काँग्रेसको सभापतिमा शेरबहादुर देउवाले नै जित्ने, अरु को-को भिड्दैछन



हाम्रो इकोनोमि

 

 

नेपाली काँग्रेसको भदौमा हुने महाधिवेशनका लागि नेता कार्यकर्ता सक्रिय हुन थालेका छन् । साउन देखि काँग्रेसको तल्लो इकाईको चुनाव सुरु हुँदैछ । तल्लो इकाईबाट नै आफू पक्षधर नेता कार्यकर्तालाई अगाडि बढाउन नेताहरु सक्रिय भएका छन् ।

काँग्रेसमा वडा तहबाट गाउँ÷नगर हुँदै क्षेत्र, जिल्ला को अधिवेशनको तालिका बनिसकेको छ । प्रतिनिधि चयनबाट नै नेतृत्व चयनमा मतदानको अधिकार पाउने महाधिवेशन प्रतिनिधि र महासमिति सदस्य चुनिन्छन् । यसैले तल्लो इकाईबाट आफू निकटस्थलाई अगाडि बढाउन सक्रियता बढेको हो ।

काँग्रेसको भावी नेतृत्वका लागि सभापति शेरबहादुर देउवा नै मुख्य दाबेदार बनेका छन् । उनले शनिबार आफू पक्षीय नेताहरुलाई बुढानिलकण्ठमा डाकेर छलफल गरेका छन् । देउवाले एक कार्यकाल नेतृत्व गर्ने मनशाय व्यक्त गरेका थिए । तर, उनको खेमाबाट उपसभापति विमलेन्द्र निधि पनि दाबेदार बनेका छन् ।

निधिले काँग्रेसको भावी नेतृत्वका लागि आफूलाई साथ दिन देउवालाई समेत आग्रह गरेका छन् । उनले पूर्वतयारी गरिसकेको समेत स्पष्ट पारेका छन् । तर, देउवाले निधिलाई मनाउन खोजिरहेको बुझिएको छ । निधि पछि नहट्ने अडानमा छन् ।

काँग्रेसको देउवाइतर समूहबाट धेरैजना सभापतिको दाबेदार छन् । वरिष्ठ नेता रामचन्द्र पौडेल एकपटक प्रयास गर्ने चाहना राख्दै आएका छन् । उनी १३औं महाधिवेशनमा देउवासँग सभापतिमा पराजित भएका थिए ।

१३औं महाधिवेशनमा पहिलो चरणको सभापतिको प्रतिष्पर्धाबाट तेस्रो स्थान हासिल गरेका पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला पनि सभापतिको दाबेदार देखिएका छन् । उनले पौडेल पक्षका नेताहरुलाई पनि आफूलाई साथ दिन आग्रह गर्दै आएका छन् । सिटौला निर्णायक तेस्रो शक्ति भएकाले राजनीतिक लेनदेनका आधारमा नेतृत्वमा पुग्ने रणनीतिमा देखिएका छन् ।

वर्तमान महामन्त्री डा. सशांक कोइराला पनि सभापतिका दाबेदार हुन् । कोइराला परिवार एक बनाएर उनी अगाडि बढ्न खोजिरहेका छन् । पौडेललाई मनाएर उनी उक्त खेमाबाट सभापतिको दाबेदार बन्ने रणनीतिमा छन् । देउवा सभापतिको उम्मेदवारीबाट ब्याक भएमा उक्त समूहबाट पनि आफूलाई साथ हुनसक्ने बुझाई सशांक पक्षधरको छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह पनि सभापतिको दाबेदार बनेका छन् । उनले खुलेरै यसपटक सभापतिको उम्मेदवारीबाट पछि नहट्ने स्पष्ट पारिसकेका छन् । पटक पटक आफ्नो परिवारले त्याग गरिसकेको र अब आफूलाई अरुले त्याग देखाउनुपर्ने उनको तर्क छ । पहिलो निर्वाचित महामन्त्री बनिसकेका पूर्वउपप्रधनमन्त्री सिंह आफ्नो खेमाको साझा उम्मेदवार बन्ने दाउमा छन् ।

काँग्रेस केन्द्रीय सदस्य डा.शेखर कोइराला सभापतिको दाबेदार छन् । उनी देउवाविरोधी खेमाबाट उम्मेदवार बन्ने दौडमा छन् । विगतमा वरिष्ठ नेता रामचन्द्र पौडेललाई निकै सघाएका उनले यसपटक पौडेलबाट सहयोगको अपेक्षा राखेका छन् ।

काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला पनि सभापतिको दाबेदार देखिएकी छिन् । पहिलोपटक काँग्रेसभित्र महिलालाई नेतृत्वमा पुर्याउनुपर्ने भन्दै उनी महिलाको साथ लिन सक्रिय भएकी छिन् । पूर्वउपप्रधानमन्त्री भइसकेकी उनले कोइराला परिवारको हातमा काँग्रेस नेतृत्व फर्काउने गरी पारिवारिक एकतामा पनि भूमिका खेल्दै आएकी छिन् ।

कस्ले मार्ला बाजी ?
यसपटक काँग्रेस सभापतिमा देउवा नै मुख्य दाबेदार देखिएका छन् । उनलाई आफ्नो खेमाबाट पूर्ण साथ भएमा जित्ने सम्भावना बलियो हुन्छ । तर, उपसभापति विमलेन्द्र निधि दाबेदार देखिएकाले चुनौती थपिएको छ । विजयकुमार गच्छेदार पनि देउवासँग सन्तुष्ट देखिएका छैनन् ।

निधिले देउवाको साथ पाएर उम्मेदवार बन्ने रणनीति बनाएका छन् । उनले देउवाको साथ नपाए पौडेल पक्षका अन्य नेतासँग राजनीतिक लेनदेनको कुरा चलाएका छन् । अर्को खेमाको पूर्ण साथ पाएमा उनले बाजी मार्न सक्छन् ।

वरिष्ठ नेता रामचन्द्र पौडेल एक कार्यकाल भएपनि काँग्रेस नेतृत्वमा पुग्ने आकांक्षा राखिरहेका छन् । उनी सैद्धान्तिक राजनीतिमा लागेका छन् । आफ्नो समूह एक भएमा जित्नेमा ढुक्क छन् ।

महामन्त्री सशांक कोइराला वीपीपुत्र हुन् । कोइराला परिवार एक भएर पौडेल खेमाबाट एकमात्र उम्मेदवार बन्न सकेमा उनले जित्ने सम्भावना रहन्छ । तर, त्यसका लागि देउवा खेमाका असन्तुष्टलाई पनि तान्न सक्नुपर्छ ।

पूर्वमहामन्त्री प्रकाशमान सिंह देउवा इतर खेमाका साझा उम्मेदवार बन्न सके जित्न सक्छन् । उनले विगतमा महामन्त्रीको उम्मेदवार बन्दा लोकप्रीय मत ल्याएको इतिहास छ । गणेशमान सिंहका छोरा सिंह कार्यकर्तामाझ लोकप्रीय छन् । उनलाई देउवा खेमाका केही नेताहरुको पनि साथ मिल्नसक्ने बुझिएको छ ।

पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौलाको आफ्नै समूह छ । उनी यही तेस्रो धार निर्णायक शक्ति बनेर देउवा या पौडेलमध्ये कुनै खेमासँग राजनीतिक लेनदेनका साथ काँग्रेस नेतृत्वमा पुग्न खोजिरहेका छन् । तर, उनलाई नेतृत्वमा पुग्न सजिलो छैन ।

काँग्रेस केन्द्रीय सदस्य डा. शेखर कोइराला लोकप्रीय नेता हुन् । उनी पौडेल समूहबाट साझा उम्मेदवार बनेमा देउवाका लागि ठूलो चुनौती बन्न सक्छन् । तर, कोइराला परिवार मिलाउन कठिन भइरहँदा उनले समूह मिलाउन सजिलो छैन ।

काँग्रेस केन्द्रीय सदस्य सुजाता कोइराला बढी सामाजिक क्रियाकलापमा सक्रिय छन् । उनी काँग्रेसको प्रथम महिला सभापति बन्ने दौडमा छिन् । कोइराला परिवार एक बनाउन महत्वपूर्ण भूमिका खेलेकी उनी देउवाइतर समूह मिलाउन लागेकी छिन् । जो चुनाव उठेपनि देउवाइतर खेमाबाट एकजना सहमतिमा उठ्नुपर्ने तर्क राख्छिन् । उनले आफ्नो नाममा सहमति निकाल्ने गरी रणनीति समेत बनाएकी छिन् ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...