माधव-खनाल गुट छिन्नभिन्न, गम्भीर संकटमा पुग्यो



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले पार्टीलाई एकताबध्द बनाउन आइतबार साँझ जारी गरेको ६ वटा बुँदा र दुई पृष्ठको सार्वजनिक आह्वानका अधिकांश बुँदा अमूर्त र द्वैअर्थी देखिएको अर्को पक्षको गुनासो छ । समग्रमा उक्त आह्वान पत्र कसैको आग्रहमा हानिएको झटारो मात्रै भएको बताइन्छ ।

अध्यक्ष ओलीको आह्वानबाट एमाले वरिष्ठ नेताहरू झलनाथ खनाल तथा माधवकुमार नेपाल समूहमा रही बालुवाटारसङ्ग घनिभूत वार्तामा जुटेका दुई जना युवा नेता तुलनात्मक रुपमा उत्साहित हुनुभएको थियो । उहाँहरूले लगत्तै सामाजिक सञ्जालमा प्रतिक्रियासमेत पोष्ट गर्नुभयो । सोमबार सो समूहले आयोजना गरेको स्थायी समितिको भर्चुअल बैठकमा यसको गतिलो समीक्षा भएको श्रोतले बतायो ।

बैठकमा नेताहरू कसरी प्रस्तुत हुनुभएको थियो भनेर सोधिएको जिज्ञासामा एक जना नेताले भन्नुभयो ‘सुरेन्द्र र योगेश कमरेडले शुरुमा अध्यक्षको आह्वानलाई सकारात्मक रुपमा लिनुपर्छ भन्नुभएको थियो तर अरुले चाँहि ठ्याक्कै त्यहि शब्द उच्चारण गर्नुभएन । तर पनि उहाँहरुले आफ्नो समूहले सार्वजनिक गर्ने धारणामा भाषा नरम र एकतामा जोड दिइनुपर्ने बताउनुभएको थियो ।’

स्रोत भन्छ ‘कसैले पनि अध्यक्ष ओलीका बुँदालाई स्वीकार्न सकिन्छ भनेनन् । योगेश कमरेडले पनि बुँदा स्वीकार्न सकिन्छ भन्नु भएन । उहाँले स्पिरिटलाई सकारात्मक रुपमा लिँदै हाम्रा कुरा यी यी हुन् भनेर जाऔं भन्नुभएको थियो । अधिकांशले ओलीको आह्वानमा लेखिएका बुँदाले वास्तविक एकता गर्न नखोजेको प्रष्ट भएको बताएका थिए ।’

बैठकको निचोड साँच्चि नै एकता गर्न खोजेको हो भने हाम्रा यी बुँदालाई स्वीकार्नुपर्छ भनेर लेख्नुपर्ने र पहिलेका ६ बुँदालाई जोड दिएर विज्ञप्ति जारी गर्नुपर्ने भन्ने नै थियो । बैठकको निश्कर्षबमोजिम नै सोमबार साँझ धारणा पनि सार्वजनिक भैसकेको छ ।

वैचारिक नेताको रुपमा परिचित घनश्याम भुसालले प्रधानमन्त्रीको आह्वानलाई ‘कुनै काम नलाग्ने’ विशेषण दिनुभएको थियो । उहाँले आह्वानको पृष्ठभूमिमा लेखिएका एकाध वाक्यबाहेक अरु कुनै पनि काम नलाग्ने र बकबास भएको बताउनुभयो ।

नेता सुरेन्द्र पाण्डे उक्त बैठकमा अध्यक्ष ओलीको आह्वानप्रति त्यतिसारो आक्रामक रुपमा प्रस्तुत नहुनु भएको बताइन्छ । स्रोत भन्छ,‘सोमबार बिहान सबेरै उहाँले धेरै कमरेडलाई फोन गरेर अघिल्लो दिन ओलीले जारी गरेको आह्वानलाई अस्वीकार नै चाहिँ गरिनहालौँ है भन्नुभएको थियो ।’

उक्त आग्रहलाई मुकुन्द न्यौपानेहरुले अस्वीकार गर्नुभयो । उहाँहरूले ‘ओलीका यस्ता जाली कुरालाई पनि स्वीकार्ने ? हुँदैन, यस्ता छलछामलाई सोझै नकारेर जानुपर्छ,हस्ताक्षर फिर्ता हुँदैन भनेर जानुपर्छ,कारबाही फिर्ता नभई वार्ता हुँदैन भनेर जानुपर्छ’ भन्ने जवाफ दिएको स्रोतको दाबी छ ।

स्रोतले भनेको छ ‘जति हामी अघि बढ्ने हो,त्यति केपी पछि हट्ने हो । यस्ता झिनामसिना कुरामा लत्रेर अघि बढ्ने हो भने केपीले केही पनि गर्दैनन् ।’नेता पाण्डे ‘ठीक छ,भाषाचाँहि नरम बनाऔं,एकता गर्ने ढंगले जानुपर्छ’ भन्दै नरम ढंगले प्रस्तुत हुनुभएको थियो ।

त्यसअघि आइतबार साँझ अर्थमन्त्री विष्णु पौडेलले बालुवाटारले नेपाल समूहका नरम चारै जना युवा नेतालाई फोन गरेर ‘यस्तो आह्वान आउँदैछ है’ भन्नुभएको थियो । त्यसक्रममा नेता पाण्डेले ‘कारबाही फिर्ता लिने कुरो आउँछ कि आउँदैन ?’ भनेर पौडेललाई सोध्नुभएको बताइन्छ ।

बालुवाटार स्रोतका अनुसार आइतबार बिहान उनै नरम भनेर चिनिएका कमरेडहरूको सामूहिक भेटघाट र निर्णयअनुसार आह्वानमा उल्लेख गरिने विषय सुझावको रूपमा पठाइएको बताइन्छ ।

अध्यक्ष ओलीको आह्वानलगत्तै नेता भट्टराईले जनाउनु भएको प्रतिक्रियाको बारेमा पनि बैठकमा कुरो उठेको थियो । बैठकमा व्यक्तिगत प्रतिक्रिया दिन भन्दा सामूहिकतामा जान जोड दिइएको थियो । निचोड ‘हतारिएर स्वागत गर्ने कुरो राम्रो भएन’ भन्ने नै थियो ।

नेता भट्टराईलाई नियमितजसो अध्यक्ष तथा प्रधानमन्त्री, महासचिव ईश्वर पोखरेल र शीतल निवासबाट राष्ट्रपति विद्यादेवी भण्डारीले नियमित सँवाद गरेको सन्दर्भलाई गृह जिल्ला ताप्लेजुङमा भने एमालेवृत्तले त्यत्ति नरुचाएको बताइन्छ ।

अस्तिको एमाले बैठकको कारण हिजो सुदूरपश्चिम प्रदेशसभामा राजनीतिक उथलपुथल भएको छ । प्रधानमन्त्री तथा एमाले अध्यक्ष ओलीले चाहेको ठीक विपरितको राजनीतिक परिदृश्य हिजो धनगढीमा देखिएको थियो । नेपाल समूहको समर्थनमा माओवादी केन्द्रका मुख्यमन्त्री त्रिलोचन भट्टले निरन्तरता पाएका छन् । सँगसँगै संसदीय दलको ह्वीप नमान्ने ओली निकट सात जना सांसदलाई स्पष्टीकरण सोधिएको छ ।

प्रतिक्रिया दिनुहोस
अब स्थानीय तहबाटै नापी र मालपोतको सेवा

    स्थानीय तहबाटै नापी तथा मालपोत सेवा दिन २०७ वटा पालिका इच्छुक...

किष्ट हस्पिटल नेपालकै उच्च सफल कलेजो प्रत्यारोपण दरको कीर्तिमान कायम

    किष्ट टिचिङ हस्पिटलले ग्यास्ट्रो विभागको नेतृत्वमा अंग प्रत्यारोपण सेवामा ऐतिहासिक सफलता...

सरकारले लोकतन्त्रको खिलाफमा कदम चाल्यो : प्रचण्ड

   नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बोलाइसकेको संसद् रोकेर अध्यादेश...

आयातित वस्तुको एमआरपीमा सरकार लचक

    आयातित मालवस्तुमा अनिवार्य रूपमा अधिकतम खुद्रा मूल्य (एमआरपी) उल्लेख गर्नुपर्ने व्यवस्थाले...