बागमती प्रदेश सरकार सुरक्षित



हाम्रो इकोनोमि

 

पछिल्लो राजनीतिक विकासक्रमसँगै प्रदेश सरकारहरु धर्मराइरहेका बेला एमाले नेतृत्वको बागमती सरकार भने स्थिर बनेको छ । संस्थापन र माधव नेपाल समूहको मेलमिलापपछि सरकार तत्काललाई ‘सेफ जोन’ मा उक्लेको हो ।

तत्कालीन सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विवाद सुरु भएसँगै बाग्मती प्रदेश सरकार हल्लिएको थियो । माधव नेपाल समूहकी शीर्ष नेतृ अष्टलक्ष्मी शाक्यको नेतृत्वमा वैकल्पिक सरकार बनाउन भन्दै सरकारविरुद्ध अविश्वास प्रस्ताव समेत दायर गरिएका थियो । तर, मुख्यमन्त्रीकी आकांक्षी शाक्यले अहिले मुख्यमन्त्री डोरमणि पौडेलसँग मेलमिलाप गरेकी छिन् ।

एमालेका सांसदहरु एकजुट भएर हिजो सरकारले प्रस्तुत गरेको नीति तथा कार्यक्रमलाई प्रदेशसभाबाट पारित गराए । मतदानअघि मुख्यमन्त्री पौडेल र शाक्यले पार्टीका सांसदहरुलाई नीति तथा कार्यक्रमको पक्षमा मत हाल्न संयुक्त निर्देशन दिएका थिए । शनिबार बिहान बसेको एमाले बाग्मती प्रदेश संसदीय दलको वैठकमा उनीहरुले सो निर्देशन दिएसँगै प्रदेशमा एमाले एकढिक्का बनेको हो ।

प्रदेश सरकारले नीति तथा कार्यक्रम बनाउने प्रक्रियामा माधव समूहलाई पनि सहभागी गराएको थियो । नीति तथा कार्यक्रमका लागि सुझाव दिन राजेन्द्र पाण्डेको नेतृत्वमा ९ सदस्यीय कार्यदल बनाइएको थियो । सोही कार्यदलले दिएको सुझावअनुसार आएपछि दुवै पक्षबीच मेलमिलापको आधार तयार भएको हो ।

साथै, यसअघि माधव पक्षका सांसदलाई गरिएको कारवाही (स्पष्टीकरण) फिर्ता लिन पनि पौडेल तयार भएका छन् । बागमती सरकारले आगामी आर्थिक वर्षको बजेटको तयारी गरिरहेको छ । त्यसमा पनि माधव पक्षका सुझावहरु समेटिने भएका छन् ।

यस प्रदेशमा एमालेसँग एकल बहुमत छ । प्रदेशसभाका एक सय १० सदस्यमध्ये तत्कालीन नेकपाका मात्रै ८० जना थिए । उनीहरुमध्ये एमालेका ५७ र माओवादीका २३ सांसद छन् । बहुमतका लागि ५६ सांसद आवश्यक पर्ने हुँदा एमाले एक्लैको संख्या पर्याप्त छ । तर, एमालेभित्र माधव नेपाल पक्षले साथ छोडेको अवस्थामा भने सरकार जोगिँदैन । प्रदेशमा माधव नेपाल पक्षधर १५ जना सांसद छन् ।

प्रधानमन्त्री केपी ओलीले संसद विघटन गरेर तत्कालीन नेकपा बिखण्डनतिर गएपछि सरकारमाथि ठूलो खड्को आइपरेको थियो । गत पुस १० गते ४५ जना सांसदको हस्ताक्षरसहित सरकारविरुद्ध अविश्वास प्रस्ताव पेश भयो भने माओवादी र माधव नेपाल पक्षधर तीन जना मन्त्रीले राजीनामा दिए । अविश्वास प्रस्ताव प्रदेशसभामा टेबुलसमेत भइसकेको थियो ।

तर, सर्वोच्चको आदेशले नेकपाको एकता भंग भएर एमाले र माओवादी ब्यूँतिएसँगै सरकारलाई राहत मिल्यो । एमालेका माधव नेपाल पक्षधर सांसदहरुले अविश्वास प्रस्ताव फिर्ता लिने निर्णय गरे । अन्य दलहरुसँग अविश्वास प्रस्ताव पारित गराउन आवश्यक संख्या थिएन ।

पछिल्लो समय एमालेमा विवाद गहिरिएसँगै माधव नेपाल पक्षधर सांसदहरुले के गर्छन् भन्ने कौतुहल थियो । यसबीचमा मुख्यमन्त्री पौडेलले खाली रहेका मन्त्रालयमा आफ्नै पक्षका तीन मन्त्री नियुक्त गरे । यसले दुई समूहबीच दूरी बढाउन सक्ने आशंका गरिएको थियो ।

तर, माधव पक्षले लकचता देखाउँदै सरकारलाई साथ दिएको छ । विगतमा प्रधानमन्त्री ओलीकी कटु आलोचक बनेकी अष्टलक्ष्मीले नै अहिले सरकारलाई काँध हालेकी छन् । एमाले एकताका लागि सन्देश दिन आफूहरुले यो निर्णय लिएका उनको भनाइ छ । तर, एमाले औपचारिक विभाजन भएर माधव नेपाल समूहले अर्को पार्टी बनायो भने फेरि पनि प्रदेश सरकार अप्ठेरोमा पर्न सक्छ ।

प्रतिक्रिया दिनुहोस
रास्वपालाई एमालेको कडा चेतावनी

    नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का कार्यकर्ताले बिहीबार राति दाङको...

रास्वपासँग प्रतिवादमा उत्रने युवा संघको चेतावनी

    नेकपा एमालेनिकट युवा संगठन राष्ट्रिय युवा संघ नेपालले दाङमा रास्वपा कार्यकर्ताले...

रास्वपाको पोखराको चुनावी सभा पनि स्थगित

     राष्ट्रिय स्वतन्त्र पार्टीले भैरहवा र पोखरामा गर्न तय भएको चुनावी सभा...

झण्डा जलाउनेलाई कारबाही नगरे आन्दोलन थाल्ने एमाले अखिलको चेतावनी

    नेकपा एमालेनिकटको विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा रास्वपा कार्यकर्ताले ‘सूर्य’ अंकित झण्डा...