पार्टी बलियो बनाउन केन्द्रित हुन्छु : महासचिव पोखरेल
निवर्तमान उपप्रधानमन्त्री ईश्वर पोखरेलले आफू अब एमाले महासचिवका रुपमा पार्टीको काममा केन्द्रित हुने बताएका छन् । सरकारबाट बाहिरिएपछि आइतबार वक्तव्य जारी गर्दै पोखरेलले पार्टी कसरी सञ्चालन गर्ने भन्ने बारे आफूले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीसँग सल्लाह गरिसकेको र अध्यक्षका आशयलाई आफूले बुझ्ने प्रयत्न गर्दै आएको बताएका छन् ।
पोखरेलले तत्कालीन नेकपा एकताप्रति भनेका छन्, ‘म नेकपा (एमाले) को महाधिवेशनबाट निर्वाचित महासचिव, तर ‘महान र ऐतिहासिक’ भनिएको एमाले–माओवादी केन्द्रबीच सम्पन्न एकतापछि म महासचिवको जिम्मेवारीमा रहिन । तर २०७७ फागुन २३ गतेको सर्वोच्च अदालतको फैसलापछि एमाले–माओवादी पार्टीहरूको पूर्व स्थिति कायम रहन पुगेका कारण म पुनः एमालेको महासचिव रहन पुगेको छु । यो अवस्थामा मैले बुझेको छु, म पार्टीको महासचिव भएर पुनः भूमिका खेल्नुपर्ने आवश्यकता आइपरेको छ ।’
पोखरेलले अहिले सबैतिर पार्टी छ तर कहिँ पनि पार्टी छैन जस्तो अवस्था रहेको भन्दै यसलाई बदल्नुपर्ने चुनौती रहेको बताएका छन् । पोखरेलले पार्टीभित्रको एकतासमेत अहिले संकटमा रहेकाले यसलाई जोगाउन आफू लाग्ने बताएका छन् ।
उनले आर्थिक विकास र समृृद्धिको अभियानलाई कमजोर पार्ने, राष्ट्रिय स्वाभिमान र स्वतन्त्रताको विषयलाई कमजोर बनाउने, मुलुकलाई अराकता र अस्तव्यस्ततातर्फ धकेल्ने, सामाजिक सद्भावलाई विथोल्ने आदि दुस्प्रयत्नहरू भइरहेको पनि उनले उल्लेख गरेका छन् । ती प्रवृत्तिलाई प्रश्रय दिन भित्र/बाहिरबाट प्रयत्न भइरहेको कुरालाई बुझ्न सकिन्छ ।
यस्तो बेलामा सिंगो राष्ट्रले/आमनेपाली जनताले नेकपा (एमाले)प्रति– सुदृढ र जनआधारित नेकपा (एमाले)प्रति आशा गरेको कुरालाई बुझ्न सकिने उनको दाबा छ । पोखरेल २०७४ फागुन १४ गतेदेखि २०७७ असोज २८ उपप्रधान तथा रक्षामन्त्री थिए । तर, उनलाई त्यसपछि रक्षाको जिम्मेवारीबाट मुक्त गर्दै प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालयमा राखिएको थियो । उनलाई पार्टीको महाधिवेशन गर्ने प्रमुख जिम्मेवारीसहित मन्त्रिपरिषदबाट बाहिर राख्ने काम प्रधानमन्त्रीले गरेका छन् ।
‘३ वर्ष ३ महिना ७ दिन म सम्माननीय प्रधानमन्त्री केपी शर्मा ओलीको नेतृत्वमा सरकारमा रहे । यस अवधिलाई मैले मेरो राजनीतिक र सामाजिक जीवनको महत्वपूर्ण समयावधिका रूपमा लिएको छु,’ उनले आफ्नो पोस्टमा लेखेका छन्, ‘यस अवधिमा मलाई आफ्नो जिम्मेवारी पूरा गर्न ओलीले मार्गदर्शन गरिरहनु भयो । मन्त्री साथीहरूले निरन्तर सहकार्यका लागि सहृदयता प्रदर्शन गरिरहनु भयो ।


