हाम्रो इकोनोमि
नेकपा एमालेका नेता यामलाल कँडेलले कर्णाली प्रदेश सरकार बदल्ने तेस्रो प्रयास सुरु गरेका छन् । एमालेका चार सांसदको पद सर्वोच्च अदालतले पुनबर्हाली गरिदिएपछि कँडेल सरकार बदल्नतिर लागेका हुन् । सोमबार प्रदेशसभा बैठकबाटै कँडेलले माओवादी केन्द्र नेतृत्वको सरकार बदल्ने संकेत गरेका छन् । ‘अर्को दलका सांसदहरू टिपेर सरकार चलाउन पाइँदैन,’ कँडेलको चेतावनी थियो । उनले महेन्द्रबहादुर शाही नेतृत्वको सरकारमा सहभागी तीन मन्त्रीलाई प्रतिपक्षी बेञ्चमा बस्न निर्देशन समेत दिए ।
तर शाही नेतृत्वको सरकारका मन्त्रीहरू अम्मरबहादुर थापा, कुर्मराज शाही र नन्दसिंह बुढाले कँडेलको निर्देशन मानेका छैनन् । मंगलबार बोलाइएको दलको बैठकमा समेत उनीहरु सामेल भएनन् । गत ३ वैशाखमा यी तीन जनासँगै फ्लोर क्रस गरेका प्रकाश ज्वाला भने दलको बैठकमा सहभागी भएका छन् । कँडेलले शाही नेतृत्वको सरकार बदल्न दोस्रो प्रयत्न गर्दा एमालेका चार सांसदले फ्लोर क्रस गरेका थिए । फ्लोर क्रस गर्ने चार सांसदलाई पदमुक्त गर्ने एमालेको निर्णय अदालतले कार्यान्वयन नगर्न अन्तिम आदेश दिएको छ ।
फ्लोर क्रस गरेर माओवादी नेता शाहीको सरकार जोगाइदिने सांसदहरु एमाले नेता माधवकुमार नेपाल समूह निकट हुन् । चार जनामध्ये ज्वालाबाहेक अरु सबै सरकारमा छन् । २७ जेठको अदालतको फैसलापछि एमालेको पक्षमा बहुमत पुगेकाले वर्तमान सरकारले बजेट ल्याउन नसक्ने तर्क कँडेल निकट नेताहरु बताउँछन् । ‘प्रदेशसभामा हाम्रो दलको संख्या २० पुगेको छ । सत्तारुढ दलको संख्या १८ मात्रै छ । त्यस मानेमा कसरी अघि बढ्ने भन्नेबारे गम्भीर छलफल हुन्छ,’ एमाले प्रमुख सचेतक गुलाबजंग शाह भन्छन् ।
गत २७ कात्तिकमा पनि एमाले अध्यक्ष केपी शर्मा ओली निकट नेता कँडेलले प्रदेश सरकार बदल्ने प्रयास गरेका थिए । त्यसबेला पनि नेपाल समूहका नेताहरू अविश्वासको प्रस्तावबाट पछि हटेपछि शाहीको पद जोगिएको थियो । तर साविकको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) को एकता भंग हुँदै एमाले र माओवादी केन्द्र बनेपछि भने कँडेलले सरकारबाट समर्थन फिर्ता लिए । तर ३ वैशाखमा एमालेका सांसदले फ्लोर क्रस गरेर मुख्यमन्त्री शाहीलाई विश्वासको मत दिएका थिए ।