एमालेका सबै पदाधिकारी पुनर्वहाली हुने, नामसहित



हाम्रो इकोनोमि

 

 

 

नेकपा एमालेले दशौं राष्ट्रिय महाधिवेशन आयोजक कमिटीलाई केन्द्रीय कमिटीमा रुपान्तरण गर्ने भएको छ । सर्वोच्च अदालतले आयोजक कमिटीको कारवाहीलाई मान्यता नदिएको र पार्टीलाई २०७५ जेठ २ मा फर्काउन माधव नेपाल पक्षले माग राखेको सन्दर्भमा केन्द्रीय कमिटीको बैठक आह्वान गर्न लागिएको हो ।

बुधवार बस्ने महाधिवेशन आयोजक कमिटी बैठकले सम्भवतः बिहीबार केन्द्रीय कमिटीको बैठक बोलाउने निर्णय गर्ने महासचिव ईश्वर पोखरेलले जानकारी दिए । केन्द्रीय कमिटी बैठक बोलाइएसँगै नवौं राष्ट्रिय महाधिवेशनबाट निर्वाचित पदाधिकारीहरु स्वतः पुनर्वहाली हुने एमाले स्रोतले जनाएको छ । महाधिवेशन आयोजक कमिटीका एजेण्डा तय गर्न र राष्ट्रिय प्रतिनिधि परिषद सदस्यहरूको बारेमा टुंगो लगाउन एमाले स्थायी कमिटी बैठक आज साँझ बोलाइएको छ । एमाले स्रोतका अनुसार महाधिवेशन आयोजक कमिटीको बैठकमा माधव नेपालसहित यसअघि निष्काशनमा परेका नेताहरुलाई बोलाइने छैन । तर माधव नेपाल पक्षका अन्य नेता पनि आयोजक कमिटी बैठकमा नजाने भएका छन् ।

आयोजक कमिटी भंग भएपछि बस्ने केन्द्रीय कमिटी बैठकमा भने माधव नेपाल बरिष्ठ नेताकै हैसियतमा सहभागी हुन सक्ने एमालेले जनाएको छ । त्यस्तै अन्य पदाधिकारीहरुको पनि यथावत जिम्मेवारी हुनेछ । यसअघि अध्यक्ष र महासचिवबाहेक अन्य पदाधिकारी खारेज गरेर आयोजक कमिटी गठन भएको थियो । माधव पक्षधर दोस्रो तहका नेताहरूसँगको अनौपचारिक छलफलपछि नै केन्द्रीय कमिटी बैठक बोलाउन लागिएको र २०७५ जेठ ३ गतेसम्म जो जुन पदमा थिए सोही पदीय हैसियतमा बैठकमा सहभागी हुने एक नेताले बताए । केन्द्रीय कमिटी व्युँतिएसँगै नेपालसहित ११ जनामाथिको निष्काशनको कारवाही पनि स्वतः निष्क्रिय हुनेछ ।

ती नेताले भने, ‘अदालतले पनि महाधिवेशन आयोजक कमिटीको कारवाहीमाथि प्रश्न उठायो । यता पार्टी मिल्नका लागि पनि जेठ २ कै केन्द्रीय कमिटीको माग गरिएको छ । त्यसैले अब केन्द्रीय कमिटी बैठक आह्वान हुन्छ,हिजा जो जुन पदमा थिए सोही हैसियतमा आउने हो । को को आउछन् हेरौं ।’ एमालेको केन्द्रीय कमिटी भने २ सय ६४ सदस्यीय नै कायम हुने भएको छ । २०७५ जेठ ३ गते बसेको एमालेको अन्तिम केन्द्रीय कमिटी बैठकले माओवादीसँग एकीकरण गर्नु पूर्व ४१ जना केन्द्रीय सदस्य मनोनित गरेको थियो ।

ती केन्द्रीय सदस्यसहित एमालेका २ सय ४१ सदस्य र माओवादीको दुई सदस्य गरेर नेकपाको ४ सय ४१ सदस्यीय केन्द्रीय कमिटी बनेको थियो । एमालेकै अन्तिम बैठकले थपेका सदस्य तथा सर्वोच्च अदालतको फैसलाबाट नेकपा भंग भएपछि एकताको भावनाअनुसार एमालेमा समाहित भएका २३ जनासहितको केन्द्रीय कमिटी बैठक बस्ने बताइएको छ । माधव नेपाल पक्षले जेठ २ अघिकै केन्द्रीय कमिटी बैठक बसेर त्यसपछि अरुलाई थप्न सकिने बताउँदै आएको छ । तर अहिलेको एमाले तीन वर्षअघिको नभई एकतासहितको एमाले भएकाले अव्यहारिक र कसैलाई अपमानित हुने व्यवहार गर्नु नहुने संस्थापन पक्षका नेताहरूको भनाइ छ ।

महासचिव पोखरेलले भने, ‘अदालतले नेकपाको नाम खारेज गरेपछि हामी प्राविधिक रुपमा एमाले भयौं । तर त्यसअघि नै एकतामा जोडिएका साथीहरु हामीसँग हुनुहुन्छ र यो नेकपा एमाले भनेको २०७५ जेठ ३ पछि एकीकृत भएको पार्टीकै निरन्तरता हो । त्यसैले जेठ २ सम्म जो जुन पदमा थिए उहाँहरु आउँदा त्यो पद यथावत नै हुन्छ र एकतामा जोडिएका साथीहरु पनि बस्नुहुन्छ ।’

केन्द्रीय कमिटीबाहेक तल्ला कमिटीहरू र जनवर्गीय संगठनहरुको हकमा पनि आमरुपमा पहिलेकै कमिटीहरू क्रियाशील गराउन सकिनेबारे स्थायी कमिटीमा छलफल भइरहेको छ । त्यसका लागि महासचिवको संयोजकत्वमा कार्यदल बनाउने प्रस्ताव गर्न लागिएको छ ।

पार्टीका कमिटीलाई जेठ २ मा फर्काउने प्रस्ताव पनि शुरुमा महासचिव पोखरेलले नै स्थायी कमिटीको जेठ २८ को अनौपचारिक बैठकमा राखेका थिए । जेठ २ मा फर्काएर बोलाएको बैठकमा पनि नआए माधव नेपाल पक्षलाई नपर्खी अघि बढ्ने तयारी एमालेको छ । जेठ २ मा फर्किएपछि एमालेको पदाधिकारी र स्थायी कमिटीमा दुवै पक्षको हाराहारी शक्ति हुनेछ । वरिष्ठ नेताहरू माधव नेपाल,झलनाथ खनालको पद पनि यथावत हुनेछ । अहिले दुवैजना निष्काशनमा छन् ।

 

एमालेका पदाधिकारी

अध्यक्षः केपी शर्मा ओली

बरिष्ठ नेताः झलनाथ खनाल

बरिष्ठ नेताः माधवकुमार नेपाल

उपाध्यक्षः वामदेव गौतम

उपाध्यक्षः भीम रावल

उपाध्यक्षः युवराज ज्ञवाली

उपाध्यक्षः अष्टलक्ष्मी शाक्य

महासचिवः ईश्वर पोखरेल

उपमहासचिवः बिष्णु पौडेल

उपमहासचिवः घनश्याम भुसाल

सचिवः प्रदीप ज्ञवाली

सचिवः पृथ्वीसुब्बा गुरुङ

सचिव भीम आचार्य

सचिव : गोकर्ण विष्ट

सचिव : योगेश भट्टराई

स्थायी कमिटी सदस्य

सुवास नेम्वाङ

शंकर पोखरेल

सुरेन्द्र पाण्डे

मुकुन्द न्यौपाने

सत्यनारायण मण्डल

छबिलाल विश्वकर्मा

किरण गुरुङ

जेठ २ पछि थपिएका

रघुवीर महासेठ

बिष्णु रिमाल

रघुजी पन्त

बेदुराम भुसाल

माओवादीबाट समाहित भएका

रामवहादुर थापा बादल

टोपबहादुर रायमाझी

लेखराज भट्ट

मणि थापा

पदेन सदस्य

अमृत बोहोरा

डा‍‍.पुष्प कडेल

केशव बडाल

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...