प्रचण्डको सुरुङमार्ग र आकाशेपुलले हावा खायो



हाम्रो इकोनोमि

 

 

पूर्वप्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले चितवनमा चुनाव जित्नका लागि बाँडेको एउटा लोकप्रिय योजना थियो, चितवन राष्ट्रिय निकुञ्जमा सुरुङमार्ग र आकाशेपुल बनाउने । माडीका नागरिकलाई भरतपुरसम्म आउजाउ गर्न सजिलो हुने गरी उक्त मार्ग बनाउने बचन दिएपछि त्यहाँका स्थानीयले प्रचण्डलाई भोट हाले । परिणामतः उनले चुनाव जिते । तर, चुनाव जितेको चार वर्ष हुनलाग्दा पनि सुरुङमार्ग र आकाशेपुल बनाउने प्रक्रियासमेत सुरु भएको छैन ।

रणनैतिक सडक पुल निर्माण तथा पुल पुलेसा संरक्षण शीर्षकमा आर्थिक वर्ष २०७७–७८ र २०७८–७९ मा यहाँ सुरुङमार्ग र आकाशेपुल बनाउन ५०–५० लाख रुपैयाँ बजेट छुट्याइएको थियो । तर, काम भने भएन ।

भरतपुर महानगर र माडी नगरपालिका जोड्ने राष्ट्रिय निकुञ्जमा आकाशेपुलका लागि बजेट छुट्याएपछि यहाँका स्थानीय खुसी भएको थिए । तर, काम नभइ बजेट फ्रिज भएपछि स्थानीय निराश भएका छन् । युनेस्कोले सजिलै निकुञ्जभित्र सुरुङमार्ग वा आकाशे पुल बनाउन अनुमति नदिने प्रष्टै छ । २४ सै घण्टा निकुञ्ज वारपार गर्न माडीबासीले पाउँदैनन् । विकास निर्माण तथा सुकुमबासी बस्ती व्यवस्थापनका काममा माडी नगरपालिका र निकुञ्जबीच बेलाखबत जुहारी चल्दै आएको छ ।

सुरुङमार्ग या आकाशेपुल छाडेर अहिले बाटो सुधारको काम भइरहेको छ ।सघन सहरी विकास कार्यालयले यहाँको बाटोका लागि ४८ लाख रुपैयाँमा वजेट विनियोजन गरेको छ । त्यसमा २० प्रतिशत जनश्रमदान गर्नुपर्ने भनिएको छ । वनकट्टा–कसरा बाटो मर्मत तथा स्तरोन्नति उपभोक्ता समिति बनाएर असारमा काम थालिएको छ । वनकट्टा पोष्टदेखि करिब १२ सय मिटर परदेखि देउराली घोलसम्मको ३ दशमलव ४ किमि बाटो कालोपत्रे जस्तै बनाइने योजना छ । जसमध्ये अब डेढ किमि काम बाँकी छ ।

यो खण्डमा ग्रेडिङ, रोलिङको काम गरेर ग्राबेल राखेर फेरि रोलिङ गरिनेछ । झट्ट हेर्दा पीच गर्न ठिक्क पारिएको बाटो जस्तो हुनेछ । १० सेमी मोटो बेसको ६ मिटर फराकिलो बाटो तयार हुनेछ । तर, ध्रुव पोष्टदेखि कसरा पोष्टसम्मको बाटो भने मर्मत मात्रै गरिनेछ । माडी नगरपालिका १ का वडाध्यक्ष कृष्णप्रसाद पौडेल निकुञ्जभित्रको सडक धुलोमुक्तमात्रै बनेपनि खुशी हुने बताउँछन् । ‘सुरुङ मार्ग वा आकाशे पुललाई चुनावी नारा बनाए’, ‘८ मिटर फराकिलो धुलोमुक्त बाटो बनेको दिन खुशी हुन्छौं ।’

कांग्रेसबाट निर्वाचित वडाध्यक्ष पौडेल २०७६ फागुन ७ गते ८ दिनसम्म ७ सुत्रीय माग राखेर आमरण अनसन बसेका थिए । एमाले माडीका सचिव नारायण अधिकारी प्रचण्डले माडीका जनतालाई झुक्याएको बताउँछन् । ‘फेरि चुनावी नारा बनाउलान् कि !’, उनी भन्छन्, ‘डिपिआर गर्न पनि ध्यान दिएनन्, न बजेटनै प्रयाप्त छुट्टाए ।’

करिब ७ वर्ष निकुञ्जभित्रको बाटो मर्मतको नेतृत्वमा थिए उनी । उनकै नेतृत्वमा २ वर्ष पहिले निकुञ्जको बाटो मर्मत गरिएको थियो । उनी निकुञ्जभित्रको करिब ४ किलोमिटर खण्डमा आकाशेपुल बनाउन सुझाउँछन् । देउराली घोलदेखि धु्रव पोष्ट करिब ४ किमि क्षेत्रमा वन्यजन्तुको चहलपहल बढी भएकाले सो खण्डमा आकाशे पुल बनाए राम्रो हुने उनको बुझाइ छ ।

विगतमा माडीमा विद्युतीकरण गर्दा होस् या राप्तीमा पुल बनाउँदा निकुञ्जकै कारण अवरोध भएको थियो । माडी–ठोरी हुलाकी सडकमा पुल तथा सडक कालोपत्रे गर्न खोज्दा पनि निकुञ्ज ऐन आकर्षित भएर नगरपालिकासित द्वन्द बढेको थियो । चुनाव जितेपछि बेलाबखत माडी आउने गरेका प्रचण्डले निकुञ्ज ऐन संशोधन गरेर जनमैत्री बनाउने आश्वासन बाँड्न छाडेका छैनन् । नेपालकै पहिलो निकुञ्ज चितवन राष्ट्रिय निकुञ्ज २०४१ सालमा युनेस्कोको विश्व सम्पदा सूचीमा सूचिकृत भएको थियो ।

 

प्रचण्डले के भनेका थिए ? हेर्नुहोस् भिडियो

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...