गलत समाचार दिने जुनसुकै मिडियाप्रति काउन्सिल कडारूपमा प्रस्तुत हुन्छ : अध्यक्ष बस्नेत
प्रेस काउन्सिल नेपालका नवनियुक्त अध्यक्ष बालकृष्ण बस्नेतले पत्रकार आचारसंहिताको उल्लङ्घन गरी गलत ढङ्गबाट बनावटी समाचार बनाएर भ्रम छर्ने जुनसुकै मिडियाप्रति पनि कडारूपमा प्रस्तुत हुने चेतावनी दिएका छन् । काउन्सिलको कार्यालयमा आइतबार सपथग्रहण र पदबहाली गर्दै उनले राज्यका उच्च ओहोदामा भएका व्यक्तिलाई जथाभावी गालीगलौज गर्नेलाई पनि कारबाहीको दायरामा ल्याइने बताए ।
केही बेथितिका कारणले पत्रकार र गैरपत्रकार छुट्याउन गाह्रो भैरहेको तथा अनलाइनका नाममा खुलेका कतिपय पोर्टलहरूले विकृति फैलाएको भन्दै उहाँले अब अनुगमन कडाइका साथ गर्ने उल्लेख गर्नुभयो ।
उहाँले मुलुकमा बढ्दै गएको छाडा पत्रकारिताको अन्त्य गर्नु आफ्नो पहिलो प्राथमिकता हुने स्पष्ट पार्नुभयो । सञ्चारमाध्यम र सञ्चारकर्मीको सङ्ख्या बढ्नु खुशीको कुरा भएको सुनाउँदै उहाँले पत्रकारले जिम्मेवार र मर्यादित भएर काम गर्नु अहिलेको आवश्यकता भएको बताउनुभयो ।
“काउन्सिल राम्रो संस्था हो भन्ने आभास दिलाउने गरी काम गर्छु”, अध्यक्ष बस्नेतले भन्नुभयो, “आफूले काम नगरी अरुलाई दोष दिने प्रवृत्ति हावी छ, यसलाई कम गर्न मेरो प्रयास रहन्छ ।” पत्रकारितामा विकृति विसङ्गति बढ्दै गएकोप्रति चिन्ता व्यक्त गर्दै उहाँले त्यसलाई हटाउन जरुरी रहेको उल्लेख गर्नुभयो । केही गैरजिम्मेवार व्यक्तिका कारण समाजले सञ्चारकर्मीलाई हेर्ने दृष्टिकोण नै नकारात्मक बन्दै गएको उहाँको भनाइ थियो ।
वास्तविक सञ्चारमाध्यम र सञ्चारकर्मीको श्रीवृद्धिका लागि कदम चाल्ने आफ्नो सोच रहेको उनको भनाई थियो । लोककल्याणकारी विज्ञापन उपलब्ध गराउन तथा राज्यबाट बढीभन्दा बढी सुविधा दिलाउन काउन्सिलले पहल गर्ने पनि अध्यक्ष बस्नेतले बचन दिए । पछिल्लो समय सञ्चारकर्मीको ध्यान सधैँ नकारात्मक समाचारमा बढी ध्यान केन्द्रित हुने गरेकोप्रति चिन्ता व्यक्त गर्दै उनले भने, ‘आचारसंहितालाई लत्याउँदै समाजमा अफवाह फैलाउने कार्य बन्द गर्नुपर्छ, काउन्सिल यसमा गम्भीर छ, अटेर गर्नेलाई ऐन अनुसार दण्डको भागिदार बनाउनेछौ ।’
सञ्चारमाध्यमको प्रवद्र्धन आवश्यक भएको सुनाउँदै अध्यक्ष बस्नेतले वैज्ञानिक वर्गीकरण गरी बढीभन्दा बढी सेवा सुविधा दिलाउन आफूले सक्दो पहल गर्ने पनि प्रतिवद्धता जनाए । सरकारले काउन्सिलको महत्व बुझेर नै समयमै अध्यक्ष पदमा नियुक्ति गरेको प्रसङ्ग उल्लेख गर्दै उनले सरकार प्रेस स्वतन्त्रताको पक्षमा भएको पनि स्पष्ट पारे ।
कोभिड–१९ को महामारीका कारण सञ्चारकर्मीले अनेकन समस्या झेल्नु परिरहेको उल्लेख गर्दै उहाँले त्यसका लागि काउन्सिलले सहयोगी भूमिका निर्वाह गर्ने बताउनुभयो । कोभिड–१९ का कारण ज्यान गुमाउने सञ्चारकर्मीप्रति श्रद्धाञ्जलि व्यक्त गर्दै उहाँले कोरोनाबाट सङ्क्रमित भइ उपचार गराइरहेकाको श्वास्थ्यलाभको कामना गर्नुभयो । सङ्क्रमितको उपचारका लागि काउन्सिलले पहल गर्ने उहाँले र राहत तथा सङ्क्रमण खेपिरहेकाको हकमा उपचार जरुरी भएको जानकारी दिनुभयो ।
कार्यक्रममा काउन्सिलका सदस्यसचिव गोगनबहादुर हमालले युवा क्षमतालाई खेर जान नदिइ सिङ्गो टिम संस्थाको भलाइका लागि लाग्ने बताए । नेपाल पत्रकार महासंघका सचिव गोविन्द चौलागाईँले पत्रकारिताको क्षेत्रमा काम गर्ने निकाय काउन्सिल र महासङ्घबीच सहकार्य हुने बताए । काउन्सिलका सदस्य दीपक पाण्डेले लामो समयपछि काउन्सिलले अध्यक्ष पाएको भन्दै महासङ्घसँग भन्दा पनि काउन्सिलसँग पत्रकारको बढी अपेक्षा हुने गरेको बताए ।
दोलखाको भीमेश्वर नगरपालिका–५ घर भएका बस्नेतलाई मन्त्रिपरिषद्को बैठकले गत बिहीबार काउन्सिलको अध्यक्षमा नियुक्त गरेको हो । उनलाई शुक्रबार तत्कालीन सञ्चार तथा सूचना प्रविधिमन्त्री पार्वत गुरुङले मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्षको नियुक्तिपत्र हस्तान्तरण गरेका थिए । उनि प्रेस काउन्सिल ऐन, २०४८ को दफा ६ उपदफा १ ‘क’ बमोजिम ४ वर्षका लागि नियुक्त भएका हुन् ।
विसं २०५२ सालमा ‘छलफल’ साप्ताहिकबाट पत्रकारिता सुभारम्भ गरेका बस्नेतले २०५७ सालमा ‘कान्तिपुर दैनिक’मा आवद्ध भइ कान्तिपुरकै जिल्ला ब्युरो प्रमुख भइ काम गरेका थिए । पछिल्लो समय उनि नेपाल टेलिभिजनको सञ्चालक समितिको सदस्य तथा ‘खुला नेपाल’ अनलाइनको सल्लाहकार सम्पादकको भूमिकामा रहेका थिउ । अध्यक्ष बस्नेतले आमसञ्चार र राजनीति शास्त्रमा स्नातकोत्तर तथा कानूनमा स्नातक उत्तिर्ण गरेका छन् ।


