अर्जुन नरसिंह केशीले अमेरिकी डोनेशनको सामाग्री आमा–बुबाको नाम राखेर वितरण
नेपाली कांग्रेसका कन्द्रीय सदस्य अर्जुन नरसिंह केसीले नुवाकोट जिल्लामा अमेरिकाबाट पठाइएको स्वास्थ्य सामग्रीहरूलाई आफ्नो आमा–बुबाको नाम राखेर वितरण गरेपछि बबण्डर भएको छ । कांग्रेस नेता केसीले आफ्ना स्वर्गीय आमाबुबाको नाममा स्थापना गरेको ट्रस्टको नाममा वितरण गरेको सामग्री अर्कै संस्थाको रहेको तथ्य सार्वजनिक भएपछि सामाजिक सञ्जालमा हँगामा भएको छ ।
नेता केसीले बिहीबार नुवाकोटको तारकेश्वर गाउँपालिका र किस्माङ गाउँपालिकाका स्वास्थ्य चौकीलाई ३–३ वटा १० लिटरको अक्सिजन कन्सेनटेटर, मास्क र स्यानीटाइजर लगायत विभिन्न स्वास्थ्य सामग्री बितरण गरेका थिए । यशोदादेवी–भगवानसिंह केसी मेमोरियल ट्रस्टका नाममा ती स्वास्थ्य सामग्री बितरण गरिएको थियो । स्वास्थ्य सामग्री वितरण गरेको तस्बिर केसी परिवारहरूले राखेपछि आलोचना भएको छ ।
अमेरिकामा रहेका करीव दुई हजार नेपालीहरूले आफ्नो गास काटेर पठाएको स्वास्थ्य सामग्री केसी परिवारले आफ्नै आमा–बुबाको ट्रस्टमार्फत बितरण गरेपछि अमेरिकामा सहयोग गर्ने नेताहरूका बीचमा तनाव उत्पन्न भएको छ । अमेरिका नेपाल फाउण्डेसनले सहयोग स्वरूप पाठएको स्वास्थ्य सामग्री केन्द्रीय सदस्य केसी र उनका भाइहरूले बाँडेपछि नुवाकोट कांग्रेसको नाक भाँच्चिएको भनेर चर्चा शुरु भएको छ ।
अमेरिकामा स्वास्थ्य सामग्रीहरू नेपाल पठाउन सहयोग गर्ने डा.रमेश मरासिनीले केसी परिवारको प्रचारले आफू दुखित भएको बताएका छन् । मरासिनीले आफूहरूको सहयोगको दुरूपयोग भएको बताएका छन् । जोन हप्किङ विश्वविद्यालयमा रिसर्च गर्दै आएका मरासिनीले भने, ‘येस्तो कु–प्रचार देखेर हाम्रो सहयोग अवमूल्यन र राजनीतिकरण भएको देखेर मन दुखेको छ ।’ कांग्रेसका केन्द्रीय सदस्य केसीले ट्वीटमा स्वास्थ्य सामग्री बितरण गरेको जानकारी बाँडेपछि वरिष्ठ पत्रकार भुषण दाहालले पनि चिन्ता जनाएका छन् ।
दाहालले भनेका छन्, ‘राष्ट्रलाई आएको वैदेशिक सहयोग त कम से कम आफ्नो वैयक्तिक सम्पत्ति जस्तो गरेर नबाँड्नुस् । हे ! राजनीतिककर्मीहरू हो एक्काइसौं शताब्दीमा जनता पुरातन छैनन् सबै बुझ्ने भैसके ।’ स्वास्थ्य सामग्री वितरण कार्यक्रममा चिकित्सक संघका पूर्व अध्यक्ष डा.केदारनरसिंह केसी र नेपाली कांग्रेस नुवाकोटका सभापति जगदीश्वारनरसिंह केसीको पनि उपस्थिति रहेको थियो ।

यसअघि भूकम्पको बेलामा नुवाकोट जिल्लामा पूर्वअर्थमन्त्री डा.रामशरण महतका स्वकीय सचिव रमेश महतले पीडितको नाममा आएको जस्तापाता दुरूपयोग गरेर अन्त्यै लैजान लाग्दा नागरिकले समातेका थिए । त्यस बेला महतको त्यो कार्यको स्वयम् केसी परिवारले विरोध गरेका थिए । अहिले केसी परिवारले महतको भन्दा पनि तल्ले तहको राजनीति गरेको भन्दै नुवाकोट कांग्रेसका कार्यकर्ताहरू दिक्क भएका छन् ।


