प्रधानमन्त्रीको घनश्याम र योगेशसँग गोप्य कुराकानी



हाम्रो इकोनोमि

 

 

फुटको संघारमा पुगेको पार्टी मिलाउने प्रयासस्वरुप बालुवाटार छिरेका माधव नेपाल समूहका दुई प्रभावशाली नेता मध्यराति रित्तो हात फर्किएका छन् । हिजो बेलुकी ८:३० बजे प्रधानमन्त्री निवास छिरेका दुई पूर्वमन्त्री घनश्याम भुसाल र योगेश भट्टराईलाई प्रधानमन्त्री ओलीले निराश बनाएर फर्काउनुभएको हो ।

शुरुमा केहीबेर कुराएर भेट गर्नुभएका ओलीले एक घण्टासम्म माधव नेपालविरुद्ध गुनासो सुनाएको र अन्त्यमा जेठ २ मा फर्किन नसक्ने प्रष्ट बताएपछि उनीहरु मध्यरातमा बालुवाटारबाट फर्किएका थिए । झन्डै साढे दुई घण्टाको छलफलमा ओली टसको मस नभएपछि हैरान भएर साढे एघार बजे बाहिरिएको नेता भट्टराईले बताउनुभयो । अध्यक्ष ओलीमा पार्टी मिलाउने तत्परता नदेखिएपछि छलफल टुंग्याएर बालुवाटारबाट बाहिरिएका थिए । छलफलमा अधिकांश समय ओलीले गुनासो सुनाएको र माधव नेपालको आलोचना गरेको नेता भट्टराईले बताउनुभयो ।

एमाले उपमहासचिव भुसालका अनुसार पार्टीलाई २०७५ जेठ २ को अवस्थाबाट संचालन गर्न र थप एकताबद्ध बनाएर लैजान राखिएको प्रस्ताव ओलीले अस्वीकार गरेपछि छलफल निरर्थक बनेको हो । पार्टीलाई एकताबद्ध बनाएर सरकारको स्थायित्व सुनिश्चित गराउन नेपाल समूहका तर्फबाट गरिएको प्रस्ताव ओलीले नमानेको उहाँको भनाइ छ ।

विगतमा भएका कमिकमजोरीलाई समीक्षा गर्दै आवश्यकताअनुसार आत्मालोचित हुने विश्वास दिलाउँदा पनि ओली सहमतिका लागि तयार नभएको नेताहरुले गुनासो गरेका छन् । छलफलका क्रममा ओलीले माधव नेपालले आफूलाई पटक-पटक पार्टीबाट हटाएको, प्रचण्डसँग मिलेर प्रधानमन्त्रीबाट हटाउन प्रयास गरेको जस्ता गुनासो गरेपछि भुसाल र भट्टराईले समीक्षा गर्न सकिने बताउनुभएको थियो । दुवैतिरबाट भएका गल्ती कमजोरीको समीक्षा गर्दै नयाँ ढंगले पार्टी निर्माणमा योगदान गर्न गरेको आग्रह ओलीले नमानेको भटराईले बताउनुभयो ।

ओलीले एकोहोरो अडान दोहोर्याएपछि अध्यक्ष र प्रधानमन्त्रीको हैसियतले पार्टी मिलाउने जिम्मा लिन आफूहरुले पुन: आग्रह गरेको भट्टराईले बताउनुभयो । ‘तपाइँ पार्टीको अध्यक्ष र मुलुकको प्रधानमन्त्री हो । तपाईंले नै समाधान दिनेगरी सोच्नुपर्यो, त्यो जिम्मेवारीबाट सोच्नुस् र जसरी पनि मिलाउनुस्’, बालुवाटारमा भनेको कुरा सुनाउँदै नेता भट्टराईले भन्नुभयो, ‘मिलाउन नसके विभाजनतर्फ जान्छ । कसको कारणले विभाजन भयो, नेतृत्वमा को थियो भन्दा तपाइँकै नाम आउँछ । इतिहासमा त्यस्तै लेखिन्छ । त्यसैले जेठ २ गतेलाई आधार बनाएर अरु के-के गर्ने बसेर सल्लाह गरौं ।’

ओलीले भने आफ्नै सरकारका विरुद्ध विपक्षीसँग गठबन्धन गरेको, पत्रकार महासंघमा घेरावन्दी गरेको जस्ता गुनासो दोहोर्याउनु भएको थियो । विगतका कमजोरी समीक्षा गरौँ न त भन्ने आफूहरुको प्रस्तावमा पनि ओली सहमत नभएको भट्टराईको गुनासो छ । बरु अब चुनावमै जाने हो, चिज धेरै अगाडि बढिसक्यो भन्दै ओलीले जेठ २ गते फर्किने कुरा मान्न नसकिने कुरा प्रष्ट राखेको उहाँले बताउनुभयो । ‘अरु कुरा मान्न सकिन्न, नि:शर्त आउनुस् । कमिटीमा बसेर छलफल गरौँ भन्ने उहाँको कुरा थियो’,भट्टराईले भन्नुभयो ।

पौने नौ बजेदेखि शुरु भएको कुराकानी सवा ११ बजे टुंगिएको थियो । पार्टी विभाजन रोक्न सबै पक्षसँग लगातार छलफलमा जुट्नुभएका नेता भट्टराईले अस्ति राष्ट्रपति विद्या भण्डारीसँग पनि छलफल गर्नुभएको थियो । राष्ट्रपति कार्यालय शीतल निवासमा झन्डै डेढ घण्टा कुराकानी गरेको उहाँले बताउनुभयो । उक्त कुराकानीमा पनि आफूले बालुवाटारमा भनेकै कुरा राखेको उहाँले बताउनुभयो  जनआस्थाले जनाएको छ ।

‘उहाँ (राष्ट्रपति) लाई पनि मैले त्यहि भनेँ । राष्ट्रपति,प्रधानमन्त्री सबै कम्युनिष्ट भएका बेला कम्युनिष्टकै सत्यानाश हुनु दुर्भाग्यपूर्ण हुन्छ । सबै मिलेर पार्टी जोगाउने गरी सोचौँ’, शीतलनिवासमा भएको कुराकानी सुनाउँदै नेता भट्टराईले भन्नुभयो । उक्त भेटघाटमा आफूले अध्यक्ष ओली र बरिष्ठ नेता माधव नेपाललाई बोलाएर कुराकानी थाल्न आग्रह गरेको उहाँको भनाइ छ ।

प्रतिक्रिया दिनुहोस
एमाले: विगतका गल्तीमा आममाफी, आलोचना गरे कारबाही

     नेकपा (एमाले) ले भर्खरै ललितपुरको च्यासलमा सम्पन्न आफ्नो तेस्रो केन्द्रीय कमिटी...

कांग्रेस महाधिवेशनमा सात हजार ११४ प्रतिनिधि, २०० बढी स्वयंसेवक परिचालन

    नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत निर्वाचनमा भाग लिने महाधिवेशन प्रतिनिधिको अन्तिम...

कांग्रेसले पदाधिकारीको संख्या बढायो, वरिष्ठ उपसभापति पद थप्ने

    नेपाली कांग्रेसले पदाधिकारीको संख्या बढाउने भएको छ । खुलामञ्चमा बसेको केन्द्रीय...

नेपाली कांग्रेस १५औँ महाधिवेशनको निर्वाचन कार्यतालिका सार्वजनिक

    नेपाली कांग्रेसको आइतबारदेखि सुरु भएको १५औँ राष्ट्रिय महाधिवेशनअन्तर्गत आजदेखि बन्दसत्र हुने...