यहरुको बैठकबाट देउवा सरकारमा सहभागी भई अग्रगामी छलाङ मार्ने माधवको योजनामा स्थायी कमिटीमा रहेका नेताहरुले साथ नदिएपछि लफडा परेको हो ।
माधव समुहको बिहीवारबाट सुरु भएको केन्द्रीय सदस्यको बैठकमा उपाध्यक्ष भीम रावल, अष्टलक्ष्मी शाक्य, घनश्याम भुसाल, गोकर्ण बिष्ट, भीम आचार्यसहितका स्थायी कमिटीमा रहेका अधिकांश नेताहरु १० बुँदे सहमतिको आधारमा पाटीृ एकताको पक्षमा उभिनुभएको छ भने माधवसहित तेस्रो पुस्ताका नेताहरु देउवा सरकारमा जाने सुनौलो अवसर गुमाउन नहुनेमा अडिग देखिनु भएको छ ।
माधव समुहका केन्द्रीय सदस्य मेटमणि चौधरीले एमाले अध्यक्ष केपी शर्मा ओलीले एक साताभित्र माफी नमागे नयाँ पार्टी खोल्ने निष्कर्ष बैठकले निकालेको बताउनु भएको छ । बैठकबाट बाहिरिने क्रममा समूहका चौधरीले केपी ओलीले आफ्ना गल्तीप्रति क्षमायाचना गरेमात्र त्यसतर्फ सोच्न सकिने विषयमा बैठकमा सहमति बनेको बताउनु भयो । चौधरीले सरकारमा जानुपर्ने विषयमा नै धेरै सदस्यहरूको एकमत रहेको भन्दै सरकारमा जाने बिषय नै प्राथमिकता रहेको बताउनु भयो । ओलीलाई हटाउन नसके अर्को पार्टी बनाएर जानुपर्ने कुरा बैठकमा उठेको चौधरीको भनाई छ ।
कार्यदलमा रहनुभएका भीम रावलसहितका स्थायी कमिटीका अधिकांश नेताहरु देउवा सरकारमा जाने प्रस्तावको बिपक्षमा चट्टान बनेर खडा हुनुभएको छ । नेताहरुको प्रस्तुति हेर्दा माधवले नयाँ पार्टी गठन गरी माओवादीमा बिलय गर्ने योजनामा अघि बढे बैठकबाटै साथ छाडेर एमालेमा फर्कने संकेत देखिएको छ । ‘भीम रावलसहित स्थायी कमिटीका नेताहरु यसरी प्रस्तुत भएको अहिलेसम्म थाह थिउन, उहाँहरुको कुरा सुन्दा र अडान हेर्दा नयाँ दलमा नजाने निर्णयमै पुग्नुभएको देखिन्छ, यस्ले माधव कमरेड तनावमा पर्नुभएको छ,’ बैठकमा सहभागी एक केन्द्रीय सदस्यले जनताटाइम्ससँग भने । उनका अनुसार माधवको जोड नयाँ पार्टी र देउवा सरकारतिर रहेको छ तर कार्यदलका नेताहरुले यस्तो गद्धारी गर्न हुन्न भन्नेमा चट्टानी अडान लिनुभएको छ ।


