नेपाल समूहलाई पेलेरै जाने ओलीको संकेत, मिल्ने सम्भावना कम



हाम्रो इकोनोमि

 

प्रधानमन्त्री तथा अध्यक्ष केपी शर्मा ओलीले पेलेरै जाने संकेत दिएपछि बरिष्ठ नेता माधव नेपाल समूह अहिले भैरहेका वार्ता र छलफलबाट मही मथेर घ्यु ननिस्कने निचोडमा पुगेको छ । प्रधानमन्त्री ओलीको विश्वासपात्र रहनुभएका अर्थमन्त्री विष्णु पौडेलले सर्वोच्च अदालतको आदेशानुसार ०७५ जेठ २ मा फर्किन नसकिने बटमलाइन सुनाएपछि एमाले विवाद समाधानमा गतिरोध देखिएको हो

माधव पक्षको दोस्रो तहका नेताहरुसँग भएका शृंखलाबद्ध छलफलमा ओली पक्ष टसको मस नभएपछि कुरा मिल्ने सम्भावना तत्कालका लागि टरेको सो पक्षका नेताहरुको भनाइ छ । २०७५ जेठ २ गते फर्किएर त्यहीँबाट मिलनबिन्दु खोज्नुपर्ने नेपाल पक्षको प्रस्ताव प्रधानमन्त्री ओलीले स्वीकार गर्न नसकिने प्रष्ट बताएको बताइन्छ ।

प्रधानमन्त्री ओलीले वार्ता र छलफलका नाममा आफूहरुलाई अल्मल्याउने नीति लिएकाले समस्या समाधान हुने भन्दा पनि थप बल्झिएको नेपाल समूहका एक प्रभावशाली नेताले बताए । छलफल र वार्ता भैरहेकाले नाम उल्लेख नगर्न आग्रह गर्दै उनले भने, ‘समग्र विवाद मिलाएर लैजाने भन्दा पनि २७ गतेका लागि हामीहरुलाई प्रयोग गर्ने र त्यसका लागि वार्ताका नाममा अल्मल्याउने रणनीतिमा उहाँहरु लागेको देखिन्छ । हामीले गरेको इमान्दार प्रयासलाई कमजोरी ठानेर यस्ता षड्यन्त्र गर्ने हो भने कसरी मिल्न सकिन्छ ?’

आज नेपाल समूहका केही नेताहरुसंगको छलफलमा अर्थमन्त्री पौडेलले ०७५ जेठ २ मा फर्कन र महाधिवेशनबाट निर्वाचित पुराना पदाधिकारी मान्न नसकिने ओली पक्षको बटमलाइन सुनाएपछि अहिलेसम्म भएका छलफलहरु अर्थहीन बनेको ती नेताको दाबी छ । कुनै पनि हालतमा २०७५ जेठ २ मा फर्कन अध्यक्ष ओली तयार नभएको पौडेलको निष्कर्ष आएपछि नेपालपक्ष ‘बालुवाटारमा बालुवा पेलेर तेल निस्कँदैन’ भन्ने निचोडमा पुगेको बताइन्छ ।

‘२७ गते विश्वासको मत लिएर भोलिपल्टै कारवाही गर्ने उनीहरुको तयारी छ । यो भनेको हामीहरुको राजनीति सक्ने चालवाजी हो । ओलीको षड्यन्त्रका विरुद्ध अब हामी कठोर निर्णय गरेर जान्छौं’,ती नेताले भने,’सम्भवत: भोलि पर्सिमै एउटा निर्णय आउँछ ।’ आफूहरुले इमान्दारीपूर्वक पार्टी मिलाउन प्रयत्न गरेपनि ओलीले त्यसैमाथि षड्यन्त्र गरेको नेपाल समूहको आरोप छ । ‘हाम्रो प्रयास आज पनि एमालेलाई एकतावद्ध गर्नुपर्छ भन्ने नै छ । तर, ओलीजीलाई एकतावद्ध एमाले चाहिएको होइन रहेछ । उहाँलाई त २७ गतेको खड्गो टार्न मात्र परेको रहेछ । हामी यस्ता षड्यन्त्रहरु एक-एक गर्दै सार्वजनिक गर्छौँ जनआस्थाले जनाएको छ ।

ओलीले सातौं महाधिवेशनदेखि नै मदन भण्डारी फाउन्डेसनको नाममा शपथ खुवाउँदै हिंडेको, पार्टीमा समानान्तर गतिविधि चलाएको र आफू अनुकूल नहुँदा २०५४ सालको निर्वाचनमा झापामा बागी उम्मेदवार उठाएको प्रसंग सुनाउँदै उनले ओली सच्चिने सम्भावना नरहेको बताए ।

प्रतिक्रिया दिनुहोस
कांग्रेस इतर समूहको शक्ति प्रदर्शन विराटनगरमा

    नेपाली कांग्रेसको संस्थापन इतर पक्षको भेला विराटनगरमा सुरू भएको छ ।...

असारका लागि वाणिज्य बैंकहरुको नयाँ ब्याजदर सार्वजनिक

  असार महिनाका लागि वाणिज्य बैंकहरुले नयाँ ब्याजदर सार्वजनिक गरेका छन् । जेठको...

एमालेको ‘६ ज’ केन्द्रित मिसन जागरण अभियान

    नेकपा एमालेले केन्द्रीय सदस्यहरुलाई पार्टीको गुमेको साख फर्काउदै आगामी स्थानीय र...

आशा, अहंकार र प्रश्न: माननीय अर्थमन्त्रीलाई एक नागरिकको पत्र

  निता थापा केही दिनदेखि म हाम्रा माननीय अर्थमन्त्री डा. स्वर्णिम वाग्लेका हरेक...