संविधान नै पुनर्लेखन गर्नुपर्छ : पुर्वमन्त्री साह
निवर्तमान शहरी विकास मन्त्री प्रभु साहले संकट समाधान गर्नका लागि संविधान नै पुनर्लेखन गर्नुपर्ने बताएका छन् । मङ्गलवार सामाजिक सञ्जाल फेसबुकमा स्टाटस लेख्दै नेता साहले सारा संकटको कारण वर्तमान संविधान नै रहेको जीकिर गरेका छन् । एउटै प्रावधानको विषयमा संविधान निर्माताहरुकै फरक फरक बुझाईका कारण अन्योलता सृजना भई देशमा अराजकता र अस्थिरता बढेको नेता साहको ठहर छ । संविधान निर्माण गर्ने तक्माधारीहरु नै आफै लेखेको विषयमा विभाजित रहेको बेला अदालतबाट संकट निवारणको अपेक्षा गर्न नसकिने बताए । समग्रमा सम्झौता र भागबण्डामा आधारमा बनेको संविधान र त्यस बमोजिमको वर्तमान व्यवस्था नै संकटको कारक भएकोले संविधान संशोधन नभई समीक्षासहित पुनर्लेखन नै गर्नुपर्ने नेता साहको भनाई छ ।
“संवैधानिक प्रावधानहरु बारेको फरक बुझाईले गर्दा देश मुडभेड एवं अस्वस्थ प्रतिस्पर्धाको गोलचक्करमा फस्दै गएको सन्दर्भमा गलत प्रवधानहरुलाई सुधार गर्न गम्भीर समिक्षा गर्नुको सट्टा अदृश्य शक्तिहरुको चलखेलबाट वर्तमान व्यवस्था नै संकटमा पर्न लागेको हउवा पिट्नु भनेको अझ देशलाई संकटको लामो सुरुङ्गमा थकेल्नु हो ।” नेता साहले लेखेका छन्, “संविधान निर्माणको तक्माधारीहरुले विगतमा गरेका आफ्नो गल्तीप्रति आत्मिलोचित हुँदै देशमा बेथिती, अराजकता, अस्थिरता, अस्तव्यस्तता एवं फोहरी संसदीय खेलको राईता फैलाउने मुहानको रुपमा रहेको वर्तमान व्यवस्थामा समय सापेक्ष आवश्यक संसोधन/परिमार्जन गर्नुको सट्टा कुनैपनि वहानामा अहिलेको यस व्यवस्थासंग सति जान खोज्नु वा यसबाट कुनै अद्भुत नतीजाको अपेक्षा राख्नु भनेको “बबुर रोपेर आँपको अपेक्षा गर्नु” बराबरको मुर्खता हो । तसर्थ, देश र जनताको दिगो हितलाई केन्द्र विन्दुमा राखी वर्तमान संविधानको पुर्न:लेखनको जरूरी छ ।
यसमा सम्बन्धित सबै पक्षको समयमैं ध्यान पुगोस् ।” यस विषयमा थप प्रतिक्रिया दिदै नेता साहले राजनीतिक दल र नेताहरुको दुरदर्शीताको अभाव र भागवण्डाको आधारमा निर्माण भएको वर्तमान संविधानमा रहेका गलत प्रावधानहरुको कारण देशले अहिले दुर्दशा भोग्नुपरिरहेको बताए । प्रमुख राजनीतिक दलहरुले आ-आफ्नो हिस्साको व्यवस्था मिसाएर बनाएको खिचडी संविधान ५ वर्षमै नेताहरुलाई मुटभेढको अवस्थामा पुर्याउनु संविधान गलत रहेको प्रमाणित भएको नेता साहले बताए । “संवैधानिक प्रावधानको बुझाईको विषयमा देश अन्योलग्रस्त छ, विवादित र विभाजित छ । प्रमुख राजनीतिक पार्टीहरु नै एकअर्का माथि आरोप-प्रत्यारोपमा उत्रेका छन् । जनस्तरमै अस्वभाविक मुटभेढको स्थिति सृजना हुँदैछ । यतिसम्म न्यायिक निरुपणको कामभन्दा बढी संवैधानिक स्पष्टता खोज्न हैरान भएको न्यायालय समेत विवादित र विभाजित बन्दैछ ।
संविधानका निर्माताहरु नै फरक फरक बुझाइ राखेको विषयमा अदालतबाट संकट समाधान हुन सक्दैन ।” नेता साहले भने, “आखिर किन एक मतले संविधान बनाएका नेताहरु नै आफैले लेखेको प्रावधानमा विभाजित हुँदै ५ वर्ष पनि नपुग्दै संविधानको प्रत्यक्ष नेतृत्व गरेको नेताहरुमा विपरीत बुझाई देखापर्नुलाई के सामान्य रुपमा लिन मिल्छ ? कदापी यसलाई सही र सामान्य मान्न सकिदैन । त्यसैले अब संविधानको समीक्षा गर्दै पुनरावलोकन, पुनर्लेखन गर्नुपर्छ ।” संविधान निर्माताहरुले जनता अगाडि उभिएर माफी माग्दै अग्रगामी एवम् परिवर्तनकारीहरुलाई संविधान निर्माणको जिम्मा सुम्पिनुपर्ने उनको तर्क छ । नेता साहले संविधान निर्माणको प्रक्रियादेखि जारी हुने समयसम्म स्पष्ट व्यवस्थाका लागि संविधानसभाभित्र र बाहिर वकालत र पैरवी गरेपनि त्यसले सफलता पाउन सकेको थिएन । संविधान गलत छ भन्दै उनले संविधानमा हस्ताक्षर गरेका थिएनन् भने निरन्तर यस विषयमा आवाज उठाउदै आएका छन् ।


